BIZMANDU
www.bizmandu.com

बुद्ध एयरमा दाजुभाइको लडाइँ उत्कर्षमा, सेयर खरिद-बिक्रीको विकल्पमा छलफल

२०८२ बैशाख २२

बुद्ध एयरमा दाजुभाइको लडाइँ उत्कर्षमा, सेयर खरिद-बिक्रीको विकल्पमा छलफल
बुद्ध एयरमा दाजुभाइको लडाइँ उत्कर्षमा, सेयर खरिद-बिक्रीको विकल्पमा छलफल


काठमाडौं। डेढ वर्षअघि बुद्ध एयरले ऋणका लागि एउटा वाणिज्य बैंकमा प्रस्ताव पठायो। आन्तरिक उड्‍डयन उद्योगमा एक छत्र राज गरिरहेको बुद्धको प्रस्ताव बैंक संचालक समिति बैठकमा पुग्यो।

Tata
GBIME
NLIC

तर, बैठकमा अधिकांशले ऋण दिन नमिल्ने भन्दै तर्किन खोजे। आन्तरिक उड्‍डयन उद्योगमा एक छत्र राज गरिरहेको कम्पनीलाई ऋण दिन केही संचालकले असहमति जनाए।

यो असहमतिका बीच बैंकका प्रमुख कार्यकारी अधिकृतले देशकै राम्रो कम्पनी गुमाउन नहुने र कुनै समस्या भए आफूले समाधान गर्ने भन्दै ऋण दिने निर्णय गराए।

राम्रो व्यापार गरिरहेको र राम्रो नाफा पनि रहेको बुद्धलाई ऋण दिन आनकानी भएको यो पहिलो पटक हो। तीन दशकको इतिहास भएको बुद्धलाई ऋण लिनै किन अप्ठेरो अवस्था आयो?

बुद्धमा ४० प्रतिशत हिस्सेदारी रहेका शिवेन्द्रबहादुर बस्नेतले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका छन्। उनले राष्ट्र बैंक मात्रै होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सम्पत्ति शुद्धिकरणसम्म उजुरी हालेका छन्।

४० प्रतिशत सेयरधनीको हकअधिकार नदिएको र आफ्नो मनखुशीमा कम्पनी चलाएको भन्दै शिवेन्द्रले दिएको उजुरीका कारण बैंक ऋणमा झमेला आएको हो। दुई वर्षदेखिको झमेला अहिले उत्कर्षमा पुगेको छ।

बुबा सुरेन्द्रबहादुर बस्नेतको निधनपछि वीरेन्द्रबहादुर र शिवेन्द्रबीचको पारिवारिक लडाइँ उत्कर्षमा पुगेको हो। यो लडाइँ समाधानका लागि दाजुभाइमध्ये एउटाले सेयर बेचेर निस्किने विकल्पमा छलफल अघि बढ्ने देखिएको छ।

अध्यक्ष वीरेन्द्र बस्नेतले सेयर खरिद बिक्री बाहेकको विकल्प नरहेको बताए।

‘एउटा कम्पनीको सेयरधनीबीच मनमुटाब भयो। जहाज खरिद गर्दा धेरै पैसा कमाएको भन्दै अख्तियारमा उजुरी हालिएको छ,’ बस्नेतले बिजमाण्डूसँग भने, ‘अहिले जे भइरहेका छन्, ती सबै मनोरञ्जनका लागि मात्रै हो। जब थाक्छन् सेयर बिक्री गर्नु नै पर्छ।’

उनले संचालक समितिबाट भएको सर्वसम्मत सम्झौताभन्दा तलमाथि केही नहुने स्पष्ट पारे।

बस्नेतले दुई वर्षमा धेरै किचलो भएपनि सेवामा कुनै प्रभाव नपरेको बताउँदै यही अवधिमा १ अर्ब रुपैयाँ खर्चिएर दुई वटा जहाज ल्याएको समेत जिकिर गरे।

शिवेन्द्रले भने बुबाको निधनपछि आफूले हिसाबकिताब मागेको बताउँदै २०७४ सालदेखि साधारण सभा पनि नभएको दाबी गरेका थिए।

‘४० प्रतिशत सेयरधनीका हिसाबले मैले अधिकार मागेको हो,’ उनले दुई वर्षअघि पत्रकार सम्मेलन गर्दै भनेका थिए, ‘दाइको व्यक्तिगत सम्पत्ति जताततै छ। त्यो कमाइको स्रोत के हो?’

शिवेन्द्रलाई कार्यालय छिर्न पनि रोक

सुरेन्द्रको निधनसँगै शिवेन्द्रले आफ्नी छोरी देव्यानी बस्नेतलाई प्रबन्ध निर्देशक पदमा नियुक्त गराउन माग गरेका थिए। योसँगै उनले बुद्ध एयरमा हाल कार्यरत ४० प्रतिशत कर्मचारी निस्कासन गरेर ४० प्रतिशत समानान्तर व्यवस्थापनको माग गरे।

जसअन्तर्गत अपरेसन डिपार्टमेन्ट र इन्जिनियरिङ डिपार्टमेन्ट आफू मातहतमा हुनुपर्ने उनले दाबी गरेका थिए। यो माग पूरा नभए ४० प्रतिशत जहाज नै आफूलाई दिन माग गरेका थिए। हाल बुद्धमा १५ सय कर्मचारी कार्यरत छन्। शिवेन्द्रको यो माग प्रस्तावको जानकारी कर्मचारीसम्म पुगेपछि कर्मचारीले विरोध जनाएका थिए।

कर्मचारीको विरोध आएपछि बुद्धको संचालक समितिले शिवेन्द्रलाई बुद्ध एयरमा जान रोक लगाएको वीरेन्द्रले बताए।

शिवेन्द्रले सन् १९९४ मा युक्रेनबाट हेलिकोप्टर पाइलटको अध्ययन तथा तालिम सकेर स्वदेश फर्किएका थिए। शिवेन्द्रले छुट्टै माउन्टेन एयर संचालनमा ल्याएका थिए। शिवेन्द्रले फ्लाइङ स्कुल संचालन गर्ने भन्दै शिवानी एयर खोलेका थिए। तर, यी दुवै कम्पनी अहिले बन्द भइसकेका छन्।