काठमाडौं। वित्तीय अवस्था बिग्रिएर घाटा थेग्न नसकेका एकपछि अर्को कम्पनीले हकप्रद सेयर निष्कासनलाई विकल्पको रुपमा उपयोग गर्न थालेपछि नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कडाइ गर्ने तयारी गरेको छ।
सेबोनले हकप्रद सेयर निष्कासनमा लगाम लगाउने गरी कानून संशोधन गर्न लागेको छ। आम्दानी बढाएर ऋण तिर्न नसकेका कम्पनीले हकप्रद सेयर निष्कासनको बाटो रोज्न थालेपछि सेबोनले त्यसलाई रोक्ने गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्न लागेको हो।
सेबोनले नियमावली संबोधनका लागि बनाएको अध्ययन समितिले हकप्रद सेयर निष्कासनका लागि दुई वर्ष नाफामा गएको हुनुपर्ने तथा नेटवर्थको सीमा तोक्ने विषयमा छलफल गरिरहेको छ।
‘विद्यमान कानुनले हकप्रदमा कुनै लगाम लगाएको छैन। यही कानुनी लचकताको फाइदा उठाउँदै जस्ता पनि कम्पनीले आइपीओ निकालेलगत्तै हकप्रद सेयर निष्कासन गर्ने विकृति मौलायो। त्यसैले कडाइ गर्नुपर्ने अवस्था छ,’ सेबोनका उच्च अधिकृतले भने, ‘नियमावली संशोधनका लागि अध्ययन गरिरहेको समितिले यस विषयमा छलफल गरिरहेको छ। हकप्रद निष्कासन अनुमतिका लागि कम्पनी दुई वर्ष नाफामा गएको हुनुपर्ने र नेटवर्थको सीमा तोक्नुपर्ने कुरा उठेको छ।’
आइपीओ निष्कासनबाट जुटाएको रकमले घाटा पूर्ति गर्न नसकेपछि खराब वित्तीय अवस्थाका कम्पनीहरुले सूचीकृत भएको छोटो अवधिमै हकप्रद सेयर निष्कासन गरिरहेका छन्।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७६ ले संगठित संस्थाले साधारण सभाबाट निर्णय गराएर हकप्रद सेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ। यही प्रावधान अनुसार कम्पनीहरुले व्यवसाय विस्तारबाट नाफा आर्जन नसकेपछि हकप्रदबाट घाटा पूर्तिको नीति अपनाइरहेका हुन्।
लगानीकर्ताबाट पुँजी जुटाएर प्रतिफल दिने उद्देश्यले आइपीओ निष्कासन गरेका कतिपय कम्पनी निरन्तर घाटामा छन्। निरन्तर घाटामा रहेका तिनै कम्पनी ऋण तिर्न भन्दै हकप्रद सेयरबाट पैसा उठाउने रणनीतिमा छन्।
२०८० जेठमा आइपीओ निष्कासन गरेको सिटी होटलले निरन्तरको घाटा थेग्न नसकेपछि हकप्रद सेयर बिक्री गर्न लागेको छ। वित्तीय अवस्था नाजुक रहेको होटलले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरिसकेको छ।
एक वर्षअघि आइपीओ बिक्री गरेर नेप्सेमा सूचीकृत भएको कालिन्चोक दर्शनले ऋण तिर्नकै लागि चुक्ता पुँजी ६० करोड रुपैयाँ बराबर सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ। कम्पनी हकप्रद सेयर निष्कासनका लागि सेबोनको अनुमतिको पर्खाइमा छ।
पोहोर पुसमा आइपीओ निष्कासन गरेको अर्को कम्पनी नेपाल वेयरहाउजिङले चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँको सतप्रतिशत हकप्रद निष्कासन गर्दैछ। जबकि कम्पनीको दायित्व उसको आम्दानीले थेग्नै नसक्ने अवस्थामा छ।
लगानीका लागि आवश्यक पुँजी संकलनको उपकरणका रुपमा सार्वजनिक निष्कासनलाई लिइन्छ। त्यसैअनुसार कम्पनीबाट प्रतिफलको अपेक्षासहित लगानीकर्ताले लगानी गर्छन्। तर, आफ्नो खास व्यापार बढाउन नसक्ने भएपछि कम्पनीले हकप्रद निष्कासनमार्फत पुँजी संकलन गर्ने र बजारमा सेयर मूल्य समेत प्रभावित पार्ने विकृति बढ्दै गएको छ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्नु भनेको पुँजी बढ्नु हो। थप पुँजी लगानी भएपछि बिजनेस घट्दा प्रतिफलमा गिरावट आउँछ। पुँजी वृद्धि अनुसार मुनाफा बढाउन नसके लगानीकर्ताले प्रतिफल पाउँदैनन्। त्यही भएर हकप्रद सेयर खरिदमा संस्थापक लगानीकर्ताले नै चासो देखाइरहेका छैनन्।
पुँजी वृद्धिका लागि बैंकहरुलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको नेपाल राष्ट्र बैंकले अहिले बन्द गरेको छ।
तर, हाइड्रोपावर लगायत बलियो नियामक नभएका कम्पनीहरु व्यापार गर्न नसकेपछि बैंकको ऋण तिर्नका लागि आइपीओपछि हकप्रद सेयरको निष्कासनमा लागेका छन्।
अहिले डेढ दर्जन कम्पनी हकप्रद सेयर निष्कासन अनुमतिका लागि पाइपलाइनमा छन्। तीमध्ये आधा दर्जन कम्पनी नाजूक वित्तीय अवस्थाका हुन्।