काठमाडौं। नेपाल धिताेपत्र बोर्ड (सेबाेन) ले कम्पनीका आधारभूत सेयर धनीले सेयर बिक्री गर्नुअघि सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्थामा संशोधन गरेको छ।
सेबाेनले शुक्रबार यसअघिको निर्देशन संशोधन गर्दै कम्पनीले आइपीओ निष्कासन गर्दा कायम आधारभूत सेयर धनीले १५ प्रतिशत बढी सेयर बिक्री गर्ने भए ५ दिन अघि सूचना सार्वजनिक गर्न भनेको हो।
`नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भई धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को व्यवस्था बमोजिम लकइन अवधि समाप्त भएपश्चात् उक्त कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासनको बखत कायम रहेका आधारभूत सेयर धनीहरूले आफूले धारण गरेको सेयरको १५ (पन्ध्र) प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपर्ने भएमा सोसम्बन्धी सूचना पाँच कारोबार दिन अगाडि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने र सूचीकृत कम्पनीले धितोपत्र बिकी सूचना प्राप्त भएपश्चात् यथाशीघ्र नेपाल स्टक एक्सचेन्ज लि’मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउने। उक्त धितोपत्र बिक्री आशयको सूचनाको वैधता तीन महिना अवधि कायम रहनेछ,´ सेबाेनले भनेको छ।
सेबाेनले सेयर बिक्री गर्ने आशयले सूचीकृत कम्पनीमार्फत सूचना सार्वजनिक गरेका सेयर धनीले आफूले बिक्री गर्न चाहेको सेयर बिक्री नगरेको वा पूरै बिक्री नभएमा पुनः सोही कम्पनीको सेयर खरिद गर्ने भएमा कारोबार सम्पन्न भएपछि विवरण सार्वजनिक गर्न भनेको छ।
सेबाेनले यसअघि भदाै ९ गते कम्पनीका कुनै आधारभूत सेयर धनीले ५ (पाँच) प्रतिशत वा सो भन्दा बढी सेयर बिकी गर्ने भएमा पन्ध्र दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराएर सूचना सार्वजनिक गर्न निर्देशन दिएको थियो।
आधारभूत सेयर धनीले सेयर बिक्रीको विवरण सार्वजनिक गर्न थालेपछि कम्पनीमा आएको सेलिङ प्रेसरका कारण बजारमा दबाब देखिएको थियो। त्यही कारण लगानीकर्ताले विरोध गरेपछि संशोधन गरिएको हो।