BIZMANDU
www.bizmandu.com

टाटा पावरसँग विद्युत खरिद बिक्री प्रक्रिया होल्ड, जरिवाना तिर्नपर्ने भयले हच्किए दीर्घायु

२०८३ मंसिर ११

टाटा पावरसँग विद्युत खरिद बिक्री प्रक्रिया होल्ड, जरिवाना तिर्नपर्ने भयले हच्किए दीर्घायु
टाटा पावरसँग विद्युत खरिद बिक्री प्रक्रिया होल्ड, जरिवाना तिर्नपर्ने भयले हच्किए दीर्घायु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतको ‍टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेड (टीपीटीसीएल)मार्फत विद्युत खरिद बिक्री सम्झौता प्रक्रिया तत्कालका लागि होल्ड गरेको छ।

GBIME
Tata

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सम्झौताको प्रक्रिया होल्ड गरेका हुन्। दीर्घायुले सम्झौताको फाइल तत्काल अगाडि नबढाउन विद्युत व्यापार विभागलाई निर्देशन दिएको स्रोतले बतायो।

‘हामीले खरिद प्रक्रिया अगाडि बढाएका थियौं। तर, एमडी सरले तत्कालका लागि प्रक्रिया होल्ड गर्न निर्देशन दिएपछि अहिलेका लागि रोकिएको छ,’ स्रोत भन्यो।

प्राधिकरणको १०३६औं सञ्चालक समिति बैठकले गत असार २५ गते टीपीटीसीएलमार्फत विद्युत व्यापार गर्ने निर्णय गरेकामा विद्युत नियमन आयोगले भदौ २ गते अनुमोदन गरेको थियो।

प्राधिकरण बिजुली निर्यात गर्ने भनिएका आयोजनाको निर्माण सम्पन्न नभएको अवस्थामा जरिवाना तिर्नुपर्ने भएपछि सम्झौता गर्न अहिले हच्किएको हो। प्राधिकरणले २८.१ मेगावाट क्षमताको अप्पर काबेली हाइड्रोपावर र ५७.५ मेगावाको नुप्चे लिखु हाइड्रोपावरको ८६ मेगावाट बिजुली निर्यात गर्ने गरी टीपीटीसीएलसँग सम्झौताको प्रक्रिया अगाडि बढाएको थियो।

यी दुबै आयोजना अहिले निर्माणाधीन अवस्थामा छन्। ‘हामीले टाटा पावरलाई बिजुली बेच्ने भनेका आयोजना अहिले निर्माणाधीन अवस्थामा छन्। ती आयोजनाले व्यावसायिक उत्पादन मिति (सीओडी) अनुसार नै बिजुली दिन्छन् भन्ने ग्यारेण्टी छैन। यस्तो अवस्थामा हामीले विद्युत खरिद बिक्री सम्झौता गरेर पछि आयोजनाबाट सीओडीमा ढिलाई भएको खण्डमा टाटालाई ठूलो जरिवाना तिर्नुपर्ने हुन्छ,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘त्यही कारण एमडी सरले अहिलेलाई प्रक्रिया होल्ड गर्न लगाउनुभएको हो।’

आयोजनाको अवस्था नै नहेरि प्राधिकरणको निर्णय अनुमोदन गरेको विषयलाई लिएर आयोगको भूमिकामाथि पनि प्रश्न उठेको छ। ‘खरिद बिक्री सम्झौता प्रक्रिया अगाडि बढाउन बोर्ड बैठकको निर्णय अनुमोदन गर्ने बेलामा यस्तो कुरालाई आयोगले पनि बेवस्ता गरेको देखियो,’ मन्त्रालयका एक कर्मचारीले भने।

यो सम्झौता प्रक्रिया अगाडि बढाउन ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ निकटकै केही व्यक्ति सक्रिय थिए। स्रोतका अनुसार उनीहरु टाटासँगको सम्पर्कमा नै पुगिसकेका थिए।

टीपीटीसीएलबीच विभिन्न चरणमा छलफलपछि प्राधिकरण बिजुली खरिद बिक्री गर्ने निष्कर्षमा पुगेको थियो। प्राधिकरणले वर्षायाममा बढी भएको विद्युत टीपीटीसीएलमार्फत बिक्री गर्ने विषय बाहिर आएपछि भारतीय सरकारी कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) असन्तुष्ट बनेको थियो।

जसका कारण एनभीभीएनले प्राधिकरणलाई अहिले बिजुली बेच्न आनकानी गरिरहेको छ। प्राधिकरणले डेढ सय मेगावाट २४ घण्टा (राउण्ड द क्लक) किन्न सम्झौताका लागि पटकपटक आग्रह गर्दा एनभीभीएनले आलटाल गरिरहेको हो।

प्राधिकरणले वर्षायाममा घरेलु ग्राहकलाई बिक्री गरेर बचत भएको विद्युत भारतमा निर्यात गर्दै आएको छ। प्राधिकरणले हालसम्म भारतीय विद्युत व्यापार कम्पनी पीटीसी इन्डिया र एनभीभीएनमार्फत विद्युत खरिद बिक्री गर्दै आएको छ।

सुक्खायामको माग धान्नका लागि एनभीभीएनले बिजुली दिन आलटाल गरेपछि प्राधिकरणले शुक्रबार १५० मेगावाट किन्न टेण्डर आह्वान गरेको छ।