Bizmandu
www.bizmandu.com

अग्रवाल परिवारको ड्रिम प्रोजेक्ट सागर डिस्टिलरी ठूला व्यापारीले किने, किन बेच्नुपरेको थियो?

अग्रवाल परिवारको ड्रिम प्रोजेक्ट सागर डिस्टिलरी ठूला व्यापारीले किने, किन बेच्नुपरेको थियो?


काठमाडौं। मिटर ब्याज, बैंक ऋणको भारी खेप्न नसकेर सम्पर्कविहीन भएका ओमप्रकाश अग्रवाल परिवारले स्थापना गरेको सागर डिस्टिलरी हाइ प्रोफाइल व्यापारीले किनेको देखिएको छ।



ओमप्रकाशका दुई छोरा अमित र अभिषेकले ठूलो लगानीमा नवलपरासीमा स्थापना गरेको यही डिस्टिलरीले करोडौंको साम्राज्य समाप्त भएको थियो। यो अमित र अभिषेकको ड्रिम प्रोजेक्ट थियो।

तर यही ड्रिम प्रोजेक्टले करोडौंको सम्पत्ति स्वाहा भएको छ भने उनीहरु पलायन हुनु परेको छ। दुई दाजुभाइले यो डिस्टिलरी बेच्ने प्रस्ताव ठूला घरानासम्म पुर्‍याएका थिए। त्यो प्रस्ताव र उद्योगको पूर्वाधार देखेर ती व्यापारिक घरानाले सहजै सेयर किनेका थिए।

 यो डिस्टिलरी पटकपटक विभिन्न व्यापारिक घरानाले किनेको कम्पनी रजिष्ट्रार कार्यालयको अभिलेखमा देखिन्छ। यो डिस्टिलरी सीजी होल्डिङका चेयरम्यान अरुणकुमार चौधरी र सेल्वेजका संचालक सुशील प्रधानांगले किनेको अभिलेखमा छ।

कम्पनी रजिष्ट्रार कार्यालयको अभिलेख अनुसार चौधरीले सागर डिस्टिलरीको २०७६ साउन १० गते आफ्नो र श्रीमती शिला चौधरीका नाममा ४९ दशमलव ९९ प्रतिशत सेयर खरिद गरेका थिए। तर उनले यो सेयर ९ महिनाकै अवधिमा बेचेको देखिन्छ।

चौधरीले आफूले ४९ प्रतिशत सेयर किनेको स्वीकार गर्दै केही समयमै बिक्री गरेर बाहिरिएको बताए। ‘मलाई जुन प्रतिबद्धता अमित अग्रवालबाट भएको थियो, त्यो पूरा हुन सकेन। त्यसपछि मैले आफ्नो सेयर बेचेर बाहिरिएको हो,’ उनले बिजमाण्डूसँग भने, ‘म उपयुक्त समयमा निस्किएछु।’ उनका अनुसार आफूले नवलपरासीमा रहेको उद्योगको संरचना सबै हेरेर लगानी गरेको हो। ‘पूर्वाधारहरु एकदमै राम्रो थियो। हाम्रो समूहका एक्सपर्ट टीमले पनि लगानी गर्न हुन्छ भनेर सेयर किनेको हो,’ चौधरीले भने, ‘मदिराको पनि राम्रो कारोबारी भएकाले लगानी गरे पनि पछि उनले हामीसँग गरेको प्रतिबद्धता पूरा नगरेपछि बेचेर बाहिरिएको हुँ।’

सागरको सेयर बेचेपछि चौधरीले ललितपुरमा रहेको हिमालय ब्रुअरी र त्रिशक्ति डिस्टिलरी किनेका थिए। डेढ अर्ब रुपैयाँमा सीजी होल्डिङले ब्रुअरी र डिस्टिलरी किनेको हो।

अरुणको सेयर सेल्सबेरीका चेयरम्यान सुशील प्राधाना‌ंगले किनेका हुन्। प्रधानांगले २०७८ वैशाख ५ गते अरुणको सेयर किनेका थिए। यो बाहेक अमितको बुबा र आमाको नाममा रहेको २९ दशमलव ३० प्रतिशत सेयर पनि प्रधानांगले किनेका थिए। त्यो बेलामा प्रधानांगसँग ७९ दशमलव २९ प्रतिशत सेयर होल्ड थियो।

कम्पनी रजिष्ट्रारको अभिलेखमा सुशील र सेल्सवेज क्यास क्यारी प्रालिको नाममा डिस्टिलरीको सेयर छ। सुशीलले पनि यो डिस्टिलरीको सेयर धेरै समय राखेनन्। उनले नौ महिनाकै अवधिमा डिस्टिलरीको सेयर सन्दिप जलान, आशुतोष खेतान र अलका गोयललाई बेचेका थिए। अहिले जलानका नाममा सागर डिस्टिलरीको मेजोरिटी सेयर छ। अहिले यो उद्योगको अध्यक्ष नै जलान हुन्।

'मैले ९ करोड ७५ लाख सापट दिएको हुँ'

सेल्सबेेरीका संचालक सुशील प्रधानांगले आफूले पटकपटक गरेर अमितको परिवारलाई ९ करोड ७५ लाख रुपैयाँ सापट दिएको बताउँदै त्यही आधारमा उनीहरुको नाममा रहेको सेयर किनेको जिकिर गरेका छन्।

'उनीहरुलाई मैले २५ वर्षदेखि चिनेको हुँ। केही पर्दा सापट माग्थे। मैले पनि साथीभाईको नाताले दिने गरेको थिए,' उनले बिजमाण्डूसँग भने, 'सुरुमा ४ करोड ७५ लाख र अर्को पटक ५ करोड रुपैयाँ दिएको थिएँ।'

' केही समयका लागि दिएको पैेसा ९ महिनासम्म फिर्ता नगरेपछि डेढ करोड ब्याज लिएको हुँ,' उनले भने, 'मैले अरुण चौधरीको सेयर पैसा तिरेर नै किनेको हो।' 

यसरी लिएका थिए डिस्टिलरीको लाइसेन्स

मदिराको कारोबारबाट आएको मुनाफासँगै दुई दाजुभाईको महत्वाकांक्षा समेत बढ्दै गएको थियो। उनीहरुको कारोबार लाख, करोड हुँदै अर्बतिर लम्किरहेको थियो। त्योसँगै अमित र अभिषेकको महत्वाकांक्षाको पारो पनि उकालो लाग्दै थियो।

त्यही बेलामा महेश बस्नेत उद्योगमन्त्रीमा आए। बस्नेतको अध्यक्षतामा २०७२ असोज १ गते बसेको औद्योगिक प्रवर्द्धन बोर्डको २१६औं बैठकले मदिरा उद्योगको इजाजत खुला गर्ने निर्णय गर्‍यो । यो निर्णयसँगै अमित र अभिषेकले मदिराको लाइसेन्स लिने प्रक्रिया अगाडि बढाए।

मदिरा कम्पनीको इजाजत लिने क्रममा किशोर भट्टराई, प्रमोद अधिकारी र रुक्मिणी श्रेष्ठ पनि थपिए। चार जनाको संयुक्त लगानीमा स्थापित सागर डिस्टिलरी र एलायन्स वाइन इन्ड्रस्ट्रिजले बस्नेतकै पालामा इजाजत पनि पाए। उनीहरुले उद्योग स्थापनाका लागि नवलपरासीमा ६ बिघा जग्गा किनेर प्रक्रिया अगाडि बढाए।

बस्नेतका पालामा मदिरा उद्योगको लाइसेन्स बाँडिदा संसदीय समितिदेखि धेरै शक्तिकेन्द्र सल्बलाएका थिए। ती सबै निकाय मिलाउन समेत अग्रवाल दाजुभाइले राम्रै पैसा खर्चिए। तर समयमा यो उद्योग सञ्चालनमा आउन सकेन।

समयमा उद्योग सञ्चालनमा आउन नसकेपछि उनीहरुले यहाँ लगाएको पैसा समेत ‘डम्प’ भयो। उद्योगमा लगाएको पैसा डम्प हुने र बैंकबाट थप ऋण लिन नसक्ने अवस्था भएपछि अग्रवाल दाजुभाईले बाहिरबाट सापटी लिएर आर्थिक व्यवस्थापन गरेका थिए।

यो पनि पढ्नुहोस्:

मदिरा व्यापारी ओमप्रकाशको ज्ञानेश्वर घरमा भेटिएको त्यो नोट, जसलाई आधार मानेर बढ्दैछ अनुसन्धान

ग्रीनलाइनका अग्रवाल परिवारको पलायनसँगै मिटर ब्याजको डरलाग्दो तस्बिर, कसरी झाँगिदैछ ?