काठमाडौं। सांग्रिला होटल्स ग्रुपका तीनवटा लक्जरी रिसोर्ट ६ महिनाभित्र संचालनमा आउने भएको छ। बेलायतको अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी) ले रिसोर्ट र होटल आगामी ६ महिनामा संचालनमा ल्याउने तयारी गरेको हो।
सांग्रिला होटल्स एण्ड रिसोर्ट्स ग्रुपअन्तर्गत इन्टरकन्टिनेन्टल पोखरा बेगनास लेक रिसोर्ट, होटल इण्डिगो पोखरा र इन्टरकन्टिनेन्टल चितवन मेघौली रिसोर्ट छन्। यी तीनवटै रिसोर्ट र होटल संचालनका लागि सांग्रिला होटल्स एण्ड रिसोर्ट्स ग्रुपले गत वर्ष आईएचजीसँग सम्झौता गरेको थियो।
ग्रुपका प्रबन्ध निर्देशक प्रवीण बहादुर पाण्डेले ३ वटै रिसोर्ट सन् २०२६ मै संचालनमा ल्याउनेगरी काम भइरहेको बताए। पाण्डेका अनुसार पोखरा र चितवनमा बनिरहेका रिसोर्ट र होटल ६ महिनाभित्र संचालनमा आउनेछ।
‘३ वटा रिसोर्ट र होटल इन्टरनेसनल रिनाउन्ड ब्रान्डको स्ट्यान्डर्डअनुसार निर्माण गरिएका छन्। सबैको स्ट्रक्चर र इन्टेरियरहरू पनि त्यही स्तरमा बनाइएका छन्। लगभग प्राय: निर्माणका काम सकिएको छ,’ पाण्डेले बिजमाण्डूसँग भने।
उनले रिसोर्टका लागि आवश्यक जनशक्ति लिइसकेको जानकारी दिँदै कर्मचारीलाई तालिम दिने काम भइरहेको बताए।
उनका अनुसार ‘ग्लोबल टच ग्लोबल रिच’ अवधारणालाई आत्मसाथ गर्दै इन्टरनेसनल चेनका रुपमा नेपालमा लक्जरी होटल र रिसोर्ट संचालनमा ल्याउन लागिएको हो। पोखरा र बेगनासलाई यो चेनले ग्लोबल म्यापमा चिनाउने पाण्डेको भनाइ छ।

‘काठमाडौं बाहिर हाइ स्ट्यान्डर्ड ब्रान्ड लगेका छौं। यसलाई अझै हामी अन्य सेक्टरमा पनि ल्याउने योजना बनाएर अगाडि बढेका छौं,’ उनले भने, ‘यस्तै, रेसिडेन्सियल अपार्टमेन्ट पनि बनाउने योजना छ।’
पोखराको होटल सांग्रिला भिलेजलाई ३० करोड लगानीमा १५९ कोठाको बनाइएको छ। होटलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिको चरणमा छ। यसको निर्माण कार्य भने लगभग अन्तिम चरणमा पुगेको छ।
सुरुमा यो होटलमा ८९ कोठा थियो। यसलाई स्तरोन्नति गर्दै १५९ कोठा बनाइएको हो। यो ४ तारे होटलका रुपमा संचालित छ। अहिले यसमा ७ वटा भवनहरू रहेकामा अब ७० कोठा थप गर्न दुई वटा ठूला भवनहरू निर्माण गरिएको छ।
कोरोनाको महामारीपछि बन्द भएको यस रिसोर्टलाई हाल मर्मतसम्भार र स्तरोन्नतिसहित विस्तार गर्दै संचालनमा ल्याउन लागिएको हो। २ नयाँ भवन निर्माण गरी सोको क्षमता ४० पाहुना कोठामा ७० कोठा गरी कुल १०१ पाहुना कोठामा १५९ कोठा क्षमतामा होटल संचालन हुनेछ।
होटलमा विभिन्न स्तरका पाहुना कोठाहरूसहित रेष्टुरेण्ट, बार, सेमिनार हल, ब्यांकेट हल, मिटिङ हल लगायतका सुविधा छन्। होटलका लागि २१ रोपनी १० आना ०.९ दाम कुल जग्गाको क्षेत्रफल छुट्याइएको छ।
जसमध्ये २ हजार ४५६.९९ वर्ग मिटर अर्थात कुल जग्गाको २२.३२ प्रतिशत मात्र होटलको भवनहरूले ओगटेको छ भने बाँकी क्षेत्रलाई हरियाली र खुला क्षेत्र बनाइएको छ।
यसका लागि थप लागत ३० करोड रुपैयाँभन्दा बढी लागेको छ।
मेघौलीमा संचालनमा ल्याउन लागिएको इन्टरकन्टिनेन्टल रिसोर्टले पनि अल डे डाइनिङ, लबी लाउन्ज बार, हेल्थ क्लब, स्पा, स्वीमिङ पुल लगायत सुविधा उपलब्ध गराउनेछ। रिसोर्ट ८० कोठा क्षमताको हो।
लाजिम्पाटस्थित सांग्रिला होटललाई इन्टरकन्टिनेन्टल काठमाडौंका रुपमा संचालनमा ल्याउन लागिएको हो। सांग्रिला होटल ५ वर्षदेखि बन्द छ। त्यहाँ अहिले पहिलेको संरचना भत्काएर नयाँ बनाउने काम भइरहेको छ। बिजनेस सेन्टरसहितको होटल २२४ कोठा क्षमताको हुनेछ।