काठमाडौं। राहदानी विभागले ६४ लाख थान पासपोर्ट खरिदको ठेक्का ८ महिनामा टुंगो लगाएको छ।
विभागले पासपोर्ट खरिदका लागि गत मंसिर १३ गते टेण्डर आह्वान गरेकामा बल्ल ठेक्का सम्झौता गरेको हो। कम्पनीले पासपोर्ट खरिदलाई दुई प्याकेजमा बाँडेर दुई वटा जर्मनी कम्पनीसँग सम्झौता गरेको छ।
पहिलो प्याकेजमा म्युहलबौयर आइडी सर्भिस जीएमबीएचले १ अर्ब ५५ करोड रुपैयाँ र दोस्रो प्याकेजमा भेरिडोस जीएमबीएचले ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँको ठेक्का पाएका छन्।
ठेक्का सम्झौतामा म्युहलबौयर आइडी सर्भिसका सिनियर कन्ट्रयाक्ट हेड गेरहेड मौरर र विभागका महानिर्देशक तीर्थराज अर्यालले हस्ताक्षर गरेका छन्। यस्तै दोस्रो प्याकेजमा भेरिडोसको तर्फबाट फ्याबिओला र विभागका महानिर्देशक अर्यालले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार दुवै कम्पनीले ८ महिनामा पासपोर्ट र सिस्टम दुवै तयार पारेर विभागलाई उपलब्ध गराउनु पर्नेछ।
विभागले टेण्डर आह्वानमा गरेको गडबडी र फ्रान्सेली कम्पनी आइडिमियाले आफ्नो आर्थिक प्रस्ताव फेल भएपछि सार्वजनिक खरिद पुनरवलोकन समितिमा उजुरी दिएका कारण ठेक्का प्रक्रकिया लम्बिन पुगेको थियो।