काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिजको प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही समयमा नै बाहिरिएको छ।
शुक्रबार भएको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जाल ह्वाटसएप ग्रुपमार्फत बाहिरिएको हो। यो ग्रुप ‘एमबीएस फर्स्ट सेम, सेक्सन सी’ नाममा तयार पारिएको थियो। एक हजार २३ जना रहेको समूहमा प्रश्नपत्र बाहिरिएपछि अहिले प्रहरीले अनुसन्धान थालेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) र साइबर ब्युरो लगायतले अनुसन्धान गरिरहेका छन्।
जसमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान समेत थालेको छ। शुक्रबार दिउँसो १२ बजेतिर भएको परीक्षाको प्रश्नपत्र त्यसको पाँच मिनेटमा नै ग्रुपमा पुगेको थियो। त्यसपछि त्यसको उत्तर समेत ग्रुपमा नै पठाइएको अनुसन्धानमा खुलेको छ। ग्रुप सदस्यले प्रश्नपत्र समेत पठाउन म्यासेज गरेपछि एक व्यक्तिले उत्तर समेत पठाएको देखिन्छ।
‘सुलभ सर’ भन्ने व्यक्तिले यसको उत्तर पठाएको देखिएको छ। प्रश्न पत्र समाजिक सञ्जालमा आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले पनि अनुसन्धानमा अग्रसरता देखाएका थिए। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफ्नो निकायलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।
‘ग्रुपबाट नै लिक भएको देखिएको छ। यसमा थप अनुसन्धान साइबर ब्युरोले गरिरहेको छ,’ नेपाल प्रहरीका प्रवक्ता डीआइजी अविनारायण काफ्लेले भने।
गत वैशाख १४ गते कक्षा १२ को परीक्षा पत्र पनि यसै गरी ‘आउट’ भएको थियो। परीक्षा सुरु हुनुभन्दा ९ मिनेट अगाडि नै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको थियो। यस्ता घटनामा विद्यालयका शिक्षक, विद्यार्थीदेखि अन्यको संलग्नता भएको देखिएको छ। ५ मिनेट अगाडि आउट भएको प्रश्नपत्र सामाजिक सञ्जालमा खोलिएका विभिन्न ग्रुपहरू मार्फत परीक्षार्थीसम्म पुगेको देखिन्छ।
प्रहरीले सो घटनामा संलग्न चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा निराजन शाही, प्रेमकुमार श्रेष्ठ, सन्तोष बन्जारा र आश्विन अधिकारी रहेका छन्। शाही चाबहिलको विनायक कलेजमा काउन्सिलरको रूपमा काम गर्दै आएका व्यक्ति रहेको खुलेको छ। सन्तोष बन्जारा पनि सोही कलेजका एकाउन्ट विषयका शिक्षक हुन्।
शुक्रबारको प्रश्नपत्रको घटनालाई लिएर विद्यार्थी संगठन स्ववियु र त्रिविका डीनको राजीनामा समेत मागेका छन्।
परीक्षा नियन्त्रण महाशाखाले यो घटनाको छानबिन गर्न आइतबार प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरेको छ। समितिको सदस्यमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा छन्।
समितिलाई छानबिन सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।