काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर १० दिनभित्र नियुक्त गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गभर्नर डा. विश्वनाथ पौडेलसँग छलफल गरेर केही दिनमै नाम टुङ्ग्याउने तयारी गरेका छन्।
गभर्नरले सोझै प्रधानमन्त्रीलाई भेटेर आफूलाई चुनौती दिएको महशुस गरिरहेका अर्थमन्त्री वाग्लेले पनि गभर्नरलाई ‘देखाइदिने’ शैलीमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतदेखि राष्ट्र बैंकका १८ जनै कार्यकारी निर्देशकसँग छलफल गरेका थिए।
गत बुधबार बिहान १८ मध्ये १२ जना कार्यकारी निर्देशकका कुरा सुनेका वाग्लेले दिउँसो मन्त्रिपरिषद् बैठकका कारण बाँकी ६ जनासँग साँझ कार्यकक्षमै छलफल गरेका थिए।
साँझको बैठकमा अर्थमन्त्री वाग्लेले आफूले डेपुटी गभर्नरका उम्मेदवारसँग छलफल गर्न चाहेको बताएका थिए। अर्थमन्त्रीले राष्ट्र बैंकको स्वायत्तता मिचेको आरोप लागेपछि उनले कार्यकारी निर्देशकहरु डा. डिल्लीराम पोखरेल, गुरु पौडेल, रेवती नेपाल, अनुज दाहाल, मुक्ति सापकोटा र विश्रुत थापासँग भने- डेपुटी गभर्नर नियुक्त गर्ने बेला पनि भएको छ। त्यही भएर सबैसँग कुरा गरौं भनेर पनि डाकेको हुँ।

बिहान उनले राष्ट्र बैंकलाई नियामकमा मात्र सीमित नराखेर आर्थिक रुपान्तरणको सारथिका रुपमा हेर्न चाहेको भन्दै छलफल सुरु गरेका थिए।
राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर हुन्छन्। सरकारले गत चैत २४ गते किरण पण्डितलाई डेपुटी गभर्नर बनाएकामा अर्को पदमा तीन महिनापछि नियुक्त गर्ने त्यसबेलै बताइएको थियो।
डेपुटी गभर्नरको सिफारिस गभर्नरले गर्ने र मन्त्रिपरिषद्ले नियुक्त गर्ने कानुनी प्रबन्ध छ। तर, गभर्नरको सिफारिस कर्मकाण्डीजस्तै बनेको छ।
चैत २४ गते गभर्नर पौडेलले दुई जना डेपुटी गभर्नर नियुक्त गर्न चार जनाको नाम बोकेर गएका थिए। राष्ट्र बैंकमा एक जना वरिष्ठ डेपुटी गभर्नर हुन्छन्। वरिष्ठताको सूचीमा पण्डित र अर्का एक कार्यकारी निर्देशकको नाम सिफारिस गरिएको थियो।
गभर्नरले अर्का डेपुटी गभर्नरका लागि पनि दुई नाम सिफारिस गरेका थिए। तर, मन्त्रिपरिषद्ले अर्को सूचीमा भएको नामलाई अगाडि बढाएन। जबकी दुई जना डेपुटी गभर्नर सँग नियुक्त हुन्छन् भन्नेमा गभर्नर विश्वस्त थिए।
स्रोतका अनुसार, १८ मध्ये ६ जना मूख्य प्रतिस्पर्धी छन्। रामु पौडेल, गुरु पौडेल, डा. सत्येन्द्र तिमिल्सिना, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल र गोविन्दप्रसाद नागिलामध्येबाट डेपुटी गभर्नर छानिने स्रोतको दाबी छ।
उच्च स्रोतका अनुसार, गभर्नर पौडेल पहिले नै आफूले बुझाएको सूची परिवर्तन गर्ने पक्षमा छैनन्। त्यो सूचीमा अहिले प्रतिस्पर्धामा रहेकामध्ये दुई जनाको पनि नाम छ। यद्यपी गभर्नरले बुझाएको नामप्रति प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री वाग्लेलाई आपत्ति भने छैन।
‘अहिलेको सरकारमा बसेकाहरुको बुझाइ नै कस्तो भइदियो भने कांग्रेस र एमालेले आफूलाई भाग पुर्याउन दुई जना डेपुटी गभर्नर हुने व्यवस्था गरेका हुन्। त्यही भएर सरकारले एक जनालाई मात्र नियुक्त गर्यो,’ उच्च स्रोतले भन्यो, ‘भाग पुर्याउन दुई जनाको व्यवस्था वास्तविक होइन। ऐनमै दुई जनाको व्यवस्था छ। फेरि राष्ट्र बैंकमा धेरै वटा समिति हुने भएकाले एक जना डेपुटी गभर्नरबाट मात्र काम गर्न सम्भव नै हुँदैन।’
स्रोतका अनुसार, वरिष्ठ डेपुटी गभर्नरका लागि पण्डितसँगै सिफारिस गरिएका ती कार्यकारी निर्देशकलाई पुन: अर्को डेपुटी गभर्नरमा पनि सिफारिस गर्न मिल्ने/नमिल्ने अन्योल छ। यसबाहेक पहिले सिफारिस भएका अर्को क्लस्टरका दुबै जना अब नपर्न सक्छन्। ‘एउटा नाम जसरी पनि पर्छ नै। अर्को नाम भने काटिने सम्भावना उच्च छ,’ स्रोतले भन्यो।
अर्थमन्त्री वाग्लेलाई नकारात्मक रुपमा चिनाइएका केही कार्यकारी निर्देशक बुधबारको भेटपछि सकारात्मक सूचीमा परेका छन्। त्यसैले गभर्नरले सिफारिस गर्ने नाममध्ये एक जना अर्थमन्त्रीको चाहना अनुसार हुने छन्।