BIZMANDU
www.bizmandu.com

सेयर बजारमा नयाँ सरकार बनेयताकै धेरै वृद्धि, बालेन र विश्वको भेटपछि लगानीकर्ता उत्साही

२०८३ साउन १

सेयर बजारमा नयाँ सरकार बनेयताकै धेरै वृद्धि, बालेन र विश्वको भेटपछि लगानीकर्ता उत्साही
सेयर बजारमा नयाँ सरकार बनेयताकै धेरै वृद्धि, बालेन र विश्वको भेटपछि लगानीकर्ता उत्साही


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलको भेटपछि सेयर बजारमा हरियाली छाएको छ।

Tata
GBIME

सेयर बजार लगातार घटेर लगानीकर्ता प्यानिक भइरहेका बेला प्रधानमन्त्री बालेनले गभर्नर पौडेललाई बोलाएर बजारकै विषयमा छलफल गरेको भोलिपल्ट शुक्रबार नेप्सेमा हरियाली छाएको हो।

आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन सेयर बजार सूचक ७९.७४ अंकले उकालो लागेको छ। नेप्से नयाँ सरकार गठन भएयता साढे तीन महिनायताकै उच्च अंकले बढेको हो। सूचक २६७७.५४ विन्दुमा पुगेको छ।

बालेनको नेतृत्वमा गत चैत १३ गते सरकार गठन भएयता सेयर बजार ३६३ अंकले घटेर २५६० अंकसम्म आएको थियो।

लगानीकर्ताले करिब ६ खर्ब रुपैयाँको सम्पत्ति गुमाएपछि बालेनले बिहीबार गभर्नरलाई बोलाएर सरकार लगानीकर्ताको मनोबल कमजोर बनाउने पक्षमा नरहेको बताएका थिए।

स्टक ब्राेकर्स एसाेसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले प्रधानमन्त्री र गभर्नरबीचको भेटका साथै थप तीन कारण सेयर बजार बढेको बताए।

‘४ वटा कुराले बजार बढयो। प्रधानमन्त्रीज्यूले गभर्नरलाई बोलाएर बजार सुधारका बारेमा राखेको चासोले लगानीकर्ताको कन्फिडेन्स बढेको छ। धितोपत्र बोर्डले बजार सुधारका लागि लिन खोजेको अग्रसरता पनि कारण हो,’ उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएको व्यवस्था कार्यान्वयनका लागि दिएको निर्देशनले पनि काम गरेको छ।’

सबल कम्पनीको सेयर धितोमा लगानीकर्ताले ८०% सम्म ऋण पाउने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पनि प्रधानमन्त्रीको इनिसियसनपछि बजारमा सकारात्मक प्रतिक्रिया देखिएको बताए।

‘प्रधानमन्त्रीले बढी इनिसियट गरेपछिको प्रतिक्रिया देखिएको हो। यसअघि मार्जिनको प्रेसर थियो। क्लोजिङ सकिएपछि त्यो कम भएर लगानीकर्ताले किन्न सुरु गरे,’ उनले बिजमाण्डूसँग भने, ‘संस्थागत लगानीकर्ताले किन्न सुरु गरेका छन्।’

सम्पत्ति छानबिन आयोगले आफ्ना काम कारबाही तत्कालका लागि रोकेको सूचनाको प्रभाव पनि बजारमा परेको ब्रोकरहरुको भनाइ छ।

‘आयोगमा सम्पत्ति विवरण बुझाउनु पर्ने भएका कारण सेयरमा लगानी गर्दै आएका अवकाशप्राप्त कतिपय कर्मचारी डराएका थिए। उनीहरुले बजारबाट धमाधम हात झिकिरहेका थिए। तर आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार तत्कालका लागि छानबिनको काम स्थगित गर्ने भनेपछि लगानीकर्तामा एक किसिमको उत्साह देखिएको छ,’ एक ब्रोकरले भने।

शुक्रबार म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक बढेको छ। हाइड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र फाइनान्सको सूचक सबैभन्दा धेरै बढेको छ। बजारमा २५९ कम्पनीको सेयर मूल्य बढेको छ।

दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। श्रीनगर एग्रिटेक र सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

बजारमा ४ अर्ब ५७ ‍करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ। आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै २२ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, कर्पोरेट विकास बैंकको १७ करोड ७३ लाख, रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ।

बजारमा १३ कम्पनीको सेयर मूल्य घटेको छ। आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।