BIZMANDU
www.bizmandu.com

ओलीको लोकप्रियताको ग्राफ दिनदिनै घट्दो, जहाँ जान्छन् त्यहीं विरोधको अर्थ के?

२०८१ पुष २

ओलीको लोकप्रियताको ग्राफ दिनदिनै घट्दो, जहाँ जान्छन् त्यहीं विरोधको अर्थ के?
ओलीको लोकप्रियताको ग्राफ दिनदिनै घट्दो, जहाँ जान्छन् त्यहीं विरोधको अर्थ के?


काठमाडौं। २०७२ मा भूकम्पले थिलथिलो बनेको नेपालमा भारतले नाकाबन्दी लगायो। नयाँ संविधान निर्माण प्रक्रिया चलिरहँदा भारतले आफूले भने अनुसार नमानेको भन्दै नाकाबन्दी लगाउँदा सरकारको नेतृत्वमा नेपाली कांग्रेस थियो।सहयात्री दल थियो नेकपा (एमाले)।

Tata
GBIME
NLIC

केपी ओलीले त्यतिबेला संविधान निर्माण रोक्न मानेनन्। संविधान जारी पछि उनी प्रधानमन्त्री बने। उनलाई माओवादीले साथ दियो।

‘म भारत सरकारलाई अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्न र दुई देशबीचको युगौंदेखिको सम्बन्धमा थप प्रतिकूलता उत्पन्न हुन नदिन नेपाली जनताको तर्फबाट माग गर्छु,’ प्रधानमन्त्री बनेपछि पहिलो सम्बोधनमै ओलीले भारतलाई भनेका थिए।

भारतले आफ्नो चाहनाविपरीत ओली प्रधानमन्त्री बनेको रुचाएन र नाकाबन्दीलाई निरन्तरता दियो।

संविधान जारी गर्दा भारतको हस्तक्षेप अस्वीकार गरेको र नाकाबन्दीसामु नझुकेको भनेर ओली त्यतिबेला भारत विरोधी ‘पोस्टरब्वाइ’ बन्न पुगे। उनले राष्ट्रवादी नेताको पहिचान बनाए।

नाकामा पाल टांगेर विरोध गरिँदै। फाइल फोटो

माघको अन्तिमतिर नाकाबन्दी हट्यो। भारत १३५ दिन लामो नाकाबन्दी हटाउन बाध्य भएको श्रेय ओलीले नै लिए। २०७४ को निर्वाचनमा एमाले १२१ सिटसहित सबैभन्दा ठूलो दल बन्यो। त्यसो त उनले माओवादीसँग गठबन्धन गरेका थिए। एमाले र माओवादी मिल्दा कांग्रेस ६३ सिटमा खुम्चियो।

ओली र भारतको सम्बन्ध अहिले पनि त्यति ‘राम्रो’ छैन। तर नाकाबन्दीका बेला र २०७४ को निर्वाचनमा ओलीप्रति जुन क्रेज थियो, त्यो अहिले छैन। अहिले ओलीको ‘डाउनफल’ भइरहेको छ।

‌‌+++

अहिले दृश्य फेरिएको छ। जहाँ ओली त्यहीँ उनको विरोध हुन थालेको छ। उनी जहाँ पुग्छन् त्यहाँको सुरक्षा व्यवस्था निकै कडा बनाइन्छ आजकाल, त्यही विरोधलाई सकेसम्म रोक्न। त्यस्तो कुनै ठाउँ छैन जहाँ ओलीले विरोधको सामना गर्नुपरेको नहोस्। सामाजिक संजालमा त उनीविरुद्ध अभियान नै चल्न थालेको छ। 

भदौ १० गते गौरा पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि त्यहीँ उपस्थित थिए। ओली मौन रहे, देउवाले प्रतिक्रिया जनाए – ‘कार्यक्रम बिथोल्ने, लाज छैन।’ 

काठमाडौं महानगरका मेयर बालेन शाहसँगको घोचपेचलाई लिएर बालेन समर्थकले भदौमा ओलीको फेसबुक पेज ‘अनफलो’ अभियान नै चलाए।

असोज ३ गते संविधान दिवसका अवसरमा दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा पनि बालेन समर्थक र एमालेका कार्यकर्ताबीच झडप भयो। ‘ट्रयाकसुट र क्याप’ लगाएर कन्सर्टमा पुगेका ओलीले बोल्न थालेपछि ‘बालेन..बालेन…’भनेर शाहका समर्थकले हुटिङ गरे। 

नेपालभित्र मात्रै होइन, ओलीले अमेरिकामा समेत विरोध सामना गर्नुपर्‍यो। कतिसम्म भने अमेरिका भ्रमणमा रहेका बेला असोज ७ गते ओलीको पूर्वनिर्धारित कार्यक्रम नै स्थगित गर्नुपर्‍यो।

अमेरिकामै रहेका बेला कोलम्बिया विश्वविद्यालयले गरेको कार्यक्रममा ओलीको प्रस्तुतिलाई लिएर पनि सामाजिक सञ्जालमा आलोचना भयो।

असोज ११ देखि १३ सम्म परेको अविरल वर्षाले आएको बाढीपहिरोमा ओली नेतृत्वको सरकार मूकदर्शक बनेको भन्दै चर्को आलोचना भयो। ओली त्यतिखेर अमेरिका भ्रमणमा थिए। उनले विपद्का बेला भ्रमण छोट्याउन आवश्यक ठानेनन्। स्वेदश फर्किएपछि त्रिभुवन विमानस्थलमा ‘भैंसी दुहेर दुध लिन नगएको’ गैरजिम्मेवार अभिव्यक्ति दिएर आफैंलाई विवादमा पारे।

पढ्नुस : कांग्रेस-एमालेको ‘ट्युनिङ’ नमिल्दा बल्झिएको विपद्, ओलीले न कुनै कदम चाल्न दिए न आफू नेपाल आए

असोज २५ गते व्यवसायी मीनबहादुर गुरुङसँग दानमा जग्गा लिएर पार्टी कार्यालय भवन शिलान्यास गरेपछि एमालेभित्रै असन्तुष्टि चुलियो। स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले सार्वजनिक रुपमै प्रश्न उठाए।

तर ओलीले चित्तबुझ्दो जवाफ दिनुको साटो आफूमाथि प्रश्न गरेको भन्दै पाण्डे र तिमिल्सिनालाई स्पष्टीकरणको डण्डा बर्साए जसले सामाजिक सञ्जालमा उनकै आलोचना बढ्यो।

कात्तिक १४ गते ओली साफ महिला फुटबलको फाइनल खेल हेर्न रंगशाला पुगेका थिए। त्यहाँ पनि उनीविरुद्ध नाराबाजी चल्यो।

आफूविरुद्ध सामाजिक सञ्जालमा प्रचार भएपछि ओलीले अराजकताको विरोध गर्ने नाममा मंसिर ७ गते दरबारमार्गमा खबरदारी सभा राखे। सरकारको नेतृत्वमा रहेर ‘पञ्चर्‍याली’को झल्को दिने गतिविधि गरेको भनेर विश्लेषकहरुले आलोचना गरिरहँदा ओलीले बेवास्ता गरे। तर खबरदारी सभा उनले सोचे अनुसारको हुन सकेन। एमालेकै कार्यकर्ताको संख्या पातलो भयो।

मंसिर २३ गते उनी गृह जिल्ला झापामा थिए। उनी त्यहाँ आवश्यकता भन्दा पनि आफ्नो लहडले डेढ अर्ब खर्च गरेर बनाइएको दमक भ्यू टावर उद्घाटन गर्न पुगेका थिए। तर, कडा सुरक्षाबीच उनीविरुद्ध कालो झण्डा देखाइयो।

मंसिर २७ गते ओली कूलपतिका नाताले त्रिभुवन विश्वविद्यालयको सभामा सहभागी हुन कीर्तिपुर पुगे। सभामा केही सदस्यले ओलीसँग आक्रोशितरुपमा सवालजवाफ गरे। सभाबाट बाहिरिने क्रममा विश्वविद्यालयका कर्मचारीको नाराबाजी झेल्नुपर्‍यो।

काठमाडौं महानगरले मंसिर २९ गते टुँडिखेलमा गरेको सांगीतिक कार्यक्रममा एमालेविरुद्ध आक्रोश व्यक्त भयो। 

ओरालो लाग्दै ओली

२०७१ साउन मा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षमा पराजित गरेपछि ओलीको शक्तिमा आएका ओली त्यसयता तीन पटक प्रधानमन्त्री भए। पार्टी अध्यक्षमा निरन्तर छन्। तर दुई तिहाइ नजिकको बहुमत हुँदा उनले काम गरेर देखाउन सकेनन्। पार्टीमा आफूविरुद्ध बोल्न वर्जित गरेका छन्।

महत्वपूर्ण अवसरमा काम गर्न चुकेको, परिणाम देखिने कामभन्दा गफ मात्र लगाउने, फरक मत राख्नेप्रति निकै असहिष्णु हुने लगायत कारण ओलीको लोकप्रियताको ग्राफ पछिल्लो समय दिनदिनै ओरालो लागिरहेको सार्वजनिक स्थलदेखि सामाजिक सञ्जालमा भइरहेको विरोधले स्पष्ट पार्छ।

‘उहाँका समर्थक त्यतिबेला सामाजिक सञ्जालदेखि विभिन्न मञ्चहरुमा देखिनुभयो। उहाँको लोकप्रियता पनि ह्वात्त बढेको जस्तो देखियो। तर अहिले समर्थक साइलेन्ट भइदिए। अनि विरोधी बढ्दै गए। जे-जे गर्छु भनेर आश्वासन दिइएको थियो, त्यो भएन। त्यही भएर निराशा बढ्यो। निराशा सधैं सभ्यरुपमा व्यक्त हुन्छ भन्ने हुँदैन, कहिले त्यसले उग्र रुप लिने गर्छ,’ समाजशास्त्री डा. मीना उप्रेतीले भनिन्, ‘ओलीका हकमा अहिले भने अनुसार काम नगरेको र सत्ताका लागि मात्र लागेको भनेर जनस्तरमै विरोध बढेको हो।’

अहिले जसरी ओली सहभागी हुने कार्यक्रममा ‘बालेन..बालेन..’ भन्दै नाराबाजी हुन्छ, त्यसरी नै कुनैबेला ओलीको पक्षमा समर्थकले हुटिङ गर्ने गरेका थिए। एमाले कार्यकर्ताले उनको ‘स्ट्याचु’ कार्यक्रम स्थलमा राख्ने गरेका थिए। सामाजिक सञ्जालमा ओलीको विरोध गर्नेविरुद्ध एमाले कार्यकर्ता जाइलाग्ने गरेका थिए। पछिल्लो समय एमालेकै कार्यकर्ताले ओलीको बचाउ गर्न अल्छी मान्न थालेका छन्।

एकातिर ओलीको खस्किँदो क्रेज र अर्कातिर सहरी जनमत घट्दै गएको एमालेले नै विश्लेषण गर्न थालेको छ। मंसिर १६ को स्थानीय तह उपनिर्वाचनमा काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा एमाले उम्मेदवार सुरेन्द्र मानन्धर तेस्रो भए। काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष रास्वपाले जित्यो।

मंसिर २५ गतेको एमालेको सचिवालय बैठकले पार्टीको सहरी जनमत घट्न थालेको निचोड निकाल्यो। लगत्तै मंसिर २९ र ३० गते देशभरबाट ३ सयभन्दा बढी नेता कार्यकर्तालाई काठमाडौं बोलाएर प्रशिक्षण दियो।

एमाले र स्वयं आफ्नो लोकप्रियता खस्किँदै गएको विश्लेषण गरेर ओली कैयौं निर्णय गर्न पछि सरेको देखिन्छ। ओलीले प्रधानमन्त्री बनेपछि कतिपय अवस्थामा आफ्नो शैली बदलेका छन्।

सम्बन्धित समाचार : अघिल्ला कार्यकालमा आक्रामक ओली यसपटक नरम, किन बदले शैली?

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने असफल प्रयासले पनि ओलीको कद थप घट्न पुग्यो। कुलमानविरुद्धका अभिव्यक्ति र हटाउने प्रयास आफ्ना लागि ‘ब्याकफायर’ भएपछि ओली पछि हटे।

राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले पनि ओलीको लोकप्रियता खिइँदै गएको बताए।

‘क्रेजको पनि लाइफ हुन्छ। त्यो पर्फमेन्ससँगै जोडिन्छ। कुरा के के गर्‍यो? भन्ने होइन काम के के गर्‍यो भन्ने हो। गरेको कुरा कतिको पूरा गर्‍यो भन्ने हेरिन्छ। अंकगणित पुग्यो भने सरकार चलाउन राजनीतिकै बैधता पुग्ने हो, तर त्यसलाई स्थापित गर्ने पर्फमेन्सले नै हो। कार्यसम्पादनमा जब कुनै प्रधानमन्त्री या सरकार चुक्छ उसको वैधतामा ह्रास आउँछ। केही गर्ला भनेर नेताप्रति क्रेज हुन्छ, तर जब गर्न सक्दैन/गर्दैन तब क्रेजको लाइफ सकिन्छ। अहिले ओलीको लोकप्रियता, कार्यसम्पादन क्षमता खिइँदै गएको छ,’ उनले भने।

ओली पार्टीको आन्तरिक राजनीतिमै पनि दबाबमा छन्। पछिल्लो समय ओली इतर नेताहरु गुनासो लिएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन जाने क्रम बढ्दो छ। भण्डारीलाई नै पार्टी नेतृत्वमा ल्याउन एमालेका केही नेताहरु सक्रिय छन्।

त्यो बुझेरै ओलीले ‘अबको अध्यक्ष पनि मै हो, कोही कतै नदगुर्नु’ भन्नुपरेको छ।

समाजशास्त्री राम गुरुङ नागरिकहरु राजनीतिक दलबाट अलग रहेर स्वतन्त्र बन्ने क्रम बढ्न थालेका कारण नेताप्रति पहिलेजस्तो मोह नदेखिएको र विरोध बढेको बताउँछन्।

‘मान्छेहरु पहिलाभन्दा इन्डिपेन्डेन्ट हुने क्रम बढेको छ। सहरी क्षेत्रमा त झन धेरै छ। अर्को कारण भनेको केही न केही असन्तुष्टि बढेको छ। त्यसमा विपक्षीले पनि खेल्ने कोसिस गर्छन्,’ गुरुङले भने।

आफ्ना सभापति रवि लामिछाने पक्राउ गरिएकोमा आक्रोशित देखिएको रास्वपा र प्रमुख प्रतिपक्षी दल माओवादीले सरकारको विरोध गर्दै आएका छन्। विपक्षी दलले विरोध गर्नु सामान्य हो।

एमाले र कांग्रेस मिलेर बनेको सरकारलाई बलियो भनिएकामा कमजोर कार्यसम्पादनका कारण असन्तुष्टि बढेको प्रा. पोखरेलको बुझाइ छ।

‘जनतामा असन्तोष छ, छटपटी छ। सरकारले जुन दिशा लिनुपर्ने हो त्यो लिएको देखिँदैन। त्यसकारण जनताको आक्रोश प्रधानमन्त्रीविरुद्ध अभिव्यक्त भएको हो,’ उनले भने, ‘काम नगरी बल गरेरै बसिराख्यो भने सरकारविरुद्ध सडक आन्दोलन हुन सक्ने स्थिति आउँछ। गठबन्धनको पार्टनरले पनि सोच्नुपर्ने स्थिति आउन सक्छ।’