काठमाडौं। नेपाल विद्युत प्राधिकरणको इतिहासमै पहिलो पटक मन्त्रालयबाट अनौठो किसिमको हस्तक्षेप भएको छ।
ऊर्जामन्त्री दीपक खड्काले आफ्ना निजी सचिवसहितको पाँच सदस्यीय टोली परिचालन गरेर प्राधिकरणका कोठा कोठाको फाइलको तस्वीर खिच्न लगाएका छन्।
कर्मचारी सरुवादेखि ठेक्का र विद्युत खरिद बिक्री सम्झौता (पीपीए)आफूले भने अनुसार नभएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग चिढिएका मन्त्री खड्काले बुधबार मन्त्रालयका प्रशासन महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनीको नेतृत्वमा पाँच सदस्यीय टोली खटाएर कोठा कोठामा रहेका फाइलको तस्वीर खिच्न लगाएका हुन्।
मरासिनी नेतृत्वको टोली बिहान ११ बजे प्राधिकरणमा पुगेकामा साँझ ७ बजे निस्किएको थियो। त्यो बीचमा मन्त्रालयको टोलीमा रहेका सदस्यले पीपीए र ठूला ठेक्कासँग सम्बन्धित फाइलमा बढ्ता चासो राखेको स्रोतले बतायो।
‘मन्त्रीज्यूले पठाएको टोलीले दिनभर नै प्राधिकरणमा बितायो। टोलीका सदस्य खासगरी खरिद बिक्रीसँग सम्बन्धित सबैजसो कोठामा पुगेर विभिन्न कागजातको तस्वीर खिचे। यो काम कार्यालय समयभित्र नसकिएका कारण उनीहरु साँझ सात बजेतिर मात्र निस्किए,’ स्रोतले भन्यो, ‘मैले प्राधिकरणमा जागिर खाएको अढाइ दशक नाघ्यो। मन्त्रालयको टोलीले यसरी कोठा कोठा चहारेर एक एक फाइल निकाल्न लगाइ फोटो खिचेको यसअघि कहिल्यै थाहा थिएन।’
यसलाई प्राधिकरणका कर्मचारीले मन्त्रीको आतंकका रुपमा लिएका छन्। ‘प्राधिकरणमा मन्त्रीको आतंकले सीमा नाघ्यो। कहिले आफ्ना लागि रातारात कोठा तयार पार्न लगाएको छ। कहिले विनियमावली संशोधन गरी कर्मचारी सरुवाको अधिकार कार्यकारी निर्देशकबाट खोसेर आफुमा तानेको छ। अब हुँदा हुँदा ठेक्कापट्टा लगायत महत्वपूर्ण फाइलको तस्वीर नै खिचेर लगेपछि प्राधिकरणमाथि यहाँभन्दा ठूलो अविश्वास के हुन्छ?,’ प्राधिकरणका अर्का उच्च अधिकृतले भने, ‘मन्त्रालयको टोलीले जुन छापामार शैली देखायो, त्यसले त हामीले एकदम गलत काम गरिरहेको सन्देश पो गयो त।’
मन्त्री खड्काले पोहोर मंसिरमा आफ्ना लागि प्राधिकरणमा रातारात कोठा तयार पार्न लगाएका थिए। मन्त्री खड्काले आफ्ना निजी सचिवसहितलाई पठाएर गरेको हर्कतबाट प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अवाक् बनेका छन्।
उनी बुधबार दिनभर प्राधिकरणमै थिए। ‘एमडी सर त मन्त्रालयको टोलीको चर्तिकला देखेर अवाक् हुनुभयो। केही बोल्नै सक्नुभएन,’ मन्त्रालय स्रोतले भन्यो।
मन्त्रालयका सहसचिव मरासिनीले प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक कमल आचार्यलाई सोलार आयोजनाको पीपीएमा किन ढिलासुस्ती गरेको भनेर केरकार गरेका थिए।
‘अहिलेसम्म सोलार आयोजनाको पीपीए किन हुन सकेन। यत्रो लामो समय लगाउनुको कारण के हो? कसैले रोक्न भनेको हो कि अरु कारण छन्?,’ मरासिनीलाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘यो काम गराइले प्राधिकरणप्रति ऊर्जा उद्यमीहरुको विश्वास कसरी बढ्छ?’
प्राधिकरणले पोहोर कात्तिक अन्तिम साता तीन महिनाको समय दिएर ९६० मेगावाट सौर्य ऊर्जाको पीपीएका लागि आह्वान गरेकामा अहिलेसम्म जम्मा १८६ मेगावाटको मात्र पीपीए भएको छ। ती सबै १० मेगावाटभन्दा ठूला आयोजना हुन्।
७७४ मेगावाट आयोजनाको पीपीए हुन बाँकी छ। १० मेगावाटभन्दा साना आयोजना प्राधिकरणको सम्पर्कमै गएका छैनन् भने २३८ मेगावाटका आयोजनाले पनि आवश्यक कागजात बुझाएका छैनन्। मन्त्रालय स्रोतका अनुसार पीपीएमा ढिलासुस्तीको मुख्य कारण मन्त्री खड्का हुन्।
‘मन्त्रीज्यूले एकातिर आफैं पीपीएमा अवरोध पुर्याउनुभएको छ भने अर्कातिर प्राधिकरणले गर्न नसकेको देखाएर कार्यकारी निर्देशक र अरु जिम्मेवार कर्मचारीलाई ह्युमिलेट गर्ने प्रयास गर्नुभएको छ। उहाँको व्यवहार आफैं धामी आफै बोक्सी जस्तो भयो ,’ मन्त्रालय स्रोतले भन्यो, ‘आफू मातहतको संस्थाप्रतिको यो व्यवहारले कसरी काम हुन्छ?’
ऊर्जामन्त्री खड्कामा निजी सचिव रायले भने आफूहरुले प्राधिकरणको कामको अनुगमन गरेको बताए।
‘प्राधिकरण भनेको डेलिभरी दिने निकाय हो। त्यहाँ काम कारबाही के कसरी भइरहेको छ? कतिको ढिलासुस्ती भइरहेको छ? ढिलासुस्ती किन भइरहेको छ? भन्ने विषयमा अनुगमन गरेका हौं,’ रायले भने, ‘तालुक मन्त्रालयले जुनसुकै बेला पनि प्राधिकरणका अधिकारीलाई बोलाएर वा आफैं प्राधिकरणमा पुगेर सोधपुछ गर्न पाउँछ। हामीले मन्त्रीज्यूको निर्देशन अनुसार प्राधिकरणमा पुगेर विभिन्न कामका बारेमा जानकारी मागेका हौं।’
ऊर्जामन्त्री खड्काले आफूले भनेको नमानेको भन्दै वैशाख अन्तिम साता कार्यकारी निर्देशक हितेन्द्रदेवलाई मन्त्रालयमै बोलाएर दलाल भन्दै हप्कीदप्की गरेका थिए भने साउन तेस्रो साता राजीनामा नै मागेका थिए।