BIZMANDU
www.bizmandu.com

टाटामार्फत बिजुली बेच्ने निर्णयले भारतसम्म हलचल, विद्युत प्राधिकरण पर्‍यो अप्ठेरोमा

२०८३ मंसिर २

टाटामार्फत बिजुली बेच्ने निर्णयले भारतसम्म हलचल, विद्युत प्राधिकरण पर्‍यो अप्ठेरोमा
टाटामार्फत बिजुली बेच्ने निर्णयले भारतसम्म हलचल, विद्युत प्राधिकरण पर्‍यो अप्ठेरोमा

काठमाडौं। भारतीय सरकारी कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड(एनभीभीएन)ले नेपाल विद्युत प्राधिकरणलाई बिजुली बेच्न आनकानी गरेको छ।

GBIME
Tata

प्राधिकरणले डेढ सय मेगावाट २४ घण्टा(राउण्ड द क्लक) किन्न सम्झौताका लागि पटकपटक आग्रह गर्दा एनभीभीएनले आलटाल गर्दै आएको हो। सुक्खायामका लागि आवश्यक पर्ने बिजुली किन्नका लागि सबै प्रक्रिया पूरा गरेपछि एनभीभीएनले अन्तिम समयमा आलटाल गरिरहेको प्राधिकरणको उच्च स्रोतले बतायो।

प्राधिकरणले केही महिनाअघि नै डेढ सय मेगावाट बिजुली किन्नका लागि एनभीभीएनसँग कोटेशन मागेको थियो। एनभीभीएनले ६.९० भारुमा बिजुली दिने कोटेशन प्राधिकरणमा पठायो। त्यो कोटेशन अनुसार प्राधिकरणका उच्च अधिकारी डेढ सय मेगावाट बिजुली आउनेमा ढुक्क भए।

तर, सम्झौताको चरणमा पुग्दा भने एनभीभीएन पछाडि हटिरहेको छ। एनभीभीएनले सम्झौतामा आलटाल गरेपछि प्राधिकरणका उच्च अधिकारी आश्चर्यमा परेका छन्।

‘सबै प्रक्रिया पूरा गरेपछि अहिले एनभीभीएनबाट भइरहेको आलटालले हामी आश्चर्यमा परेका छौंं। हामीले सम्झौताका लागि आग्रह गर्दा पनि हुन्छ हुन्छ भनेर टारिरहेको छ,’ प्राधिकरणका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘यति लामो सम्बन्ध भएको संस्थाले गरिरहेको आलटालले हाम्रा तर्फबाट भएका काम कारबाहीप्रतिको असन्तुष्टि हो कि भनेर पनि हेर्नुपर्ने भएको छ।’

ती कर्मचारीका अनुसार टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेड (टीपीटीसीएल)मार्फत विद्युत खरिद बिक्री सम्झौता अघि बढाइएपछि एनभीभीएन असन्तुष्ट बनेको हो। प्राधिकरणले गत असार २५ गते टीपीटीसीएलमार्फत विद्युत खरिद बिक्री सम्झौता गर्ने निर्णय गरेको थियो। प्राधिकरणले हालसम्म भारतीय विद्युत व्यापार कम्पनी पीटीसी इन्डिया र एनभीभीएनमार्फत विद्युत खरिद गर्दै आएको छ।

वर्षायाममा बढी भएको विद्युत टाटामार्फत बिक्री गर्ने विषय फाष्ट ट्र्याकमा अगाडि बढेपछि एनभीभीएन असन्तुष्ट भएको सूचना प्राधिकरणमा पुगिसकेको छ। त्यसपछि प्राधिकरणका उच्च अधिकारीले एनभीभीएनका अधिकारीलाई टेलिफोन गरेर टाटासँगको सम्झौताका बारेमा धारणा बुझेका थिए।

त्यो टेलिफोन कुराकानीमा एनभीभीएनका अधिकारीले टाटासँगको सम्झौता अगाडि बढाउने विषयमा गुनासो भने गरेनन्। ‘असन्तुष्टिको सूचना आएपछि प्राधिकरणबाटै सोधखोज भयो। भारतीयहरुले त्यस्तो केही होइन भनेर टारे,’ स्रोतले भन्यो, ‘तर, अहिले डेढ सय मेगावाटको आलटालले भने त्यही विषयमा असन्तुष्टि हो कि भन्ने आशंका हामीलाई भएको छ।’

स्रोतका अनुसार एनभीभीएनका अधिकारीले निजी क्षेत्रसँग सम्झौता गर्ने विषयले असन्तुष्ट भएको जवाफ नदिएर कूटनीतिक रुपमा झुलाउन खोजेको देखिन्छ।

‘आफ्नै देशको निजी क्षेत्रसँग व्यापार गर्न खोजेको विषयमा सिधै असन्तुष्ट रहेको जनाउ दिने कुरा भएन। तर, एनभीभीएनका अधिकारीले प्राधिकरणले गरेको मुभप्रति खुशी छैनन् भन्ने जनाउ डेढ सय मेगावाटको सम्झौतामा आलटाल गरेर दिइरहेका छन्,’ स्रोतले भन्यो।

एनभीभीएनले सम्झौतामा आलटाल गरेको विषयलाई प्राधिकरणका उच्च अधिकारीहरु सुक्खायामका लागि बिजुलीको मूल्य अकासिएकाले हुनसक्ने आशंका गरेर बसिरहेका छन्। ‘भारतमा सुक्खायाममा बिजुलीको भाउ अकासिएकाले एनभीभीएनले हामीतिर इच्छा नदेखाएको आशंका गरिरहेका छौं,’ प्राधिकरणका एक सञ्चालकले भने, ‘त्यही ब्रिफिङ हामीले माथिल्लो निकायलाई गरेका छौं।’

तर, प्राधिकरणका एक पूर्वकार्यकारी निर्देशकले भने वर्षौंदेखि सम्बन्ध भएको सरकारी कम्पनीले महँगो मूल्य हेरेर भन्दा प्राधिकरण नेतृत्वको गलत मुभका आधारमा एनभीभीएन रिसाएको हुनसक्ने बताए।

‘खुल्ला बजारमा बिजुलीको मूल्य कहाँ जान्छ भनेर आलटाल गरेको होइन होला। महँगो मूल्यमा बेच्ने भए कोटेशन किन दिन्थ्यो र?,’ उनले प्रश्न गर्दै भने, ‘यसबारे प्राधिकरणको नेतृत्वले तत्कालै स्पस्ट भएर एनभीभीएनसँग कुराकानी गर्नुपर्छ।’

ती पूर्वकार्यकारी निर्देशकका अनुसार दुई संस्थाबीचको सम्बन्धलाई ध्यान दिएर प्राधिकरण नेतृत्वले कदम चाल्नुपर्छ।

‘राजनीतिक नेतृत्वले दबाब दिन सक्छ। त्यसमा निजी क्षेत्रमार्फत बिजुली बेच्ने निर्णय प्राधिकरणको नेतृत्वले अगाडि बढाएको देखिन्छ। तर, हामीले वर्षौंदेखि कारोबार गर्दै आएको काउन्टरपार्टलाई जानकारी गराउने सुझबुझपूर्ण काम गर्नुपर्छ,’ उनले भने, ‘पहिलो कुरा त राजनीतिक नेतृत्वबाट आएका विषयले प्राधिकरणलाई अप्ठेरो पर्छ भने हुँदैन पनि भन्न सक्नुपर्छ। त्यसमा अहिलेको नेतृत्व चुकेको देखिन्छ।’