BIZMANDU
www.bizmandu.com

थोत्रो बिलिङ प्रणालीले सेवा अवरुद्ध भएपछि मर्मत गर्दै एनटीसी, यी सेवा अवरुद्ध हुन सक्ने

२०८१ असार २५

थोत्रो बिलिङ प्रणालीले सेवा अवरुद्ध भएपछि मर्मत गर्दै एनटीसी, यी सेवा अवरुद्ध हुन सक्ने
थोत्रो बिलिङ प्रणालीले सेवा अवरुद्ध भएपछि मर्मत गर्दै एनटीसी, यी सेवा अवरुद्ध हुन सक्ने

काठमाडौं। बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्नुपर्ने भएकाले केही समय सेवा प्रभावित हुन सक्ने नेपाल टेलिकमले जनाएको छ।

Tata
GBIME
Zonsen

मंगलबार एक सूचना जारी गर्दै टेलिकमले मंगलबार राति ११ बजेदेखि बुधबार बिहान ६ बजेसम्म ब्यालेन्स रिचार्ज, प्याकेज खरिद/सोधीखोजी सेवा प्रभावित हुन सक्ने उल्लेख गरेको छ। सो अवधिमा मोबाइल भ्वाइस, डेटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डेटा, आइपीटिभीलगायतका सेवामा भने कुनै असर नपर्ने टेलिकमले जनाएको छ।

टेलिकमले १० वर्षदेखि चिनियाँ कम्पनी एसिया इन्फोको बिलिङ सिस्टम चलाइरहेको छ। पुरानो र प्रतिस्पर्धात्मक बिलिङ प्रणाली नभएका कारण राजस्वमा ११ प्रतिशतसम्म चुहावट भइरहेको छ। थोत्रो बिलिङ प्रणालीका कारण टेलिकमको सेवा पटकपटक अवरुद्ध हुँदै आएको छ। पछिल्लो पटक थोत्रो बिलिङ प्रणालीकै कारण टेलिकमको सेवा असार १० गते १५ मिनेटसम्म अवरुद्ध भएको थियो।

बिलिङ प्रणाली नफेरि नहुने भएपछि टेलिकमले विगत सात वर्षदेखि नयाँ सिस्टम खरिद गर्न खोजिरहेको छ। जसअनुसार टेलिकमले गएको चैत १८ गते नयाँ बिलिङका लागि ठेक्का निकालेको थियो। तर, डलरको पुरानै भाउमा। एसिया इन्फोलाई नै निरन्तरता दिने दाउसहित टेलिकम व्यवस्थापनले डलरको पुरानै भाउ राखेर ठेक्का आह्‍वान गरेको छ।

जसका कारण तोकिएको समयमा कम्पनीहरुले आवेदन नै हालेका छैनन्। विवादित ठेक्काको म्याद पटकपटक थपेर साउन २ गते पुर्‍याइएको छ। ठेक्कालाई विवादित भनाएर रद्द गर्ने र अहिलेकै कम्पनी एसिया इन्फोकै बिलिङ प्रणालीलाई निरन्तरता दिन खोजिएको छ।

टेलिकमले ठेक्का आह्‍वान गरेको दिन (चैत १८ गते) नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरबराबरको बिक्री मूल्य १३३.७५ रुपैयाँ तोकेको थियो। तर, टेलिकमले पूर्वप्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको पालामा नयाँ बिलिङ प्रणाली किन्न गरेको निर्णयकै मितिमा कायम डलर दर (११८ रुपैयाँ)मा टेन्डर सूचना निकालेको छ। बिलिङ प्रणालीमा अनियमितता भएको आशंकासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमका निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्याललगायतसँग बयान लिइसकेको छ।