BIZMANDU
www.bizmandu.com

नाजार्जुनका मेयर बस्नेतले तिर्नुपर्ने भो ३१.१८ करोड जरिवाना, ८ वर्ष तीन महिना कैद

२०८२ असार १६

नाजार्जुनका मेयर बस्नेतले तिर्नुपर्ने भो ३१.१८ करोड जरिवाना, ८ वर्ष तीन महिना कैद
नाजार्जुनका मेयर बस्नेतले तिर्नुपर्ने भो ३१.१८ करोड जरिवाना, ८ वर्ष तीन महिना कैद

काठमाडौं। विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई ३१ करोड १८ लाख जरिवाना र ८ वर्ष तीन महिना कैद सजाय सुनाएको छ। बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले सोमबार सजाय तोकेको हो।

Tata
GBIME

अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले मेयर बस्नेतले ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको मुद्दामा ८ वर्ष तीन महिना कैद सजाय सुनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेल तथा पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिविरुद्ध गत पुस १४ गते भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।

मेयर बस्नेतले ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गा कँडेलसँग ९ करोड २२ लाख रुपैयाँ घुस लिएर पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा पास गराएको अख्तियारको आरोप थियो।

यो मुद्दामा अदालतले मेयर बस्नेत, पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालि तथा यसका अध्यक्ष कँडेललाई २ करोड ३० लाख ६१ हजारका दरले जरिवानाको आदेश सुनाएको छ। ९ करोड २२ लाख रुपैयाँ बराबरको बिगो जफत हुनेछ। यो मुद्दामा कँडेललाई ८ वर्ष कैद तोकिएको छ।

यस्तै सम्पत्ति शुद्धीकरणतर्फ मेयर बस्नेतलाई २८ करोड ८८ लाख रुपैयाँ जरिवाना तथा तीन वर्ष तीन महिना १८ दिन कैद सजाय सुनाइएको छ। साथै अख्तियारको माग अनुसार उनको सम्पत्ति जफतको आदेश भएको छ।

साथै बस्नेतले क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा एक करोड पाँच लाख रुपैयाँ दाखिला गर्नुपर्नेछ। यो मुद्दामा पद्मा कोलोनी, पद्मा मर्चेन्ट र यसका अध्यक्ष कँडेलले ९ लाख २२ हजारका दरले राहत कोषमा जम्मा गर्नुपर्नेछ।

विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा मेयर बस्नेतलाई असार ६ गते दोषी ठहर गरेको थियो।