काठमाडौं। नेपाल राष्ट्र बैंकले २०७९ कात्तिकमा चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा ल्याउँदा व्यवसायीहरु सडकमा उत्रिए। मार्गदर्शन कार्यान्वयन स्थगन गर्नूपर्ने व्यवसायीको माग राष्ट्र बैंकले सुनेन, आफ्नो नीति कार्यान्वयनबाट पछि हटेन।
मार्गदर्शन स्थगनका लागि राष्ट्र बैंक तयार नभएपछि व्यवसायीहरुले उच्च राजनीतिक नेतृत्व र अर्थमन्त्रीमार्फत दबाब दिने नीति लिए।
त्यतिखेर अर्थ मन्त्रालयको नेतृत्वमा थिए- माओवादी नेता जनार्दन शर्मा। शर्माले व्यवसायीको माग अनुसार दबाब दिएपनि गभर्नर महाप्रसाद अधिकारी टसमस भएनन्।
बरु अधिकारीले शर्मातिर प्रश्न तेर्स्याए- हामीले खोजेको वित्तीय स्थायित्व कि अराजकता?
शर्मासँग अधिकारीको सम्बन्ध त्यसअघि नै बिग्रेको थियो। अधिकारीलाई गभर्नरबाट हटाउन शर्माले असफल प्रयास गरे। जसले अर्थमन्त्री र गभर्नरको बिग्रिएको सम्बन्ध सतहमा मात्र आएन्, अर्थतन्त्रमै रिफ्लेक्सन भयो।
त्यसको दुई महिनापछि शर्मा अर्थ मन्त्रालयको नेतृत्वबाट बाहिरिए। प्रतिनिधि सभाको निर्वाचनपछि माओवादी र एमालेले गरेको सत्ता सझेदारीमा २०७९ पुस ११ गते विष्णु पौडेल अर्थ मन्त्रालयको नेतृत्वमा आए।
शर्मा अर्थमन्त्री हुँदा उल्टै प्रतिप्रश्न गरी व्यवसायीको व्यापक विरोधलाई बेवास्ता गरेका गभर्नर अधिकारी पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएपछि एकाएक मार्गदर्शन संशोधनका लागि तयार भए।
राष्ट्र बैंक आफैले केही समयअघि आफैं बैंकिङ क्षेत्रमा ‘डिपार्चर’ भनेको मार्गदर्शन पुस २० मा संशोधन गर्यो। पौडेल र अधिकारीको सम्बन्धलाई नजिकबाट हेरेका लगानीकर्ता र निजी क्षेत्रका लागि यो दृश्य नौलो थिएन।
२०७९ फागुनमा सरकारबाट बाहिरिएका पौडेल साढे १६ महिनापछि फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्किएका छन्।
उनको इन्ट्रीलाई यसपटक पनि सेयर बजारले स्वागत गरेको छ। पौडेलले अर्थ मन्त्रालयको नेतृत्व गर्ने खबर बाहिरिए लगत्तै बजारमा हरियाली छाएको छ। नेप्से असार १७ यता निरन्तर ४३२ अंकले बढेर २४८५.९४ विन्दुमा पुगेको छ।
कारोबार रकम तीन वर्षअघिकै अवस्थामा छ। बजारले २०७८ मा बनाएको रेकर्ड तोड्ने लय समातेको देखिन्छ। नेप्से आइतबार २०७८ चैत २१ पछिकै उच्च विन्दुमा पुगेको छ भने १५ अर्ब २३ करोडको कारोबार भएको छ। कारोबार रकमको हिसाबले यो २०७८ भदौपछिकै सर्वाधिक हो।
पढ्नुहोस यो समाचार : बुलिस ट्रेन्डले नेप्सेमा तीन वर्ष अघिको झल्को, बजारमा कहाँबाट आइरहेको छ पैसा?
अर्थतन्त्र नै तीन वर्षदेखि सुस्त रहेको अवस्थामा पौडेलको आगमनले सेयर बजारमा एकाएक कसरी हरियाली छायो ? बजारका विश्लेषक र लगानीकर्ताहरु पौडेललाई गभर्नर अधिकारीसँग जोडेर हेर्नुपर्ने तर्क गर्छन्। पौडेलले नै आफ्नो र अधिकारीको ‘लाइन’ एकै भएकाले ट्युनिङ मिल्ने बताइसकेका छन्।
गभर्नर एमाले निकट हुन। उनलाई २०७६ चैतमा केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको हो। त्यही भएर अर्थ मन्त्रालयको नेतृत्वमा एमाले आउँदा अधिकारीले सहयोग गर्ने गरेको उनले लिएका नीतिहरुले देखाउँछ।
‘पौडेल अर्थमन्त्रीका रुपमा देखेर बजारले जुन उत्साह देखाउँछ, त्यसको पछाडिको कारण राष्ट्र बैंकको नेतृत्व हो,’ सेयर बजारका एक विज्ञले भने, ‘पौडेलेले भनेको गभर्नरले खुरुखुरु मान्छन्। बजारमा लगाएको नीतिगत क्याप यसपालि हट्छ भन्ने बुझाइ लगानीकर्तामा छ।’
कोभिडमा सेयर बजार र घरजग्गामा उच्च कर्जा प्रवाह भएपछि राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएको थियो। लगानीकर्ता जोखिम भार वृद्धि र सेयर धितो कर्जामा लगाएको क्यापलाई नै बजार घट्नुको कारकका रुपमा लिन्छन्।
पोहोरदेखि कर्जा विस्तारमा राष्ट्र बैंक लचक भए पनि सेयर धितो कर्जामा १५/२० करोडको क्याप कायमै छ। जोखिम भार भने घटाउँदै ल्याइउको छ। अधिकारी कार्यकालको अन्तिम मौद्रिक नीति जारी गर्ने तयारीमा छन्।
पढ्नुहोस यो समाचार : सेयर धितो कर्जाले बजारमा पारेको छ प्रभाव, के अब राष्ट्र बैंकले खुकुलो नीति लिन्छ ?
सुस्त अर्थतन्त्र चलायमान बनाउने नीति ल्याउनुपर्ने दबाब गभर्नरमाथि छ। प्रधानमन्त्री र अर्थमन्त्रीले सार्वजनिकरुपमै मौद्रिक नीति खुकुलो आउनुपर्ने बताइरहेका छन्। जसका कारण बजार अनुकूल नीति आउने लगानीकर्ताको बुझाइ छ।
गभर्नरका रुपमा अधिकारीले टेक्नोक्रयाट भन्दामाथि उठेर यसपालि लचिलो नीति लिने उनको अभिव्यक्तिबाट पनि झल्किन्छ।
अधिकारी अघि राष्ट्र बैंकको नेतृत्व सम्हालेका डा. चिरञ्जिवी नेपाल र डा. युवराज खतिवडा सुरुमा कसिलो मौद्रिक दिशा लिएपनि अन्तिमतिर नरम नीति लिएर एक्जिट भएका थिए। अधिकारी अहिले त्यस्तै विन्दुमा छन्।
अर्कातिर, अहिले बजारमा ६२ लाख लगानीकर्ता संलग्न छन्। तिनलाई रिझाउनका लागि पनि पौडेल बजारमैत्री छवि गुमाउन चाहँदैनन्। प्रधानमन्त्री ओलीले नयाँ समीकरणका कारण सेयर बजारमा हरियाली छाएको र अब पूरै बजार चलायमान हुने अभिव्यक्ति संसद्बाटै दिएर गभर्नरलाई लचिलो नीति ल्याउन सार्वजनिक रुपमै दबाब दिइसकेका छन्।
नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष सुरवीर पौड्याल विष्णु पौडेलले विगतमा लगानीकर्तालाई बिच्क्याउने नीति नलिएका कारण उनले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि बजार बढेको बताउँछन्। ‘विष्णु पौडेल सेयर बजारमैत्री अर्थमन्त्री भएको बजारको बुझाइ छ। उनको त्यो इमेजलाई क्यास गरेर बजारमा लगानीकर्ताहरुले खेलेका हुन्,’ उनले भने, ‘बजार बढ्नका लागि निहुँ चाहिएको थियो। उनको आगमनमा बजारले त्यो कन्फिडेन्स पायो।’