काठमाडौं। आपसी मतभेद मिलाउन नसक्दा ५० वर्षको लिगेसी बोकेको सवारी साधनको सर्वोच्च संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल विभाजित भएको छ।
यो संस्था विभाजित हुँदा नेपालको सबैभन्दा ठूलो प्रदर्शनी नाडा अटो शो पनि संकटमा पर्ने देखिएको छ। दुई संस्थाबीचको लडाईंले राष्ट्रियस्तरमा राम्रो छाप छोडेको नाडा अटो शो पनि संकटमा पर्ने देखिएको हो।
नाडा र भर्खरै स्थापना भएको नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन(नाइमा)ले करिब १५ दिनको फरकमा अटो शो गर्ने घोषणा गरेका छन्। नाडाले भदौ ३ गतेदेखि अटो शो गर्ने घोषणा गरेकामा नाइमाले साउन २१ बाट गर्ने सूचना निकालेको छ।
स्रोतका अनुसार नाडामा स्पेयर पार्ट्स बिक्रेताहरुको संख्या बढी भएको र त्यसले नीतिगत तहमा दबाब दिन नसकिएको भन्दै नयाँ संस्था स्थापना गरिएको हो। नयाँ संस्था दर्तापछि नाडामा भूईंचालो गएको छ। कतिपयले नयाँ संस्था दर्ता गरेर पाँच दशकको लिगेसीलाई ध्वस्त बनाउन खोजेको भन्दै विरोध पनि गरिरहेका छन्।
तर, जसले अहिले विरोध गरिरहेका छन्, उनीहरु संस्था दर्ता प्रक्रियाका विषयमा जानकार थिए। स्रोतका अनुसार नाडाकै पूर्वअध्यक्षहरुको सक्रियतामा नयाँ संस्था दर्ता भएको हो।
‘सबैजसो पूर्वअध्यक्षहरुले नाडामा अनावश्यक भिड भयो। भिडका कारण नीतिगत तहबाट चाहे अनुसारको निर्णय गराउन सकिएन। त्यसैले नयाँ संस्था आवश्यक भइसक्यो। नाडाबाट अब काम गर्न सकिँदैन भन्नुभएको थियो। त्यसकै नतिजा नाइमा जन्मिएको हो,’ एक पूर्वअध्यक्षले भने।
स्रोतका अनुसार नाडामै रहँदा पनि जेन्युइन स्पेयर पार्ट्स आयातको समेत लबिङ गर्न नसक्ने परिस्थिति आएकोले नयाँ संस्था चाहिएको हो। ‘हामी कानुनीरुपमा गाडी आयात गर्छौं। तर, स्पेयर पार्ट्स अवैधरुपमा आयात गर्नेहरुकै नाडामा दबदबा भयो। उनीहरु नै नाडामा कब्जा जमाएर बसेका छन्,’ स्रोतले भन्यो, ‘त्यसैले हामीले बेग्लै संस्था खडा गरेका हौं।’
नाडा र नाइमाबीचको प्रतिस्पर्धाले के हुन्छ ?
नाडा र नाइमाबीच अहिले भइरहेको प्रतिस्पर्धाले सवारी साधन सम्बन्धी व्यापार गर्नेलाई नै प्रभावित बनाउँछ। तत्कालै नाडा अटो शो प्रभावित हुनेछ भने नीतिगत रुपमा पनि दुई संस्थाले दिने फरकफरक सुझावले समस्या ल्याउनेछ।
नाडा अध्यक्ष करण चौधरीले नयाँ संस्था खुले पनि नाडा अटो शोलाई विवादित हुन नदिन आफूले भरमग्दुर प्रयास गरिरहेको बताए। ‘एक साताअघि कार्यसमितिबाट सहमति गरेर अटो शोको स्टल बुकिङ खुला गरेको हो। उहाँहरुले पनि १५ दिन अगाडि गर्ने भन्नुभएको छ। मैले अर्को संस्थाको अध्यक्ष रितुसिंह वैद्यज्यूलाई विवादमा नपारिदिन आग्रह गरेको छु,’ उनले भने।
उनले इख लिएर दुईवटा अटो शो गर्न नहुने बताउँदै संस्थालाई बलियो बनाएर लैजान आफू तयार रहेको स्पस्ट पारे।
स्रोतका अनुसार नाइमाले नाडा अटो शोमा सहभागी नहुने निर्णय गरिसकेको छ। नाइमाले आफूले गर्ने अटो शोमा नाडाको भन्दा २५ प्रतिशत सस्तोमा स्टल दिने निर्णय गरेको छ। नाडामा महँगो शुल्क तिर्दै आएकाहरु नाइमाको अटो शोमा आकर्षित हुनसक्ने देखिएको छ।
नाडामा विवाद किन?
नाडाले गत वर्ष सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको थियो। निर्वाचनले तिक्तता बढ्ने भन्दै सर्वसम्मतरुपमा नेतृत्व चयन गरिएको थियो
अध्यक्षका प्रतिस्पर्धी करण र आकाश गोल्छाबीच गोलाप्रथा गराइएको थियो। गोलाप्रथाबाट करण अध्यक्ष चयन भए। आकाशलाई वरिष्ठ उपाध्यक्ष बनाइ वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत: अध्यक्ष बनाउने सहमति गरियो। नाडामा वरिष्ठ उपाध्यक्षको पद नै थिएन।
विधान संशोधनमा सुरुदेखि नै लफडा भयो। त्यो लफडाले अध्यक्ष करण र आकाशबीच मतभेद सुरु भयो। अहिलेसम्म पनि समस्या सुल्झिएको छैन।
आफ्ना सरोकारका विषयमा सरकारी निकायमा सुझाव पठाउँदा समेत दुई समूहबीच विवाद हुन थाल्यो। स्रोतका अनुसार लेटरप्याड समेत आफू अनुकूल प्रयोग भएको भन्दै आरोपप्रत्यारोप चल्यो।
यसले मात्रै नयाँ संस्था आउने बाटो बनेको होइन। नाडाप्रति रुष्ट केही व्यवसायी पहिलेदेखि नै नयाँ संस्था बनाउन लागि परेका थिए।
ससुराले जन्माए, बुहारीले टुक्र्याइन्
२०३२ सालमा नाडालाई जन्माउने एक प्रमुख व्यक्ति हुन् विजय गजानन्द वैद्य। गजानन्दका छोरा सुरजकीपत्नी हुन्, रितु सिंह। उनै रितुले नाइमाको नेतृत्व गरिरहेकी छन्।
नाडामा पछिल्ला केही वर्षयता वैद्य परिवार निस्क्रियजस्तै थियो। केही वर्ष अगाडिसम्म टोयोटाको व्यापार राम्रो थियो। टोयोटाको माइक्रो हाइसको एकछत्र राज थियो। सरकारका उच्चतहदेखि विकास साझेदारको पहिलो रोजाईमा टोयोटाको गाडी पर्ने गर्थ्यो।
तर, अहिले हाइसको विकल्पमा विद्युतीय माइक्रोको राज छ। टोयोटाको महँगा गाडीको बिक्री पनि ह्वात्तै घटेको छ।