BIZMANDU
www.bizmandu.com

टेलिकम बिलिङ ठेक्कामा एमडी अर्यालविरुद्ध साढे ३३ करोड बिगोसहित मुद्दा, नेताको छोराको खातामा भेटिएको थियो ६ करोड

२०८२ जेठ २५

टेलिकम बिलिङ ठेक्कामा एमडी अर्यालविरुद्ध साढे ३३ करोड बिगोसहित मुद्दा, नेताको छोराको खातामा भेटिएको थियो ६ करोड
टेलिकम बिलिङ ठेक्कामा एमडी अर्यालविरुद्ध साढे ३३ करोड बिगोसहित मुद्दा, नेताको छोराको खातामा भेटिएको थियो ६ करोड

काठमाडौं। नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Tata
GBIME
Nepal Life

अख्तियारले ३३ करोड ४८ लाख १७ हजार रुपैयाँ बिगो कायम गरी टेलिकमकी प्रबन्ध निर्देशक अर्याल, यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेल लगायत १८ जनालाई प्रतिवादी बनाएर आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीका अनुसार १८ प्रतिवादीको सूचीमा कर्मचारीहरु छन्। संचालकहरुलाई प्रतिवादी बनाइएको छैन।

अख्तियारले बिलिङ प्रणाली मर्मतको ठेक्कामा आर्थिक चलखेल गरेको भन्दै मुद्दा दायर गरेको हो।

सुनिल प्रबन्ध निर्देशक बनेपछि २०८० पुसमा सवा ३ अर्ब रुपैयाँमा पाँच वर्षका लागि एसिया इन्फोलाई बिलिङ प्रणालीको ठेक्कामा निरन्तरता दिने निर्णय भएको थियो।

२०७९ पुस २४ गतेको संचालक समिति बैठकले एसिया इन्फो कम्पनीसँग चार वर्षका लागि मर्मत सम्भार सम्झौताको निर्णय गर्‍यो। त्यही संचालक समितिले आवश्यक परे थप एक वर्ष लम्ब्याउन सकिने प्रस्ताव पनि स्वीकृत गर्‍यो।

वार्षिक ६५ करोड रुपैयाँका दरले कम्पनीलाई ठेक्का दिइएको थियो। यही ‘फोर प्लस वान’ ठेक्कामा अख्तियारले भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै विशेष अदालतमा मुद्दा लगेको हो।

अख्तियारले पूरानै बिलिङ प्रणालीलाई निरन्तरता दिएर झण्डै ३० करोड रुपैयाँ भ्रष्टाचार भएको अनुमानमा अनुसन्धान अघि बढाएको थियो।

यो भ्रष्टाचारको छानविन अघि बढाउँदा एक जना नेताको छोराको खातामा ६ करोड रुपैयाँ ट्रान्सफर भएको समेत भेटेको थियो। स्रोतका अनुसार अहिले पनि शक्तिशाली रहेका ती नेताको छोराको सिंगापुरमा रहेको खातामा पैसा पुगेको अख्तियारले भेटेको छ।

थ्रीजीदेखि फोरजी, तामाको तारदेखि फाइबरबाटै इन्टरनेट सेवामा रुपान्तरण भइसक्दा पनि टेलिकमको सेवा अझै पनि दशक पुरानो बिलिङ प्रणालीले अवरुद्ध भइरहेको थियो। पुरानो बिलिङका कारण वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी चुहावट भएको समेत अध्ययनमा देखिएको छ।