काठमाडौं। गैरआवासीय नेपाली शेष घलेको लक्जरियस होटल शेराटनमा दुई तलामा प्रेसिडेन्सियल सुइट हुने भएको छ।
विदेशबाट आउने प्रधानमन्त्री, राष्ट्रपतिजस्ता उच्च पदस्थका सबै टोलीलाई राख्न मिल्नेगरी पूरै तला नै प्रिमियम सुइट तयार पार्न लागिएको हो।
‘दुई तलामा प्रेसिडेन्सियल सुइटको काम धमाधम भइरहेको छ। त्यो सुइट मुलुकमा रहेका फाइभ स्टार होटलभन्दा ठूलो र सुविधा सम्पन्न हुनेछ,’ शेराटन होटल निर्माणमा संलग्न एक प्राविधिकले बिजमाण्डूसँग भने, ‘१५ र १६ तलामा रुम तयार भइरहेको छ।’
नक्सालमा रहेको मेरियोटमा पनि प्रेसिडेन्सियल सुइट छ।
मेरियोटको प्रेसिडेन्सियल सुइट २ हजार स्क्वायर फिटको छ। ९०१ रुम नम्बर रहेको यो कोठाको प्रति दिन मूल्य दुई लाख रुपैयाँ राखिएको छ। उनका अनुसार त्यो सुइटमा भीभीआइपी र सुरक्षाकर्मीका लागि कोठा, मिटिङ रुमसहित सबै सुविधा हुनेछ।
‘देशभित्र रहेका फाइभ स्टारभन्दा ठूलो र कुनै कम्प्रमाइज नगरी लगानी गरिएको होटल हो। होटलमा ८ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ,’ ती प्राविधिकले भने, ‘हामीले तयार पारिरहेको प्रेसिडेन्सियल सुइट अहिले काठमाडौंमा रहेका फाइभस्टार होटलको भन्दा सुविधा सम्पन्न र स्पेशका हिसाबले पनि धेरै ठूलो हुनेछ।’
उनका अनुसार होटल निर्माणाधीन नै रहेकाले रुमको मूल्य अहिले तय भएको छैन। यो नेपालकै सबैभन्दा अग्लो १९ तले होटल हो। १२ वर्षअघि कान्तिपथमा ग्राउण्ड ब्रेक भएको होटलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
ती प्राविधिकका अनुसार १७० वटा कोठाको फिनिसिङको काम भइसकेको छ। ‘डिसेम्बरभित्रै संचालनमा ल्याउने गरी होटल निर्माणलाई तीब्रता दिइएको थियो। तर, केही काम बाँकी रहेकाले होटल संचालनमा ल्याउन अझै केही महिना लाग्छ,’ उनले भने, ‘होटल निर्माणमा सानासाना चिजलाई समेत हेरिएकाले समय धेरै लागेको हो।’
होटलमा घलेले जेडब्लु मेरियोट ल्याउँदैछन्। मेरियोट अन्तर्गत रहेका ७ वटा लक्जरी ब्राण्ड मध्ये जेडब्लू एक हो। यो ब्राण्ड नेपालकै लागि पहिलो अन्तर्राष्ट्रिय लक्जरी हुनेछ।
जेविलार्ड मेरियोटको अवधारणा अन्तर्गत रहेको यो लक्जरी ब्राण्ड विश्वभर ३५ मुलुकमा फैलिएको छ। जसअन्तर्गत १०० वटा भन्दा बढी होटल संचालित छन्।
अहिले नेपालमा प्रिमियममा मेरियोट काठमाडौं छ भने सेलेक्ट अन्तर्गत फेयरफिल्ड र अलोफ्ट छन्।
भूकम्प, नाकाबन्दी, कोभिड लगायत कारण समयमा काम नहुँदा होटलको लागत बढेको छ।
घलेले शेराटनका साथै भक्तपुरको घ्याम्पेडाँडामा ६ अर्ब रुपैयाँमा लक्जरियस रिसोर्ट निर्माण गर्न थालिसकेका छन्।
उनी समिट होटलका संस्थापक अमृतरत्न शाक्यसँग मिलेर सय रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको होटल तीन वर्षभित्र संचालनमा ल्याउने योजनामा छन्।
ती प्राविधिकका अनुसार घ्याम्पेडाँडामा होटल निर्माणलाई विस्तारै अघि बढाइएको छ। घलेले बालुवाटारमा कमर्सियल कम्प्लेक्ससहित होटल बनाउन जग्गा किनिसकेका छन्।