BIZMANDU
www.bizmandu.com

बिचौलिया उपेन्द्र शाहीको आर्थिक कारोबार शंकास्पद, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

२०८३ असार १६

बिचौलिया उपेन्द्र शाहीको आर्थिक कारोबार शंकास्पद, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
बिचौलिया उपेन्द्र शाहीको आर्थिक कारोबार शंकास्पद, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौं। बहालवाला सचिवलाई धम्काएका कारण एक महिनाअघि पक्राउ परेका बिचौलिया उपेन्द्र शाहीमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको छ। कारोबार शंकास्पद देखिएपछि प्रहरीले शाहीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको हो।

Tata
GBIME
Nepal Life

शाहीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले गत जेठ ११ गते पक्राउ गरेको थियो। परिसरका एसपी पवन भट्टराईले सुरुमा आपराधिक लाभ लिन नहुने कसुरमा म्याद थपेर अनुसन्धान गरेकामा आर्थिक कारोबारमा पनि शंका लागेकाले सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान थालेको जानकारी दिए।

‘आर्थिक कारोबार शंकास्पद देखिएकाले हामीले शाहीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेका छौं,’ एसपी भट्टराईले भने।

प्रहरीले शाही र उनको परिवारका सदस्य लगायतको सम्पत्ति विवरण खोज्न थालेको छ। भट्टराईका अनुसार घरजग्गा, गाडी र बैंकिङ रकमको बारेमा सम्बन्धित कार्यालयलाई पत्राचार गरिएको छ।

‘अहिले विवरण माग गरिएको छ। त्यसलाई केलाएर हेरेपछि थप खुल्छ,’ भट्टराईले भने। सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि प्रहरीले आरोपीलाई अदालतको अनुमति लिएर ९० दिनसम्म हिरासतमा राख्न पाउँछ।

नजिकबाट चिन्नेहरुका अनुसार उपेन्द्रले नेताहरुसँगको नेक्सस प्रयोग गरेर मनग्गे आम्दानी गरेका छन्। केही वर्षयता उनको जीवनशैली अस्वाभाविक देखिएको छ।