BIZMANDU
www.bizmandu.com

आफ्नो प्रशंसा नगर्नेलाई ओलीको ‘हप्किदप्की’, मनाउन अनेक कसरत, शंकर र विष्णु एकाएक सफ्ट

२०८३ असोज ६

आफ्नो प्रशंसा नगर्नेलाई ओलीको ‘हप्किदप्की’, मनाउन अनेक कसरत, शंकर र विष्णु एकाएक सफ्ट
आफ्नो प्रशंसा नगर्नेलाई ओलीको ‘हप्किदप्की’, मनाउन अनेक कसरत, शंकर र विष्णु एकाएक सफ्ट


काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा नबोल्ने नेताहरूलाई हप्काउन थालेका छन्। ललितपुरमा सोमबारदेखि सुरु भएको बैठकमा सहभागी नेताहरूका अनुसार ओली आफ्नो पक्षमा नबोल्ने तथा राजीनामा माग्ने नेताहरूप्रति कडा रूपमा प्रस्तुत भएका हुन्।

Vigo
GBIME
Tata

ओलीले यसअघिका बैठकहरूमा भन्दा यस पटक आफूलाई कठोर रूपमा प्रस्तुत गरिरहेका छन्। अरु बेला महासचिव शंकर पोखरेललाई बैठक सञ्चालनको जिम्मा दिने गरेका ओलीले सोमबार आफैंले बैठक सञ्चालन गरेका थिए।

सोमबार ओलीले राजीनामा माग्ने नेताहरूको बोलीमै अंकुश लगाए। राजनीतिक प्रतिवेदन वाचन गरेर बैठक सकिएको घोषणा गरेपछि ओली इतर पक्षले प्रतिवाद गरेको थियो।

मंगलबार ओलीले महासचिव शंकर पोखरेललाई बिहानै आफ्नो निवास बोलाए। ओलीसँगको तीन घण्टा लामो वार्तापछि पोखरेल मंगलबारको बैठकमा नरम ढंगले प्रस्तुत भए। आफ्नो पक्षमा देखिएपछि मात्रै ओलीले पोखरेललाई मंगलबार बैठक सञ्चालनको जिम्मा दिएका छन्। 

‘महासचिवले सम्बोधनका बेलामा म अध्यक्षका विरोधमा कहिले थिएन। उहाँको केही शैली भएन भनेको हो। म अबदेखि उहाँको विपक्षमा उभिन्न भनेपछि मात्रै बैठक सञ्चालन गर्न दिनुभएको थियो,’ एमालेका एक केन्द्रीय सदस्यले भने।

पोखरेलले बैठकमा पार्टी पुनर्गठनको एजेन्डालाई गलत रूपमा व्याख्या गरिएको भन्दै ओलीको साथमै भएको अभिव्यक्ति दिएका थिए।

‘अध्यक्षले मैले हटाउने कुरा बुझ्नुभएको रहेछ। कार्यदलमा आएको सुझावको आधारमा अब सबै जना कोर्स करेक्सनमा जानुपर्छ भनेको हो। उहाँ र मेरो बिचमा फाटो ल्याउन खोजियो कि भन्ने लागेको छ। त्यसले हामी बिचमा दूरी बढाएको हो कि भन्ने नेता साथीहरूले बुझ्नुभएको छ,’ पोखरेलले बैठकमा भनेका थिए।

पोखरेलले एमाले पुनर्गठन कार्यदलमा ओलीलाई अध्यक्षबाट हटाउनुपर्ने प्रतिवेदन तयार पारेका थिए तर त्यसलाई संयोजक रामबहादुर थापा बादलले अघि बढ्न दिएनन्। बादल र एमाले नेता प्रदीप ज्ञवालीले ओलीको प्रशंसा गर्दै अध्यक्षबाट राजीनामा गर्न नपर्ने उदाहरण राखेर प्रतिवेदन तयार पारे।

पोखरेलेको प्रतिवेदनलाई अस्वीकार गरेर इतर पक्षमाथि ओली हाबी भएपछि एमालेको मंगलबारको बैठक केही तनावपूर्ण समेत बनेको थियो। पार्टी पुनर्गठनको एजेन्डाको नेतृत्व गरिरहेका पोखरेल ओलीसँगको भेटपछि भने एकाएक नरम देखिएका हुन्। ओलीसँग सम्बन्ध बिग्रिएपछि एउटै मञ्च सेयर गर्न समेत छाडेका पोखरेललाई ओलीले गुण्डु बोलाएर मनाएका छन्।

यसरी ओलीको अघि नरम देखिनेमा उपाध्यक्ष विष्णु पौडेल पनि छन्। पौडेलले मंगलबारको बैठकमा नेतृत्व परिवर्तन भन्दा पनि चुनावको तयारीमा लाग्नुपर्ने अभिव्यक्ति बैठकमा दिए। ‘स्थानीय तहको चुनाव आउनै लागिसक्यो यो तयारी पनि गर्नुपर्ने छ। हामीभित्र केही प्रश्नहरू छन्। त्यसको हल त गर्नुपर्ला तर त्योभन्दा चुनाव पार्टी जीवनको लागि महत्त्वपूर्ण हो,’ पौडेलले बैठकमा भनेका थिए।

पौडेले पनि ओलीको राजीनामा मागेर पुनर्गठन पक्षधरको नेतृत्व गरिरहेका थिए। एघारौं महाधिवेशनमा ओली पक्षबाटै उपाध्यक्ष बनेका पौडेल एमाले चुनावमा पराजित भएसँगै ओलीलाई अध्यक्षबाट हटाउनका लागि सक्रिय थिए। तर, ओलीसँगमा पछिल्ला म्याराथन बैठकपछि पौडेल पनि ओलीप्रति नै नरम छन्।

योगेशप्रति ओली गरम

मंगलबारको बैठकमा उपमहासचिव योगेश भट्टराईले ओलीले राजीनामा गर्नुपर्नेबारे बोल्न खोजेपछि पूर्व जानकारी गराएर मात्रै धारणा राख्न भन्दै बैठकमा ओलीले रोकेका थिए।

त्यसपछि भट्टराईले आफ्नो लिखित धारणा नै प्रस्तुत गरे। आठ बुँदे धारणा भट्टराईले बैठकमा पेस गरेका छन्। इतर पक्षले ओलीको विरोधमा आवाज चर्को गरी बैठकमा उठाएको छ।  केन्द्रीय सदस्य ठाकुर गैरेले ओलीलाई केन्द्रीय समिति मात्रै नभई सचिवालय र पदाधिकारी नै बर्खास्त गर्न ओलीलाई चुनौती दिएका थिए।

‘कोही कसैले भनेको सुझाव केही नमान्ने हो भने महाधिवेशनबाट चुनिएका पदाधिकारी किन चाहियो। यो सबै खारेज गरेर अध्यक्ष एक्लैले पार्टी चलाउँदा पनि हुन्छ,’ गैरेले भनेका थिए।

ओलीमाथि कडा आलोचना गर्नेमा एमाले नेता कर्णबहादुर थापा पनि छन्। उनले बैठकमा ओलीले नवराजतन्त्र चलाउन खोजेको आरोप लगाए। ‘नवराजतन्त्र आएको पुष्टि भएपछि निरन्तर विरोधका लागि उभिइरहेको छु। जतिसुकै एकताको कुरा गरे पनि पार्टीमा म एउटै खाल्डोमा पुरिन तयार छैन,’ थापाले भनेका थिए।

ओलीको राजीनामा मागेर आक्रोशित हुनेमा कृष्णगोपाल श्रेष्ठ अर्का नेता हुन्। श्रेष्ठले ओलीले अधिनायकवाद चलाएको बैठकमा आरोप लगाए। ‘अध्यक्षलाई पेले भन्ने मै हुँ। तर त्यो भदौ २३ आउँदा खेरी खारेज भइसक्यो,’ उनले भने।

अर्का केन्द्रीय सदस्य आनन्द पोखरेलले ‘महासचिवको कुर्सी परिवर्तन, प्रतिवेदन पेस गर्न दिइएन। यसले विभाजनको सन्देश गइसक्यो’ भनेका थिए। 

विरोध रोक्न मोबाइल निषेध

यस पटक ओलीले बैठक सञ्चालनका लागि कडा नियम राखेका छन्। बैठकमा केन्द्रीय सदस्यलाई मोबाइल बाहिर नै राख्न भनिएको छ। ओलीले सम्बोधनकै क्रममा स्वयंसेवकलाई कुनै पनि सदस्यलाई बोल्न बैठकमा रोकटोकको महोल बन्न नदिन निर्देशन दिएका थिए।

एक जना केन्द्रीय सदस्यलाई तीन मिनेटको समय तोकिएको छ। उक्त तोकिएको समयभित्र पनि ओलीले बिचमै रोकेर सवाल जवाफसमेत गर्ने गरेका छन्। बैठकमा आफ्नो विरोध भएको रेकर्ड गरेर सार्वजनिक गर्ने गरेको भन्दै ओलीले केन्द्रीय सदस्यलाई अनुशासनमा बस्न निर्देशन दिएका छन्।

फरक दस्ताबेज राख्न प्रतिबन्ध

पार्टी बैठकहरूमा नेताहरूले आफ्नो फरक मत राख्न तथा फरक दस्ताबेज ल्याउने अभ्यास रहे पनि ओलीले भने प्रतिबन्ध लगाएका छन्। उनले पाँच वर्षमा एक पटक महाधिवेशनका बेला मात्रै पार्टीको नीति कार्यक्रममाथि समीक्षा हुने भएकाले अहिले कसैले लिखित रूपमा दस्ताबेज नल्याउन भनेका हुन्।

‘हाम्रो केन्द्रीय कमिटी फरक दस्ताबेज ल्याएर छलफल गर्ने पक्षमा छैन। पार्टीको रणनीति र कार्यनीतिबारे एक पटक मात्रै छलफल हुन्छ। योगेश भट्टराई र कर्णबहादुर थापालाई फरक मत ल्याउन मिल्दैन। उहाँहरूलाई दस्ताबेज केन्द्रीय सदस्यलाई बाँड्न छ,’ ओली निकट एमाले सचिव महेश बस्नेतले भने।