BIZMANDU
www.bizmandu.com

सिम्रिकका क्याप्टेन डंगोलले उडानमा किन एकपछि अर्को लापर्बाही गरिरहेका छन् ?

२०८१ बैशाख २२

सिम्रिकका क्याप्टेन डंगोलले उडानमा किन एकपछि अर्को लापर्बाही गरिरहेका छन् ?
सिम्रिकका क्याप्टेन डंगोलले उडानमा किन एकपछि अर्को लापर्बाही गरिरहेका छन् ?

काठमाडौं। सिम्रिक एयरका क्याप्टेन रानेश डंगोल मंगलबार एकाएक कारबाहीमा परे। कारबाहीस्वरुप नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले डंगोललाई ग्राउण्डेड गर्‍यो।

Tata
GBIME
Nepal Life

उनलाई ग्राउण्डेड गर्नुको कारण हो- एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएविपरीत दिशाबाट त्रिभुवन विमानस्थलमा हेलिकोप्टर अवतरण गराउन खोज्नु। उनको लापर्वाहीका कारण झण्डै ठूलो दुर्घटना हुन लागेकामा अर्का क्याप्टेनको सतर्कताले टरेको थियो।

कतार एयरवेजको दोहाबाट आइरहेको जहाज हेलिकोप्टरसँग ठोक्किने अवस्था नजिक पुगेकामा जहाजको टिकासले सम्भावित दुर्घटनाबारे संकेत गरेपछि जहाजका पाइलटले सतर्कता अपनाएका थिए।

लुक्लाबाट काठमाडौं आउने क्रममा डंगोलले पूर्वतर्फ नलिञ्चोक वा साँखुबाट हेलिकोप्टर ल्याउनुपर्नेमा दक्षिण पश्चिमबाट ल्याए। विमानस्थलका प्राविधिकहरुका अनुसार यो कल्पना बाहिरको कुरा हो। जसका कारण दुई जहाजबीचको दूरी १००० फिट हुनुपर्नेमा २०० फिट हुन पुगेको थियो। यो भनेको दुर्घटना सन्निकट अवस्था हो।

एटीसीसँग समन्वय नगरी आफूखुशी लेन बाहिर गएको पाइएपछि क्यानले क्याप्टेन डंगोललाई ग्राउण्डेड गरेर छानबिन गरिरहेको छ।

सिम्रिक एयरका क्याप्टेनले लापर्बाही गरेको यो पहिलो पटक भने होइन। उनी यसअघि पनि उडानमा लापर्वाही कारण कारबाहीमा परेका थिए।

कारबाहीमा परेको धेरै भएको छैन। उनी प्रभु हेलिकोप्टरमा रहँदाको कुरा हो, २०७९ माघ पहिलो साता प्रभु हेलिकोप्टरको जहाज फुटबल प्रतियोगिता चलिरहेको मैदानमा अवतरण भयो। जहाजमा क्याप्टेन थिए, उनै डंगोल।

उनले पोखरा-स्याङजा उडानका क्रममा हेलिकोप्टर वालिङको फुटबल मैदानमा अवतरण गरे जहाँ वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एएफसी क्यामरुन र वालिङ एएफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको थियो।

फुटबल प्रतियोगिता भइरहेको मैदानमा विना जानकारी हेलिकोप्टर अवतरण गराइएका कारण खेल प्रभावित हुन पुग्यो, खेलाडी र दर्शक आफूहरुको ज्यानमाथि खेलवाड गरेको भन्दै डंगोलमाथि जाइलागे। उनले कुटाइ खानुपर्‍यो।

हेलिकोप्टर वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी र सुशील थापाले चार्टर्ड गरेकामा उनीहरुले पनि कुटाइ खाए। क्याप्टेन डंगोलले यात्रुको दबाबमा बाध्य भएर खेल मैदानमा हेलिकोप्टर अवतरण गरेको स्पष्टीकरण दिएकामा यो घटनामा क्यानले उनलाई निलम्बन गर्‍यो।

‘क्याप्टेन डंगोल यसअघि प्रभु हेलिकोप्टरमा कार्यरत हुँदा पनि कारबाहीमा पर्नुभएको थियो। त्यसको करिब २ महिनामा उहाँ सिम्रिक एयरमा जोइन हुनुभयो हो,’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘हामीले त्यतिखेर क्लास लिएर निलम्बन फुकुवा गरेका थियौं। तर उहाँले फेरि गल्ती दोहोर्‍याउनुभयो।’

डंगोल नयाँ क्याप्टेन होइनन्। उनीसँग १५ वर्षको अनुभव छ। तर अनुभवका बाबजुद उनले गल्ती दोहोर्‍याएका छन्। क्यानले बारम्बार गल्ती दोहोर्‍याउनुलाई गम्भीररुपमा लिएको छ।

‘क्याप्टेनले विमानस्थलको ३ माइल नजिक आएपछि मात्र जानकारी गराएको पाइएको छ। एटीसीलाई आफ्नो दिशाको जानकारी नै दिएको देखिंदैन। यसरी जथाभावीरुपमा जहाज चलाउन पाईंदैन। हामीले हरेक रुटका लागि लेन बनाएका हुन्छौं। लेन अनुसार चलाउनुपर्छ। नभए त दुर्घटना भइहाल्छ नि,’ भुलले भने, ‘धन्न टिकासको संकेतका कारण दुर्घटना टर्‍यो। हाम्रो टिमले अहिले सिरियस्ली छानबिन गरिरहेको छ। छानिबन समितिको प्रतिवेदनका आधारमा थप कारबाही हुन्छ।’