BIZMANDU
www.bizmandu.com

बालेनप्रति जेनजी सांसद र शहीद परिवारको आक्रोश, आन्दोलनको अपनत्व नलिएको आरोप

२०८३ भदौ २४

बालेनप्रति जेनजी सांसद र शहीद परिवारको आक्रोश, आन्दोलनको अपनत्व नलिएको आरोप
बालेनप्रति जेनजी सांसद र शहीद परिवारको आक्रोश, आन्दोलनको अपनत्व नलिएको आरोप


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहप्रति जेनजीहरुकै आक्रोश बढ्न थालेको छ। जेनजी आन्दोलनको ६ महिनामा भएको निर्वाचनमा करिब दुई तिहाइ बहुमत ल्याएर प्रधानमन्त्री बनेको ५ महिनामै बालेनप्रति असन्तुष्टि बढ्दै गएको हो।

Vigo
GBIME
Tata

जेनजी सांसद र शहीद परिवारको बालेनप्रतिको अविश्वास संसद्‍मै प्रकट हुन थालेको छ। बालेनले मंगलबार नयाँ वानेश्वरमा आयोजित जेनजी स्मृति सभामा अनुपस्थित भएका थिए। उनले फेसबुकमार्फत सामान्य श्रद्धान्जली व्यक्त गर्ने बाहेक आन्दोलनका शहीदलाई सम्बोधन गरेनन्।

यसलाई लिएर जेनजी शहीद रसिक खतिवडाकी आमा तथा प्रतिनिधि सभाकी सांसद् रचना खतिवडाले आक्रोश व्यक्त गरिन्। प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले)ले बालेनको आलोचना गर्दा बालेनको पक्षमा बलियो गरी बचाउ गर्ने खतिवडाले बुधबार भने आफैं आक्रोश व्यक्त गरेकी हुन्।

‘शहीदले न्याय कति वर्षमा पाउँछन् सरकार? शहीद र घाइते परिवार भेट्न कति वर्ष लाग्छ,’ बालेनलाई खतिवडाले सोधिन्। उनले औपचारिक वक्तव्य निकाल्न आग्रह गर्दा समेत बालेनले नमानेको बताइन्।

बालेनप्रति जेनजी सांसदले समेत आक्रोश पोखे। जेनजी अगुवा तथा रास्वपाका सांसद पुरुषोत्तम यादवले पनि सरकारले जेनजीसँग गरेको सम्झौता लत्याएको आरोप लगाए। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले २०८२ मंसिर २४ गते जेनजीहरुसँग शहीद र घाइतेका लागि परिपूरण, जेनजी परिषद् गठन लगायत १० बुँदे सहमति गरेकी थिइन्।

सहमति कार्यान्वयन गर्न बालेनले आलटाल गरेको भन्दै जेनजी प्रतिनिधिले विरोध जनाउँदै आएका छन्। सांसद यादवले प्रतिनिधि सभाको बैठकमा बालेनलाई पोहोर भदौ २३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गरिएको घटना सम्झाएका छन्। ‘भदौ २३ ले हामीलाई एउटा कुरा सिकाएको छ। सत्ता स्थायी हुँदैन तर जनताको आवाज, इतिहास सधैं जीवित रहन्छ,’ यादवले भने।

जेनजी अगुवा तथा घाइतेहरुले आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिनुपर्ने तथा जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आएका छन्। तर, माग बेवास्ता गरेको भन्दै जेनजी अगुवाहरु असन्तुष्ट छन्।

सत्तारुढ दल रास्वपाकी सांसद् रीमा विश्वकर्माले पनि जेनजी आन्दोलनको बलमा बनेको सरकार आन्दोलनको अपनत्व लिन उदासीन देखिएको आरोप लगाइन्।

‘राज्यले जेनजी आन्दोलनलाई फौजदारी अभियोगको चस्माबाट नह]री राजनीतिक वैधता दिनुपर्छ। शहीदप्रतिको वास्तविक सम्मान शहीद दिवसमा होइन, भदौ २३ र २४ को राजनीतिक मुद्दा प्रचलित कानुन बमोजिम फिर्ता गर्नु र बन्दी बनाइएका युवालाई अबिलम्ब रिहाइ गर्नुमा हुनेछ,’ रीमाले भनिन्।

रास्वपाका अर्का सांसद मनिष खनालले पनि बुधबार बालेनप्रति असन्तुष्टि व्यक्त गरे। बालेनको कार्यशैलीमाथि प्रश्न उठाएका खनालले सरकार जेनजी आन्दोलनको मर्मविपरीत चलेको बताए। ‘विद्रोहलाई आज पनि अपव्याख्या गरिनु गलत छ। यसको मर्मअनुसार काम थाल्नका लागि सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु,’ उनले भने।

वानेश्वरको स्मृति सभामा विवादित धर्मगुरुलाई सहभागी गराइएको विषयमा पनि आलोचना भइरहेको छ। विवादित धर्मगुरुलाई सहभागी गराएर आन्दोलनकै बदनाम गराएको भन्दै रास्वपाभित्रै विरोध भइरहेको छ।