BIZMANDU
www.bizmandu.com

छोरीज्वाइँमाथि अख्तियारले अनुसन्धान थालेपछि गुन्डु पुगेका प्रचण्डलाई ओलीले सुनाए आफ्नै गुनासो

२०८३ साउन २७

छोरीज्वाइँमाथि अख्तियारले अनुसन्धान थालेपछि गुन्डु पुगेका प्रचण्डलाई ओलीले सुनाए आफ्नै गुनासो
छोरीज्वाइँमाथि अख्तियारले अनुसन्धान थालेपछि गुन्डु पुगेका प्रचण्डलाई ओलीले सुनाए आफ्नै गुनासो


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्तिलाई लिएर आफ्ना छोरीज्वाइँमाथि अनुसन्धान थालेको सूचनासँगै पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगे।

Tata
GBIME

प्रचण्ड अनुसन्धानलाई मत्थर बनाउने आशासहित ओलीलाई भेट्न पुगेका थिए। सरकारले अहिले पूर्वप्रधानमन्त्रीसँग जोडिएर आर्थिक लाभ लिएकाहरुको सम्पत्तिबारे अनुसन्धान अघि बढाउन अख्तियारलाई भनेको छ।

सरकारले नै प्राथमिकता दिएका कारण अख्तियारले प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यमाथि अनुसन्धान थालेको छ।

अख्तियारले प्रचण्डका छोरीज्वाइँ मात्रै होइन, ओलीकै स्वकीय सचिव राजेश बज्राचार्यको समेत सम्पत्ति छानबिन गरिरहेको छ। अनुसन्धानका क्रममा राजेशको सम्पत्ति अस्वाभाविक देखिएपछि उनलाई पैसा दिएका केही व्यक्तिसँग समेत अख्तियारले बयान लिइसकेको छ।

उच्च स्रोतका अनुसार प्रचण्ड छोरीज्वाइँ माथिको अनुसन्धान रोक्नकै लागि सहयोग माग्न ओलीकहाँ पुगेका थिए। अख्तियार प्रमुख प्रेमकुमार राई ओली निकट मानिन्छन्। ओलीले आफू प्रधानमन्त्री भएका बेला २०७७ माघमा राईलाई अख्तियारको प्रमुख आयुक्त बनाएका थिए। त्यही कारण राईले ओलीले भनेको मान्ने बुझाइ प्रचण्डको थियो। स्रोतका अनुसार प्रचण्डले अनुसन्धान रोकिदिनका लागि राईलाई आग्रह गरिदिन ओलीलाई आग्रह गरे।

तर, ओलीले प्रचण्डलाई आफ्नै गुनासो सुनाए। स्रोतका अनुसार ओलीले आफ्नै स्वकीय सचिव राजेशमाथिको अनुसन्धान रोक्नका लागि अख्तियार प्रमुखलाई झोक्किंदै टेलिफोन गरेका थिए। ओलीले राईलाई ‘राजेशको किन मेरै अनुसन्धान गरेको भए हुन्थ्यो नि’ भनेका थिए।

राईले ‘त्यो पनि आवश्यक परे गरिन्छ’ भन्ने जवाफ दिएपछि ओली नाजवाफ भएको स्रोतले बतायो। ‘मैले राजेशको अनुसन्धान रोक्न भनेको थिएँ। उल्टै आवश्यक परे तपाइँको पनि अनुसन्धान गरिन्छ भन्ने जवाफ आयो,’ ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसमा मैले भनेर केही हुँदैन। मैले भनेको राईले मान्ने देखिएन।’

अख्तियार स्रोतका अनुसार राजेशमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। राजेशले घर किनेको स्रोत, बैंक ब्यालेन्स लगायत बारेमा अख्तियारले अनुसन्धान गरेको छ।

प्रचण्डका छोरीज्वाइँको भने केही समयअघिबाट अनुसन्धान अघि बढाइएको हो। अख्तियारले सम्पत्ति छानबिनका लागि नेपाल राष्ट्र बैंकलाई पत्र पठाउँदै बैंक लकर रोक्का राख्न भनेको छ।

स्रोतका अनुसार अख्तियारले सम्बन्धित भूमि प्रशासन कार्यालयमा पत्र पठाएर घरजग्गाको विवरण समेत मागेको छ। ती सबै विवरण हेरेर अनुसन्धान अघि बढाउने स्रोतले बतायो। स्रोतका अनुसार प्रचण्डका छोरीज्वाइँसँग बयान समेत लिने तयारी भइरहेको छ।

‘अख्तियारले विगतमा सत्ता नजिक बसेर अस्वाभाविक रुपमा सम्पत्ति आर्जन गरेका व्यक्तिहरुको अनुसन्धान अघि बढाइरहेको छ। सरुवा बढुवादेखि नीतिगत निर्णयमा प्रत्यक्ष रुपमा सहभागी भएका स्वकीय सचिवदेखि राजनीतिक व्यक्तिमाथि अनुसन्धान अघि बढेको छ,’ अख्तियार स्रोतले भन्यो, ‘पछिल्लो समयमा तीन राजनीतिक दलको उच्च नेतृत्वसँग जोडिएकाहरु अनुसन्धानको राडारमा छन्।’