BIZMANDU
www.bizmandu.com

वालेन शैलीविरुद्ध रास्वपाकै सांसद आक्रामक, ‘सरकार चलाउने ढंग पुगेन’

२०८३ साउन २२

वालेन शैलीविरुद्ध रास्वपाकै सांसद आक्रामक, ‘सरकार चलाउने ढंग पुगेन’
वालेन शैलीविरुद्ध रास्वपाकै सांसद आक्रामक, ‘सरकार चलाउने ढंग पुगेन’


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश चर्किन थालेको छ। सरकारप्रतिको आक्रोश प्रतिपक्षमा मात्र होइन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाटै व्यक्त हुन थालेको हो।

Tata
GBIME

सरकार गठनको चार महिनासम्म पनि शाहले अपेक्षित रूपमा शासकीय सुधार गर्न नसकेको भन्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै शाहमाथि प्रश्न उठाउन थालेको हो। सरकारविरुद्धको बढ्दो आक्रोश र बिजनेश अभाव भएपछि सभामुख डोलप्रसाद अर्यालले असार ३१ गते दुई साताका लागि बैठक नै स्थगित गरेका थिए। 

सरकारले आफ्नो कार्यशैली सुधार्नुको साटो झिना मसिना काममै अल्झिन थालेपछि सरकारप्रतिको आक्रोश बढ्दो छ। शुक्रबारको प्रतिनिधि सभा बैठकको अधिकांश समय सरकारको आलोचनामा मात्रै केन्द्रित भएको थियो।

रविन्द्र पटेल

सत्तारुढ सांसदले मागे मन्त्रीको राजीनामा

रास्वपाका सांसदहरुका साथै शीर्ष नेताहरु नै सरकारका गतिविधिप्रति रुष्ट छन्। रास्वपाका सांसद रविन्द्र पटेलले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको राजीनामा मागे। मन्त्रीको राजीनामा मागेपछि रास्वपा सांसद पारसमणि गेलाललगायतले टेबल ठोकेर समर्थन जनाए।

सरकारका मन्त्रीप्रति आक्रामक देखिनेमा रास्वपाका सांसदहरुको संख्या बढ्दै गएको छ। सरकार गठनको केही महिनामा सरकारको बचाउमा मात्रै केन्द्रित भएका सांसद समेत आलोचनामा उत्रिएका हुन्।

पूर्ववर्ती सरकारले चलाएको स्वास्थ्य बीमा राम्ररी सञ्चालन गर्न नसकेको भन्दै रास्वपाका सांसदले प्रधानमन्त्री शाहको आलोचना गरे। ‘आज गरिब नागरिकहरु सोधिरहेका छन्, सरकार मेरो स्वास्थ्य बीमा कहाँ गयो?,’ रास्वपा सांसद यज्ञमणि न्यौपानेले भने।

सरकारले नागरिकको पीडा महसुस गर्न नसकेको तथा चुनावका वाचा अनुसार काम नगर्दा आफू लज्जित भएको रास्वपाका अर्का सांसद रमेश प्रसाईंको टिप्पणी छ।

‘चुनावमा हामीले नो लाइन, रास्वपाको पालामा ओन्ली अनलाइन भनेर गरेको भाषण सम्झिंदा र आज भात पकाउने ग्यासका लागि जनता मध्यरातसम्म लाइन बसेको दृष्य देख्दा मलाई चाहिं साँच्चिकै लाज लागेको छ,’ प्रसाईंको आक्रोश छ।

मधेश संकट बल्झिन सक्छ!

केही समयअघि मधेशमा देखिएको हिन्दू-मुस्लिम धार्मिक द्वन्द्व रास्वपाका सभापति रवि लामिछानेको सक्रियतामा समझदारीमा पुगेको थियो।

प्रधानमन्त्री शाहले सुरुमा मधेश संकट समाधानको पहल नै गरेका थिएनन्। उनको सत्ता संकटमा परिसकेको थियो। मधेशबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरुले फेरि पनि मधेश संकट बल्झिन सक्ने चेतावनी दिइरहेका छन्।

शुक्रबार प्रतिनिधि सभाको विषेश समयमा सांसद मनिष झाले शाहलाई मधेशमा विरोधको आक्रोश जतिखेर पनि चर्किनसक्ने भएकाले सचेत रहन चेतावनी दिए।

‘मधेसमा भर्खरै आगो बल्यो, हामीले जसोतसो निभाउन सक्यौँ। तर, म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु- आगो निभेको हो, दाउरा निभेको छैन। त्यसैले गर्दा सचेत भइराख्नुस्,’ शाहलाई उनले भने।

शाहको आलोचनामा रास्वपाकै सांसदहरुले टेबल बजाएर झाको भनाइमा समर्थन जनाए।

सरकार सञ्चालनको शैली समेत सुधार्नुपर्ने रास्वपाका नेताहरुको निचोड छ। झाले सरकारको कालो चस्मा हटाउनुपर्ने धारणा राखेपछि रास्वपाका सांसदहरुले टेबल ठोकेका थिए।

झाले सरकारको नियतमा आफ्नो प्रश्न नभए पनि सत्ता सञ्चालनमा ढंग भने नपुगेको बताए। ‘हामीले हाम्रो सवारीसाधनको कालो सिसा त हटायौँ, कालो स्टिकर त हटायौँ। अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ, त्यो पनि आवश्यक छ,’ झाले भने।

मनिष झा

सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन नसकेकोप्रति रास्वपाभित्र असन्तुष्टि छ। प्रहरी देखाएर उद्योगी तथा व्यवसायीलाई सरकारले तर्साइरहेको रास्वपाका नेताहरुको बुझाइ छ।

अर्थमन्त्री स्वर्णिम वाग्ले समेत आर्थिक सुधारमा चुक्दै गएको झाको भनाइ छ। ‘प्रहरी देखेएपछि म सुरक्षित छु भन्ने सोच्नुपर्ने नागरिकहरू प्रहरी देखेर तर्सिन्छन्, कुन बेला धरपकड गर्ला? कुन बेला मेरो घरमा छापा मार्ला भनेर। त्यसैले गर्दा निजी क्षेत्रलाई आत्मविश्वास दिनुस् न,’ उनले भने, ‘भएको पैसा खर्च गर्न दिनुस्, बैङ्कमा भएको पैसा लगानी गर्न दिनुस्, त्यो वातावरण दिनुस्, त्यो आवश्यक छ। अर्थ मन्त्रालयबाट केही प्रयासहरू भइराखेको छ तर त्यो प्रयास पेपरमा मात्र देखिएको छ, व्यवहारमा देखिएको छैन।’

विपक्षीलाई मिल्दै बल

सत्तारुढ दलको झन्डै दुई तिहाइ रहेको प्रतिनिधि सभामा बालेनका लागि सत्ता टिकाउन कुनै अप्ठेरो छैन। तर, पछिल्लो समय रास्वपाभित्र असन्तुष्टि बढ्दै गएपछि विपक्षी दलहरुलाई सरकारविरुद्ध उत्रन बल मिलेको छ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतले जेठ १७ गते बालेनले संसद्मा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनेकोप्रति माफी माग्नुपर्ने मागलाई चर्काउँदै लगेका छन्। संसद्मा जवाफ नदिएको र प्रतिनिधि सभा नियमावली अनुसार प्रश्नोत्तरका लागि तयार नभएपछि रास्वपाभित्रै बालेनविरुद्ध चर्को आक्रोश छ।

सभामुख अर्यालले समेत दुई पटक शाहलाई भेटेर संसद्मा आउन आग्रह गरेका थिए। संसदीय अभ्यासको ख्याल नगरेरै शाहका अघि अर्यालले अनुनय गरे पनि शाह भने आफ्नो अडानमा टसमस छैनन्। सभामुख अर्यालले प्रधानमन्त्री शाहका विषयमा रास्वपाका शीर्ष नेताहरुसँग असन्तुष्टि जनाएका छन्। शाहले समेत संसदको मर्यादा राख्नुपर्ने बताएका छन्। शाहले लगाउने कालो चस्मा समेत अबका बैठकमा लगाउन नमिल्ने र उक्त विषय कार्यान्वयनको जिम्मा रास्वपा संसदीय दलले लिनुपर्ने अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमा बताएका थिए।

सरकार गठनको सुरुवाती बैठकहरुमा रास्वपाका सांसदहरु सरकारका पक्षमा उत्रिने गरेका थिए। पछिल्लो समय सरकारको बचाउमा सांसदहरुको उपस्थिति कमजोर हुँदै गएको छ।

सरकारका मन्त्रीहरुको जवाफमा समेत रास्वपाकै सांसदहरुले चित्त बुझाइरहेका छैनन्। एलपी ग्यास अभावको संकट समाधानका लागि आयातमा कोटा बढाउन भारतसँग कूटनीतिक पहल सुरु गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीको जवाफमा पनि रास्वपाका नेताहरु सन्तुष्ट बनेनन्। उनीहरुले सरकरले ठोस पहल गर्न नसकेको बताइरहेका छन्।