BIZMANDU
www.bizmandu.com

२० अर्ब लागतको पश्चिम सेती प्रसारण लाइन बनाउने लाइसेन्सका लागि आरपीजीसीएलको निवेदन

२०८३ साउन २०

२० अर्ब लागतको पश्चिम सेती प्रसारण लाइन बनाउने लाइसेन्सका लागि आरपीजीसीएलको निवेदन
२० अर्ब लागतको पश्चिम सेती प्रसारण लाइन बनाउने लाइसेन्सका लागि आरपीजीसीएलको निवेदन


काठमाडौं। सुदूरपश्चिमको विद्युत् प्रवाह चुस्त बनाउन २० अर्ब रुपैयाँ लागतको बझाङ-बनलेक (पश्चिम सेती) ४०० केभी प्रसारण लाइन निर्माणका लागि लाइसेन्स माग गर्दै राष्ट्रिय प्रसारण ग्रिड कम्पनी (आरपीजीसीएल)ले विद्युत विकास विभागमा आवेदन दिएको छ।

Tata
GBIME

बझाङको जयपृथ्वी नगरपालिका-१ स्थित चैनपुर सबस्टेसनदेखि डोटीको शिखर नगरपालिका-१० स्थित बनलेक सबस्टेसनसम्मको ६० किलोमिटर खण्ड निर्माणका लागि लाइसेन्स माग्दै आरपीजीसीएलले आवेदन दिएको हो।

डबल सर्किट प्रसारण लाइनले ४००,००० भोल्ट र २५०० मेगावाट विद्युत प्रवाह गर्नेछ। प्रसारण लाइन आयोजना अन्तर्गत ४००/१३२ केभी, १६० एमभीए क्षमताको चैनपुर सबस्टेसन तथा ४००/१३२ केभी, ३१५ एमभीए क्षमताको बनलेक (पश्चिम सेती) सबस्टेसन समेत निर्माण गरिनेछ।

यसका लागि जग्गा प्राप्ति र आयोजनाको सर्वेको काम सम्पन्न भइसकेको छ।

प्रसारण लाइन‍मा १४३ वटा डबल सर्किट टावर निर्माण गरिने छन्। टावरको अधिकतम उचाइ ६१ मिटर तथा टावरबीचको औसत दूरी ४०८.९९ मिटर र न्यूनतम दूरी १२७.७९ मिटरसम्म हुनेछ।

प्रसारण लाइन निर्माणका लागि कूल २९५.४२३ हेक्टर जमिन आवश्यक पर्नेछ। जसमध्ये टावर निर्माणका लागि ३०.४१५ हेक्टर र विद्युत मार्गको क्षेत्राधिकार (राइट अफ वे) अन्तर्गत २६५.००८ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ।

सबस्टेसन निर्माणका लागि कुल २१.४१५ हेक्टर जग्गामध्ये ७.०४३ हेक्टर बनलेक सबस्टेसनका लागि र १४.३७२ हेक्टर चैनपुर सबस्टेसनका लागि आवश्यक पर्नेछ।

प्रसारण लाइनको क्षेत्राधिकार (आओडब्लू) विद्युत नियमावली २०५० मा तोकिए बमोजिम न्यूनतम दूरीमा नघटाई प्राविधिक दृष्टिकोणबाट ४६ मिटर (मध्य विन्दुबाट २३/२३ मिटर दायाँबायाँ) कायम गरिनेछ।

कम्पनीको आवेदन पछि विभागले आयोजनाबाट पर्न सक्ने असरबारे जानकारी गराउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

६ कम्पनीले गर्दैछन् लगानी

यो प्रसारण लाइन सार्वजनिक-निजी साझेदारी अन्तर्गत निर्माण गर्न ‘पश्चिम वेस्ट-सेती ट्रान्समिसन लिमिटेड’ कम्पनी खडा गरिसकिएको छ।

२० अर्ब रुपैयाँ लागत अनुमान गरिएको प्रसारण लाइन ३० प्रतिशत पुँजी र ७० प्रतिशत ऋण जुटाएर निर्माण गरिनेछ।

प्रसारण लाइन निर्माणका लागि कम्पनीमा सरकारको ५१ प्रतिशतमध्ये राष्ट्रिय प्रसारण ग्रिड कम्पनी (आरपीजीसीएल)ले २६ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनी चिलिमे जलविद्युत र चैनपुर सेतीले १२.५/१२.५ प्रतिशत सेयर लगानी रहनेछ।

निजी क्षेत्रका तर्फबाट ३ वटा कम्पनीको ४९ प्रतिशत लगानी रहनेछ। समृद्धि इनर्जी लिमिटेडले सबैभन्दा धेरै २५.१ प्रतिशत तथा ङादी ग्रुपपावर लिमिटेडले ७ प्रतिशत र सिउरी न्यादी पावर लिमिटेडले ६.९ प्रतिशत लगानी गर्नेछन्।

प्रसारणलाइन ५ वर्षमा बनाउने भनिएको छ।

यो प्रसारण लाइनमार्फत ७५० मेगावाटको पश्चिम सेती हाइड्रोपावर, ४५० मेगावाटको सेती नदी-६ हाइड्रोपावर र १७० मेगावाटको अपर सेती हाइड्रोपावरबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ।