काठमाडौं। जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेक सवारी साधान आवतजावतमा रोक लगाएको छ।
शुक्रबार दिउँसोबाट लुम्बीनी प्रदेशतिर भारी वर्षाको कारण जोखिम बढेपछि उक्त प्रदेशका जोखिम भएका जिल्लाहरूले दिउँसो नै सवारी आवतजावतमा रोक लगाउन थालेका हुन्।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै सोमबार साँझ ५ बजेसम्मका लागि रोक लगाइएको हो। त्यस्तै, अत्यावश्यक बाहेक घरबाहिर हिँड्डुल गर्न समेत रोक लगाइएको छ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय दाङले पनि दिउँसोको समयमा जोखिम भएका सडकमा आवतजावत रोक लगाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केही समयअघि बसेको बैठकले जोखिमयुक्त जिल्लामा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको थियो।
मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका तीन दर्जनभन्दा बढी जिल्ला भारी वर्षाको जोखिममा छन्। ती जिल्लाहरूमा प्रशासन कार्यालय र स्थानीय तहले आवश्यकता अनुसार सवारी आगमन बन्द गर्ने अधिकार पाएका छन्।