BIZMANDU
www.bizmandu.com

महाराजगंज-चप्पल कारखानासम्मको ८ लेन सडक कालोपत्र गर्न सुरु

२०८२ फागुन ८

महाराजगंज-चप्पल कारखानासम्मको ८ लेन सडक कालोपत्र गर्न सुरु
महाराजगंज-चप्पल कारखानासम्मको ८ लेन सडक कालोपत्र गर्न सुरु

काठमाडौं । चक्रपथअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको ८ लेन सडक कालोपत्रे गर्ने काम सुरु भएको छ। चीनले चक्रपथको दोस्रो खण्ड विस्तारअन्तर्गत कलंकीदेखि वसुन्धारासम्म मात्रै निर्माण गरिदिने भएपछि सरकारले महाराजगंज-चप्पल कारखाना खण्ड आफ्नै खर्चमा ८ लेनमा विस्तार गरिरहेको हो।

Tata
GBIME
Nepal Life

करिब ७०० मिटर लम्बाइको यो खण्ड विस्तारमा अहिले नारायणगोपाल चोकदेखि कालोपत्रे गर्न सुरु गरिएको छ। साथै सर्भिस लेनमा पनि डिभाइडरहरु राखेर प्लान्ट टेसनको काम पनि भइरहेको छ। हाल सडकको दुवैतिर पर्खाल लगाउने, सब-बेस तयार गर्ने र ड्रेन निर्माण गर्ने काम लगभग सकिएर सबै स्थानमा कालोपत्रे गर्नको लागि बेस तयार पारिएको छ।

सडकको डिजाइन सडक डिभिजन कार्यालय काठमाडौंले तयार पारेको हो। निर्माणको ठेक्का २०८१ को फागुनमा अम्बुजा एसके काली जेभीले पाएर अहिले कालोपत्रे गर्ने काम सुरु गरको छ। यसको म्याद गत असारसम्म मात्रै थियो तर तोकिएको समयमा काम नसकिएपछि सडक डिभिजन काठमाडौंले पहिलो पटक गत पुससम्म म्याद थप गरेको थियो।

त्यस समयमा पनि काम नसकिएपछि यही फागुन १४ गतेसम्म मात्रै समय दिइएको छ। जुन नजिकिँदै छ।यस खण्डको ठेक्का २५ करोड रुपैयाँमा लगाइएको हो ।

यो सडक चीनले निर्माण गरिसकेको कोटेश्वर-कलंकी सडककै मापदण्डअनुसार बनिरहेको छ। बीचमा ४ लेन र दायाँ-बायाँ २/२ लेन सर्भिस ट्र्याक रहने गरी यो खण्ड ८ लेनको छ।

पहिलो चरणमा महाराजगंज-चप्पल कारखाना सडक विस्तारपछि दोस्रो चरणमा चप्पल कारखानादेखि धोबीखोलासम्मको सडक ८ लेनमा विस्तार गरिनेछ। महाराजगंज-धोबीखोलाको दूरी २.४ किलोमिटर छ।