BIZMANDU
www.bizmandu.com

टाइगर टप्स बन्द भएपछि दुई रिसोर्ट चलाइरहेका ज्याक, ‘रातकै हजार डलरमा बेच्न सकिन्छ’

२०८३ मंसिर ११

टाइगर टप्स बन्द भएपछि दुई रिसोर्ट चलाइरहेका ज्याक, ‘रातकै हजार डलरमा बेच्न सकिन्छ’
टाइगर टप्स बन्द भएपछि दुई रिसोर्ट चलाइरहेका ज्याक, ‘रातकै हजार डलरमा बेच्न सकिन्छ’

काठमाडौं। डेढ दशकअघि बन्द भएको चितवन राष्ट्रिय निकुञ्जभित्र टाइगर टप्स रिसोर्टको संरचना कायमै छ।

GBIME
Tata

यो संरचनाभित्र अहिले पनि दुई वटा हात्ती रिसोर्टले पालिरहेको छ। हात्ती स्याहारसुसारका लागि माउते पनि खटिएका छन्। काठबाट निर्माण भएको रिसोर्ट र खरको छानासहितका संरचनाभित्र हात्ती र स्याहारसुसारमा खटिएका माउते छन्।

बालेन्द्र शाह सरकारले हाइइन्ड पर्यटक भित्र्याउने योजना बनाइरहँदा यसका संचालक टाइगर टप्स संचालनको निर्णय भएमा त्यो संरचना पुनर्निर्माणका लागि अढाई वर्ष लाग्ने बताउँछन्। त्यहाँ भएका काठलाई पुन प्रयोग गरेर रिसोर्ट बनाउने र त्यसका लागि कम्तीमा अढाई वर्ष लाग्ने टाइगर टप्सका प्रबन्ध निर्देशक ज्याक एडवर्ड्सले बताए।

‘टाइगर टप्स बन्द भए पनि नेपालमा सफारी पर्यटनप्रतिको मोह जान सकेन। त्यसैले हामीले अमलटारीमा थारु लज र बर्दियामा कर्णाली लज स्थापना गरेर चलाइरहेका छौं। एसियामै पहिलो सफारी रिसोर्ट चलाएकाले पनि हाम्रो मन नेपालबाहिर जाने कुरै भएन,’ उनले बिजमाण्डूसँग भने, ‘प्रकृतिले उपहार दिएको देशमा हस्पिटालिटी त्यो पनि वन्यजन्तु संरक्षण गर्दै चलाउन पाउनु सौभाग्यको विषय हो। यसलाई हामी निरन्तरता दिनेछौं।’

बेलायतमा जन्मिएका ज्याकले त्यहीं अध्ययन गरे। उनले अध्ययन सकेपछि सिंगापुरको वित्तीय संस्था रोथ्सचाइल्ड एण्ड कम्पनीमा काम गरे। ठूला कम्पनीको खरिद बिक्रीदेखि मर्जर लगायतमा सल्लाह दिने यो कम्पनीमा रहँदा अर्बपतिहरुसँग संगत भयो। उनका बुबा जिम एडवर्ड्सले टाइगर टप्समा लगानी गरेका थिए।

ज्याकका बुबा जिमको सन् २००९ को मार्च २४ मा निधन भयो। त्यसपछि दोस्रो पुस्ताका रुपमा ज्याकले टाइगर टप्सको व्यवस्थापन सम्हाले। बाल्यकालमा जंगलमा हुर्किएकाले पनि उनले सिंगापुरको जागिर छाडेर नेपालको हस्पिटालिटी व्यवसायलाई निरन्तरता दिए।

उनले टाइगर टप्स बन्द भएपछि दुई वटा रिसोर्ट खोलेर निरन्तरता दिइरहेका छन्। ‘जंगल त्यो पनि नेपालसँगको हाम्रो नाता धेरै पुरानो छ। त्यसैले टाइगर टप्स बन्द भएपछि पनि हामीले दुई ठाउँमा रिसोर्ट खोलेका हौं,’ ज्याकले भने, ‘टाइगर टप्स संचालन गर्ने निर्णय भयो भने काठकै बनाउनुपर्छ। त्यसका लागि कम्तीमा पनि अढाई वर्ष लाग्छ।’

उनी टाइगर टप्सलाई व्यापारिक हिसाबले मात्रै नहेरेको बताउँछन्। ‘टाइगर टप्सलाई हामीले व्यापारको रुपमा मात्रै हेरेका छैनौं। विश्वकै सफारी टुरिजमको रुपमा चिनाएको एउटा प्रिमियम प्रडक्ट थियो। जहाँ बस्न विश्वका धनाढ्यदेखि राष्ट्र प्रमुखसम्म आउने गर्नुहुन्थ्यो,’ उनले भने, ‘त्यसरी आउने व्यक्तिले खर्च गर्दा हामीले केही कमाउने र देशको अर्थतन्त्रमा पनि योगदान पुग्ने विषय त स्वाभाविक भयो।’

टाइगर टप्समा एक रात बिताउनका लागि त्यो समयमा पर्यटकले ५०० अमेरिकी डलरसम्म तिर्थे। टाइगर टप्समा बेलायतकी महारानी एलिजाबेथ, बेलायतका तत्कालीन युवराज फिलिप, अमेरिकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलगायत प्रतिष्ठित व्यक्ति आएका थिए।

ज्याक त्यो बेला नै पर्यटकले एक रातको ५०० डलर तिर्ने गरेकाले टाइगर टप्स संचालनमा आएमा अब हजार डलरभन्दा बढी लिन कठिन देख्दैनन्।

‘टाइगर टप्स संचालन गर्ने विषय सरकारको हो। तर, संचालनमा आयो भने अब एक रातको हजार डलरभन्दा कम हुँदैन,’ ज्याकले भने, ‘देशलाई नै चिनाउने सफारी पर्यटन खुल्दा अर्थतन्त्रलाई फाइदा पुग्छ भन्ने विषयमा राज्य पनि जानकार होला।’