काठमाडौं। चौतर्फी आलोचनापछि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सवारी तथा यातायात व्यवस्था विधेयकको मस्यौदा फिर्ता मागेका छन्। उनले रायका लागि कानुन मन्त्रालय पुगेको मस्यौदा फिर्ता मागेका हुन्।
ट्राफिक नियम उल्लंघनप्रति निर्मम बन्ने भन्दै लम्सालले मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै सवारी तथा यातायात व्यवस्था विधेयकको मस्यौदा तयार पार्न लगाइ मापसे गरेर सवारीसाधन चलाउनेलाई ५० हजारसम्म जरिवाना लाग्ने व्यवस्था प्रस्ताव गरेका थिए। यस्तै ओभर स्पिड गरेर सवारीसाधन चलाउनेलाई पनि ५० हजारसम्म जरिवाना गर्ने प्रस्ताव राखिएको थियो।
तर मस्यौदामा गरिएको प्रस्तावलाई लिएर चौतर्फी विरोध भएपछि लम्सालले कानुन मन्त्रालय पुगेको विधेयकको मस्यौदा फिर्ता मागेको मन्त्रालय स्रोतले बतायो।
‘मन्त्रीज्यूले विधेयकको मस्यौदा कानुन मन्त्रालयबाट फिर्ता गर्न भन्नुभएको छ। उहाँको सचिवालयका सदस्यले प्रक्रिया अगाडि बढाएका छन्,’ स्रोतले भन्यो।
जरिवाना धेरै प्रस्ताव गरेकामा चर्को विरोध भएका कारण घटाउनका लागि मस्यौदा फिर्ता मागिएको स्रोतको भनाइ छ।
‘अब जरिवाना घटाएर राखिनेछ। अहिले प्रस्ताव गरिएको जरिवाना धेरै भएको मन्त्रीज्यूले पनि फिल गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘५० हजार जरिवाना हाम्रो सन्दर्भमा व्यवहारिक नहुने कुरा उठेपछि मन्त्रीज्यू घटाउनका लागि तयार हुनुभएको छ।’
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा हाल मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई ५०० देखि १५०० रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। मन्त्रालयले नयाँ सरकार आउनुअघि विधेयकको मस्यौदामा त्यस्तो जरिवाना १५ हजारसम्म राख्ने प्रस्ताव गरेको थियो।
त्यो मस्यौदामा मन्त्री लम्सालले नै जरिवाना रकम ५० हजारसम्म राख्न लगाएका थिए।
चालकले मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाएमा दुई पाङ्ग्रे वा तीन पाङ्ग्रेको हकमा २५ हजार, साना सवारी साधनको हकमा ३५ हजार र मझौला तथा ठूला सवारी साधनको हकमा ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ।
सम्बन्धित सवारीधनीले दोस्रो पटक मापसे गरेमा ५० प्रतिशत र सोभन्दा बढी पटक गरेमा सतप्रतिशत थप जरिवाना हुने व्यवस्था पनि प्रस्ताव गरिएको छ।