काठमाडौं । सरकारले १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भएको छ।
उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले शुक्रबारको मन्त्रिपरिषद बैठकबाट उक्त आयोजना स्वदेशी लगानी एवं प्रविधिमा निर्माण गर्ने निर्णय गरेको ट्विटर मार्फत जानकारी दिएका छन्।
दुई साता अघि सरकारले चिनियाँ कम्पनी गेजुवा सिजिजिसीबाट बुढीगण्डकीको लाइसेन्स खोसेको थियो। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यो आयोजना चीनियाँ कम्पनीलाई दिएको थियो। त्यसपछि केही भारतीय मिडियाले अब यो परियोजना भारतको कम्पनीले पाउने समाचार समेत सार्वजनिक गरेका थिए।
सरकारले २०७३/७४ को बजेटमा बुढी गण्डकी स्वदेशी लगानीमा बनाउने भन्दै प्रति लिटर इन्धनमा पाँच रुपैयाँ पूर्वाधार कर लिन थालेको थियो। त्यस अनुरुप अहिलेसम्म साढे ११ अर्ब रुपैयाँ संकलन भइ सकेको छ।
राष्ट्रिय गौरवको परियोजनको रुपमा रहेको बुढीगण्डकी निर्माणपछि हिउँदको लोडसेडिङ दीर्घकालिन रुपले व्यवस्थापन हुने नेपाल विद्युत प्राधिकरणका अधिकारी बताउँदै आएका छन्। धादिङ र गोरखाको सीमा क्षेत्रमा बन्ने परियोजनाको लागत दुई खर्ब ६० अर्ब रुपैयाँ अनुमान गरिएको छ। सुरुमा स्वदेशी लगानीबाटै बनाउने बताइँदै आएको परियोजना अचानक सरकारले चिनियाँ कम्पनीलाई दिँदा बिबाद समेत भएको थियो।