काठमाडौं हेर्दा ग्ल्यामरस देखिन्छ कलाकारिता क्षेत्र। तर त्यो ग्ल्यामर क्षेत्रभित्र ‘पस लुक’ कायम राखिरहन भने अभिनय गरेर कमाएको रकमले मात्रै पुग्ने कुरै भएन। अझ हाम्रो जस्तो कम लागतमा फिल्म निर्माण हुने चलचित्र उद्योगमा कलाकारहरुलाई ‘साइड बिजनेस’को भर पर्नुपर्ने हुन्छ।
नेपाली कलाकारहरुले जिजीविषा धान्दै सेलेब्रेटीको इलिगेन्ट लाइफस्टाइल कायम राख्न विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन्। रेस्टुरेन्टदेखि रियल स्टेट, फिल्म हलदेखि सेयर बजार, सबै क्षेत्रमा फैलिएको छ कलाकारको व्यवसाय। तर‚ धेरैले यसबारे खुलेर कुरा गर्न रुचाउँदैनन्।
नाम चलेकादेखि भर्खर फिल्म क्षेत्रमा प्रवेश गरिरहेका कलाकारहरु कुनै न कुनै व्यापार व्यवसायमा संलग्न भइरहेका छन्। कोही खुल्ला रुपमा नै व्यवसाय क्षेत्रमा देखिएका छन् त कोही कलाकार नाम नखुलाइ लगानी गरिरहेका छन्। नेपाली सिनेमा जगतमा आफैं लगानी गरेर फिल्म बनाउनेदेखि विभिन्न क्षेत्रमा कलाकर्मीको लगानी छ।
अभिनेता विपिन कार्की कलाकारमात्रै भएर बाँच्न गाह्रो हुने बताउँछन्। त्यसैले कलाकारिता क्षेत्रसँगै अन्य क्षेत्रमा पनि लगानी गर्नुपर्ने सुनाउँछन् उनी। नेपाली फिल्म क्षेत्रमा भर्सटाइल एक्टरका रुपमा चिनिने उनले प्रोडक्सन हाउसमा लगानी गरेका छन्। ‘विपिन कार्की क्रिएसन’ खोलेका उनले फिल्म निर्माणमा हात हाल्ने तयारी गरेका छन्। हाललाई भने उनको प्रोडक्सन हाउसले सर्टफिल्म मात्रै बनाएको छ। स्पर्श नेपालसँगको सहकार्यमा उनले लागू पदार्थ दुव्यर्सनीविरुद्धको सर्ट फिल्म निर्माण गरेका थिए।
आफूलाई फिल्म क्षेत्रबाहेक अरु क्षेत्रको बारेमा धेरै जानकारी नभएको बताउँदै उनले भने, ‘अहिले कम्पनीलाई विस्तार गर्ने काम भइरहेको छ। विज्ञापनदेखि विस्तारै फिल्मसमेत निर्माण गर्ने योजना छ। कलाकारिता मात्रै गरेर गाह्रो हुन्छ। त्यसलै पनि फिल्मसँग टाढिएर हैन कि नजिक रहेर काम गर्ने मेरो इच्छा हो।’
फिल्म निर्माण कम्पनीमा लगानी गर्ने अर्का अभिनेता हुन् सौगात मल्ल। ‘आदियोगी भिजन’ फिल्म निर्माण कम्पनी खोलेका उनले निर्देशक सुवर्ण थापासँग मिले ‘द सेक्रेट्स अफ राधा’ निर्माण गरेका थिए।
‘आगामी दिनमा पनि फिल्ममा नै लगानी गर्ने योजना छ,’ सौगातले भने।
अभिनेत्री पूजा शर्माले भने आफ्नो लगानीको दायरा बढाउँदैछिन्। सेयरमा लगानी गरिरहेकी उनी अहिले रेष्टुरेन्ट व्यवसायमा पनि आबद्ध भएकी छन्। केही समयअघि उनको लगानी रहेको ‘ट्याग रेस्टुरेन्ट’ झम्सिखेलमा सञ्चालनमा आइसकेको छ।
विपिन कार्कीजस्तै उनी पनि कलाकार भएर सधैँ टिक्न गाह्रो भएको सुनाउँछिन्। त्यसैले सेयर मार्केटका साथै रेस्टुरेन्ट व्यवसायमा जोडिएको पूजाले बताइन्। तीन वर्षअघिदेखि उनले सेयर बजारमा लगानी गर्न सुर गरेकी थिइन्। अहिले भने घाटामा रहेको भन्दै उनले भनिन्, ‘सेयरमा ८० लाख लगानी गरेको, मार्केट डाउन भएर खतम छ। तर, विस्तारै राम्रो होला भन्ने आश गरेकी छु।’
अभिनेत्री स्वस्तिमा खड्का फिल्मसँगै थुप्रै ब्रान्डसँग जोडिएकी छन्। त्यहीबाट कमाएको रकम उनले भने घरजग्गा व्यवसायमा लगानी गरेकी छन्।
‘क्याफे/रेस्टुरेन्टमा लगानी गर्दा आफूले पनि समय दिनुपर्ने हुन्छ। तर, विभिन्न काममा व्यस्त हुने भएकाले म समय दिन भ्याउँदिन। तर, घरजग्गाको बिजनेसमा दैनिक समय दिनु पर्दैन। आफ्नो खर्चबाहेक सबै पैसा रियल स्टेटमा इन्भेस्ट गरेकी छु,’ उनले भनिन्।
तर, अहिले आर्थिक मन्दीका कारण घरजग्गाको व्यापार सुस्ताएको बताउने उनी अन्य व्यवसायभन्दा क्षेत्रमा जोखिम कम हुने मत राख्छिन्।
‘अन्य व्यवसायमा जोखिम बढी हुन्छ। तर, रियल स्टेटमा त्यस्तो हुन्न। घरजग्गा कम बिक्री भए पनि घाटा चाँहि हुँदैन,’ उनले भनिन्।
अहिलेका अत्यधिक व्यस्त अभिनेता दयाहाङ राईले पनि रेष्टुरेन्टमा लगानी गरेका छन्। सिर्जना सुब्बा, विजय बराल, बुद्धि तामाङ, सोमनाथ खनालसहित १३ जना कलाकारको लगानीमा थापागाउँमा ‘लेन्चा खिम तथा मुकुण्डो बार’ सञ्चालनमा छ। सोही ठाउँमा मण्डला थिएटर पनि सञ्चालनमा छ, जसमा दयाहाङकै समूहको लगानी छ।
अभिनेत्री आँचल शर्मा कलाकारका लागि ‘साइइ बिजनेस’ अनिवार्य जस्तै भएको बताउँछिन्। सधैँ काम नहुने भन्दै उनले कलाकारिता विद्यासँगै अन्य पेसामा आबद्ध हुनुपर्ने बताउँछन्। त्यसैले उनले पारिवारिक व्यवसायमा नै लगानी गरेर व्यवसायिक यात्राको सुरुवात गरेकी छन्। श्रीमान उदीप श्रेष्ठको ‘हेल्थी च्वाइस क्लिनिक’ मा लगानी गरेको आँचलले बताइन्।
उनले भनिन्,‘अहिले श्रीमानको क्लिनिकमा मैले लगानी गरेकी छु। त्यसबाहेक छिट्टै केही बिजनेस गर्ने सोच बनाएकी छु।’ फेसन/मेकअपकै सामग्रीको व्यापार गर्ने योजना बनाएको समेत सुनाइन्।
अभिनेता दीपकराज गिरी, अभिनेत्री दीपा श्री निरौला र निर्मल शर्माले बानेश्वरमा सिनेमाहल खोल्न लागेका छन्। ‘छक्का पञ्जा’ सिरिजजस्ता हिट फिल्म निर्माण गरेका दीपकले कलाकारिताबाट कमाएको पैसा सिनेमाहलमा लगानी गरेको बताए।
‘फिल्मबाट कमाएको पैसाबाट नै साथीहरुसँग मिलेर हल सञ्चालन गर्न लागेको हुँ। फिल्म क्षेत्रले नै सबैकुरा दिएको छ। जसकारण लगानी पनि यसैक्षेत्रमा गर्ने सोच छ,’ उनले भने।
साथै दीपकसहितको टिम फिल्म निर्माणमा समेत सक्रिय छ। उनको टिमले आमा सरस्वती गीतादेवी फिल्मस् प्रालिबाट ‘छ एकान छ’ सहित छक्का पञ्जाका हिट सिरिजहरु निर्माण गरिसकेको छ।
यस्तै, अभिनेता प्रदीप खड्काले पनि प्रोडक्सन हाउस खोलेका छन्। केही महिनाअघि प्रदीप मिडिया प्रालि खोलेका उनले नेवारी परम्परामा आधरित कथावस्तुमा फिल्मसमेत निर्माण गर्ने घोषणा गरिसकेका छन्। यससँगै बालुवाटारमा एक रेस्टुरेन्ट व्यवसायमा समेत उनले लगानी गरेका छन्।