काठमाडौं। आइतबार नेप्से ५२.९७ अंकले बढ्यो। कारोबार खुलेदेखि उत्साहित बनेको बजार २२५७.५९ विन्दुमा पुगेर बन्द भयो। नेप्सेले २०७९ वैशाख २८ पछिकै धेरै उचाई लिएको हो।
त्यतिखेर बजार घट्दो क्रममा रहेपनि परिसूचक २३६९ अंकमा थियो। नेप्से आइतबार २२५७.५९ विन्दु कायम भएपनि बजार खुल्नेवित्तिकै २२९०.९५ विन्दुमा पुगेको थियो।
आइतबार नेप्से मात्र बढेन, ७ अर्ब ६२ करोड रुपैयाँको सेयर किनबेच भयो। यो कारोबार रकम ६ महिनापछिकै सर्वाधिक हो।यसअघि गत माघ ७ गते ७ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। त्यतिखेर बजारमा सेलिङ प्रेसरका कारण नेप्सेले उचाई लिन नसकेपनि कारोबारमा भने उत्साह थियो।
चालु आर्थिक वर्ष अन्तिम दुई साता बजारले बुलिस ट्रेन्ड समातेको हो। असार १७ गतेयता १० कारोबार दिनमध्ये ९ दिन नेप्से बढेको छ। १७ गते २०५३ विन्दुमा रहेको नेप्से त्यसयता २०४ अंक उकालो लागेको छ।
आइतबार बैंकिङ समूहको सूचक सर्वाधिक ३.७४ प्रतिशतले वृद्धि भएको छ। सूचीकृत १९ वटै वाणिज्य बैंकको सेयर भाउ बढेको छ।
वाणिज्य बैंकमा सबैभन्दा धेरै सेयर मूल्य रहेको स्ट्यान्डर्ड चार्टर्डको भाउ २.८१ प्रतिशतले वृद्धि भएर प्रति कित्ता ६०४.५० रुपैयाँ पुगेको छ। त्यस्तै एभरेष्ट बैंकको ५६८ र नबिल बैंकको ५२९ रुपैयाँ पुगेको छ। सबैभन्दा कम सेयर भाउ रहेको कुमारी बैंकको सेयर ६.२६ प्रतिशतले वृद्धि भएर प्रति कित्ता १५६.२० रुपैयाँ पुगेको छ।
त्यस्तै कारोबारमा आएका हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, विकास बैंक, फाइनान्स कम्पनी लगायत सबै समूहको सूचक बढेको छ।
संसद्का सबैभन्दा ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता पलटको सहमति भएपछि बजार उत्साहित बनेको हो। असार १७ गते कांग्रेस र एमालेले नयाँ सरकार बनाउन सहमति गरेका थिए।
दुई दलबीच अर्थ मन्त्रालयको नेतृत्व एमालेले लिने सहमति भइसकेको छ। एमालेले सेयर बजार मैत्री मानिएका विष्णु पौडेललाई अर्थमन्त्री बनाउने पक्का जस्तै छ। अर्थमन्त्रीका रुपमा पौडेल सेयर बजारले रुचाएका पात्र हुन्। उनी अर्थमन्त्री हुँदा नेपाल राष्ट्र बैंकले बजार अनुकूल मौद्रिक नीति लिने लगानीकर्ताको बुझाइ छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एमाले निकट मानिन्छन्। अधिकारी २०७६ मा केपी ओली प्रधानमन्त्री रहँदा गभर्नर नियुक्त भएका थिए। अधिकारी आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति ल्याउने तयारीमा छन्। लगानीकर्ताले राष्ट्र बैंकले लिने नीति तथा अर्थमन्त्री र गभर्नरबीचको सम्बन्धलाई महत्वसाथ लिने गरेका छन्।
अधिकारीले एमाले नेता अर्थमन्त्री भएका बेला लचकता अपनाउने गरेको उनले यसअघि लिएका नीतिले देखाउँछ। यसपटक पनि राष्ट्र बैंकसँग अर्थमन्त्रीको ट्युनिङ मिल्ने भएका कारण अहिले आफूहरुमा कन्फिडेन्स बढेको लगानीकर्ता बताउँछन्।
‘केही दिनमै मौद्रिक नीति आउँदैछ। मौद्रिक नीतिले कर्जामा लगाएको क्याप सम्बोधन गर्छ भन्ने विश्वास छ किनभने अर्थमन्त्री बन्न लागेका पौडेल क्यापको पक्षमा छैनन्। उनले क्याप हटाउन लगाउँछन् भन्ने धेरैको बुझाइ छ,’ एक ठूला लगानीकर्ताले भने, ‘विगतमा पौडेल अर्थमन्त्री हुँदा राष्ट्र बैंकले उनले भनेअनुसारकै नीति लिएको दृष्टान्त छ।’
राष्ट्र बैंकले सेयर धितो कर्जामा १५/२० करोड रुपैयाँको सीमा लगाएको छ। कतिपय लगानीकर्ताले यही नीतिलाई बजार बढ्न नसक्नुको कारकका रुपमा लिंदै आएका छन्।
२०७८ भदौमा ३१९९ अंकमा पुगेको नेप्सेलाई आधार मान्ने हो भने त्यसयता निरन्तर ओरालो लागेर १८०० अंकसम्म झरेको थियो। पछिल्लो २ वर्षयता बजारले २२०० अंक पार गर्न सकेको थिएन।
स्टक ब्रोकर एसोसियसन अफ नेपालका महासचिव फणिन्द्र दाहाल बजार बढ्नुपर्ने दुई वटा कारण देख्छन्। ‘बजार घटेर निकै तल छ। त्यसैले यो बढ्नु पर्ने नै हो। अर्को कुरा राजनीतिक सेन्टिमेन्ट पनि छ,’ उनले भने, ‘बजारमैत्री राजनीतिक सिनारियो देखिंदाको सकारात्मक प्रभाव हो।’
ब्याजदर र तरलता सेयर बजारका लागि अनुकूल मानिन्छन्। अहिले वित्तीय सूचकहरु बजारलाई फेबर हुने खालका छन्।बैंकको ब्याजदर एक अंकमा छ। प्रणालीमा लगानीयोग्य रकम फालाफाल छ। नयाँ राजनीतिक समीकरणले लगानीकर्ताको मनोबलमा सकारात्मक उर्जा थपेको विश्लेषकहरुको भनाइ छ।
‘पुँजी बजार तीन वर्षदेखि पेनिक थियो। त्यसैले बजारले उचाई लिनुपर्ने समय आएको हो,’ एक विश्लेषकले, ‘लगानीकर्तामा बढेको कन्फिडेन्स र फ्रेन्डली अर्थमन्त्री आउने विषयको रिफ्लेक्सन देखिएको छ।’