काठमाडौं। मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम ठगी प्रकरणमा २६ जनाविरुद्ध मुद्दा दायर भएको छ।
सहकारीको २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ हिनामिना गरिएको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको हो।
सहकारी ठगी प्रकरणमा लेखा समितिका सभापति ऋषिकेश पोखरेल पनि मुछिएकामा उनलाई प्रतिवादी बनाइएको छैन। उनकी पत्नी अञ्जला कोइरलालाई भने प्रतिवादी बनाइएको छ। उनी सहकारीकी पूर्वसञ्चालक हुन्। उनलाई प्रहरीले पक्राउ नगरेका कारण फरार प्रतिवादी बनाइएको हो।
बचतकर्ताको बचत र ऋणीले ऋण तिरेपछि पनि धितो फिर्ता गर्न नसकेपछि यो सहकारी क्रमशः संकटग्रस्त हुँदै गयो। ९ महिनादेखि सहकारी बन्द अवस्थामा छ।
सहकारीमा लामो समय पोखरेलकी पत्नी अञ्जला स्थापनाकालदेखि २०७५ सम्म सञ्चालक थिइन्। सञ्चालक समितिमा रहुन्जेल सहकारीको चेकमा उनको मात्र हस्ताक्षर चल्थ्यो।
सहकारीका सञ्चालक समितिका एक पूर्वसदस्यका अनुसार पोखरेलको अग्रसरतामा २०६८ मा कर्सिया बजारमा उमागौरी कृषि सहकारी संस्था खुलेको थियो। स्थापनाकालदेखि हालसम्मका अध्यक्ष पोखरेलकै कार्यकर्ता हुन्।
सहकारीका हालका सञ्चालक रोशन राजवंशीबाहेक अधिकांश प्रतिवादी फरार रहेको अभियोगपत्रमा उल्लेख छ।