काठमाडौं। भोटेकोशी बाढी प्रभावितलाई अस्थायी बसोबासका लागि क्याप्सुल हाउस उपलब्ध गराउने योजनाबाट सरकार पछि हटेको छ।
क्याप्सुल हाउसले समस्या समाधान नहुने निष्कर्ष निकाल्दै सरकार पछि हटेको हो। अब नेपालमै बनाउन सकिने फोल्डेबल हाउसको डिजाइन र उत्पादन लागत तयार गर्न निर्देशन आएको शहरी विकास तथा भवन निर्माण विभागका पुनर्निर्माण तथा पुनर्स्थापना/प्रबलीकरण महाशाखाका सिनियर डिभिजनल इन्जिनियर अविनाश श्रीवास्तवले बताए।
‘अब निर्देशन अनुसार ओपन हाउसमा हामी काम गर्दैछौं। यसको डिजाइन र लागत तयार पार्न एक हप्ताको समय लाग्छ। हामीले यसका लागि काम भोलिदेखि सुरु गर्दैछौं,’ श्रीवास्तवले बिजमाण्डूसँग भने, ‘यो घरलाई जता आवश्यक पर्यो त्यता लैजान सकिने गरी डिजाइन गर्न निर्देशन भएको छ। हामीले त्यही अनुसार फोल्डेबल हाउस तयार पार्छौं।’
श्रीवास्तवका अनुसार फोल्डेबल हाउस नेपालमै बन्ने गरी डिजाइन गरिँदैछ। फलाम र प्रिफ्याब तथा बाँसमार्फत यो घर निर्माण हुनेछ। अहिलेलाई यस्ता ५०० घरको माग आएको छ।
जग्गा उपलब्ध गराउन समस्या
सरकारले भोटेकोशी बाढी प्रभावितलाई राख्नका लागि ४२ स्थानको जग्गा हेरेको थियो। पहिचान भएका जग्गा प्राप्तिमा पनि समस्या देखिएको छ।
राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाका अनुसार ७००० घर पूर्णरुपमा क्षति भएकामा स्थानान्तरणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न नसक्दा समस्या भइरहेको छ।
‘एउटा विकल्प फोल्डेबल घर हुन्छ भने अर्को भूकम्पमा जस्तै घरको संरचना बनाउन पैसा दिने तयारीमा सरकारले काम गरिरहेको छ। जग्गा अनुसार एरिया तोकेर संरचना बनाउन दिने मोडलमा अगाडि बढ्ने तयारी छ,’ थापाले भने।
घरजग्गा सबै गुमाएकाहरुलाई जग्गा दिने र घर बनाउन पैसा दिने विषयमा पनि छलफल भइरहेको थापाले बताए।
‘नदी किनारमा घर बगेका तर माथि जग्गा छ भने त्यस्ता परिवारलाई घर बनाउन आर्थिक सहयोग दिने तयारी छ। यस्तै जग्गा पनि छ, घर पनि छ, तर असुरक्षित भएकालाई अस्थायी स्थानान्तरण विषयमा छलफल भइरहेको छ,’ थापाले भने।
अहिले पहिचान भएका जग्गा उपयोग गर्न दिन वन, विद्यालय र विद्युत प्राधिकरणले मानिरहेका छैनन्।