काठमाडौं। ‘पब्लिक लिमिटेड’ कम्पनीको पैसाबाट दीपक भट्टले आफ्नो नाममा किनेको सेयर कारोबार रोक्का भएको छ। सम्पति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनमा सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले भट्टको सेयर कारोबार रोक्का गरेको हो।
भट्टले हिमालयन रि इन्स्योरेन्ससहित ५ कम्पनीबाट पैसा ल्याएर आफ्नो नाममा सेयर किनेका थिए। त्यसरी किनेको सेयर रोक्का गरिएको हो।
उच्च स्रोतका अनुसार, भट्टले नेपाल रि इन्स्योरेन्सको १९ लाख ७९ हजार कित्ता, गार्जियन माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता र नेपाल माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता सेयर किनेका थिए। दुई माइक्रो लाइफको संस्थापक सेयर हो। भट्टले नेपाल रिको भने साधारण सेयर किनेका थिए।
भट्टको नाममा रहेको यी तीनवटै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो।
भट्टले ती कम्पनीका सेयर खरिदका लागि हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड रुपैयाँ, हिमालयन इन्भेष्टमेन्ट बैंकरबाट २२ करोड, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड, एचएलआइ लार्ज क्याप फण्डबाट २५ करोड रुपैयाँ र हिमालयन क्यापसर्बबाट ३७ करोड रुपैयाँ प्रयोग गरेका थिए।
यो पैसा दीपक भट्ट र सुलभ अग्रवालको मूख्य लगानी रहेको हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णको ब्रोकर कम्पनी भृकुटी स्टक ब्रोकरिङमा ‘एड्भान्स’का रुपमा लगिएको थियो। ब्रोकर कम्पनी कर्णकी श्रीमतीको नाममा छ।
भृकुटी ब्रोकरले भट्टका नाममा सेयर खरिद गरिदिएको थियो। केही पैसा दुई जना व्यक्तिलाई चेक काटेर समेत दिएको थियो।
भृकुटीमा आएको ‘एड्भान्स’बाट ६२ करोड रुपैयाँ सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवालको खातामा पुगेको छ भने शुभीले त्यो पैसा सुलभको खातामा पठाएकी छन्।
सुलभले त्यो पैसा भट्टको खातामा पठाएको र यो रकम जगदम्बा स्टीलको कारोबार मिलाउन प्रयोग भएको छ। भृकुटीले अर्को २३ करोड रुपैयाँ ऋषिराज मोरलाई दिएको छ।
यस बारेमा सम्पति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा लैजाने अन्तिम तयारी गरेको छ। यो विषयसँग सम्बन्धित सबै पक्षलाई डाकेर विभागले बयान गराइसकेको छ।
विभागले आफ्नो अनुसन्धानलाई बलियो बनाउन नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएससी एण्ड क्लियरिङ लिमिटेडसँग कारोबारको विवरणसहितको प्रतिवेदन मागेको थियो।
सुरुवातमा यसमध्येका अधिकांश निकायका हाकिमले विभागलाई सहयोग गर्न आलटाल गरेका थिए। तर, मागेको प्रतिवेदन नदिए आफूलाई नै बयानका लागि डाक्ने विभागको चेतावनीपछि ती हाकिमले बल्ल सहयोग गरेका थिए। उनीहरुले पठाएको प्रतिवेदनमा पनि भट्टलगायतलाई कारबाही गर्नु पर्ने किटान गरिएको छ।
भृकुटी स्टक ब्रोकरमा पैसा पठाएर भट्टका नाममा सेयर किनिएको र सुलभकी श्रीमतीलाई चेक काटेर दिइएको सार्वजनिक भएपछि हिमालयन इन्भेष्टमेन्ट बैंकरका बाँकी सञ्चालकहरुले सुलभ र शुभी अग्रवाल तथा भट्टका नाममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा किटानी जाहेरी दिने भएका छन्।
विभागले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई भृकुटी स्टक ब्रोकरका बारेमा छानबिन गर्न लगाएको थियो। दुबैले छानबिनका क्रममा धेरै नै कैफियत फेला पारेका थिए। सेबोन र नेप्सेले भृकुटीलाई निलम्बन गर्नुका साथै सञ्चालकहरुलाई कारबाही गर्ने तयारी गरेका छन्।