BIZMANDU
www.bizmandu.com

कृष्णहरि प्रकरणपछि मुख्यसचिवका लागि राजनीतिक लबिङ ठप्प, बालेनको रोजाइमा को पर्लान्?

२०८३ असार २४

कृष्णहरि प्रकरणपछि मुख्यसचिवका लागि राजनीतिक लबिङ ठप्प, बालेनको रोजाइमा को पर्लान्?
कृष्णहरि प्रकरणपछि मुख्यसचिवका लागि राजनीतिक लबिङ ठप्प, बालेनको रोजाइमा को पर्लान्?


काठमाडौं। मुख्यसचिव सुमनराज अर्यालले उमेर हदका कारण असार २६ गते अनिवार्य अवकाश पाउने भएका कारण सरकारले निजामती प्रशासनको नयाँ कमाण्डर कसलाई बनाउला भन्ने चासो बढेको छ।

Tata
GBIME
Nepal Life

पुराना राजनीतिक दल सत्तामा रहेका बेला पदावधि सकिनु केही महिना अघिदेखि नै सचिवहरु लबिइङमा लाग्ने गरेकामा यसपालि दौडधुप देखिएको छैन।

राजदूत बनाउन म्यासेज पठाएकै आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले एक महिनाअघि सचिव कृष्णहरि पुष्करलाई करिब ८ घण्टा प्रहरी नियन्त्रणमा राखेपछि झस्किएका सचिवहरु त्यसपछि लबिइङ गर्न डराएका हुन्। बालेनले त्यतिखेर उपराष्ट्रपति कार्यालयबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा पेन्डिङमा राखेका पुष्करले ५ वर्षे पदावधिका कारण बुधबार अवकाश पाएका छन्।

स्रोतका अनुसार बालेन नेतृत्वको सरकारले यसअघि गरेको राजनीतिक नियुक्तिमा आफू निकटहरुलाई पद दिलाउन सफल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले मुख्यसचिवमा भने आँखा लगाएका छैनन्। उनले आफूले मुख्यसचिवका लागि कसैलाई पनि काँध नहाल्ने सन्देश दिइसकेका छन्।

प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने पद भएकाले बालेनको रोजाइ अनुसार मुख्यसचिव छान्नुपर्नेमा रवि स्पस्ट छन्। ‘मुख्यसचिव बन्नका लागि विगतमा जस्तो सत्तारुढ दलको नेतृत्वलाई रिझाउने होडमा यसपालि सचिवहरु लागेको जानकारी अहिलेसम्म पाएका छैनौं,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।

राजनीतिक लबिइङ गरेको सुइँको मिलेमा उल्टै ‘ब्ल्याक लिस्ट’मा पर्ने भयका कारण सचिवहरुले ईच्छा समेत प्रकट गर्न सकिरहेका छैनन्। कतिपय सचिवले त ‘अनप्रेडिक्टेबल’ निर्णय पनि गर्नुपर्ने भएकाले मुख्यसचिवमा रुची नरहेको समेत आफू निकटहरुलाई बताएका छन्।

हालका मुख्यसचिव अर्याल वरिष्ठतामा पहिलो नम्बरमा रहेका आधारमा गत मंसिर ८ गते बढुवा भएका थिए। मुख्यसचिवको कार्यकाल ३ वर्षको हुने भए पनि उनले ५८ वर्षे उमेर हदका कारण शुक्रबार अवकाश पाउन लागेका हुन्।

बहालवाला सचिवहरुमध्येबाट मुख्यसचिव बनाउने व्यवस्था छ। यसअघिका सरकारले कहिले वरिष्ठताका आधारमा त कहिले कार्यकुशलताका नाममा निकटताका आधारमा मुख्यसचिव बनाउने गरेका थिए। बालेन नेतृत्वको सरकारले वरिष्ठतालाई आधार मान्छ कि प्रधानन्यायाधीश नियुक्तिमा जस्तै क्रमभंगता गर्छ? भन्नेमा निजामती प्रशासनभित्र व्यापक चासो छ।

वरिष्ठताका आधारमा प्रधानमन्त्री कार्यालयमा कार्यरत किरणराज शर्मा पहिलो नम्बरमा छन्। उनले सचिवको ५ वर्षे पदावधिका कारण साउन ४ गते अवकाश पाउँदैछन्। मुख्यसचिवमा बढुवा भएको अवस्थामा उनले उमेर हदका कारण २०८४ कात्तिक मसान्तमा बिदा पाउनेछन्।

स्रोतका अनुसार शर्मा बलियो दाबेदार हुन्। उनले रक्षा मन्त्रालयमा रहँदा नेपाली सेनासँग निकट भएर काम गरेका थिए। उनी प्रभुराम शर्मा प्रधानसेनापति भएका बेला रक्षा सचिव थिए।

शर्मापछि प्रधानमन्त्री कार्यालयमै एक महिनादेखि अतिरिक्त समूहमा राखिएका हरिप्रसाद मैनाली, डा. गोविन्दप्रसाद शर्मा र डिल्लीराम शर्मा वरिष्ठताका आधारमा अगाडि छन्।

मुख्यसचिवमा बढुवा नभएको अवस्थामा ५ वर्षे पदावधिका कारण मैनालीले साउन १९, गोविन्दप्रसादले साउन २४ र डिल्लीरामले भदौ ३ गते अवकाश पाउनेछन्।

तर कतिपय सचिवले मुख्यसचिवको चाहना त्यागिसकेका छन्।

प्रधानमन्त्री बालेनको सचिवालयका एक सदस्यका अनुसार सकेसम्म पूरै अवधि बहाल रहन सक्नेलाई मुख्यसचिव बनाउने तयारी छ। ‘सकेसम्म तीन वर्ष नै काम गर्ने उमेर भएका सचिवलाई मुख्यसचिव बनाउने कि भन्ने छ। वरिष्ठता नमिच्ने भन्ने पनि छ। कसलाई बढुवा गर्ने भन्ने यकिन भइसकेको छैन,’ ती सदस्यले भने।  

अरु प्रतिस्पर्धी को-को?

वरिष्ठतालाई आधार नमानेको अवस्थामा प्रधानमन्त्री कार्यालयमा कार्यरत गोविन्दबहादुर कार्की, अर्थ सचिव घनश्याम उपाध्याय, गृह सचिव राजकुमार श्रेष्ठ, पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल र उद्योग सचिव कृष्णबहादुर राउतलाई पनि प्रतिस्पर्धीका रुपमा हेरिएको छ।

स्रोतका अनुसार मुख्य सचिवका दाबेदार पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल हुन्।

प्रधानमन्त्री बालेनका निकट मानिने पूर्वाधारमन्त्री सुनील लम्सालसँग ट्युनिङ मिलाएर काम काम गरिरहेका कारण सिग्देललाई पनि बलियो प्रतिस्पर्धी मानिएको हो।

‘मन्त्रीसँग कामको तालमेल मिलेको हेर्दा र प्रधानमन्त्रीज्यूसँग पूर्वाधार विकासमन्त्रीज्यूको निकटताका आधारमा सिग्देल सर बढुवा हुने सम्भावना पनि देखिन्छ,’ स्रोतले भन्यो। सिग्देलले मुख्यसचिवमा बढुवा नभएको अवस्थामा ५ वर्षे पदावधिका कारण असोज १४ गते अवकाश पाउनेछन्।

उद्योग सचिव कृष्णबहादुर राउत पनि मुख्यसचिवका प्रतिस्पर्धी हुन्। कम बोल्ने र शालिन स्वभावका राउत प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि गत चैत अन्तिम साता उद्योगमा मन्त्रालयमा सरुवा भएका थिए। सचिवमा बढुवाका आधारमा उनको कार्यकाल ६ महिना बाँकी छ। उनी २०७८ पुस तेस्रो साता सचिव बनेका थिए।

स्रोतका अनुसार गृह सचिव राजकुमार श्रेष्ठ रेसमा छन्। उनले गृहमन्त्री सुधन गुरुङमार्फत मुख्यसचिवको दाबेदारी सुसुप्त रुपमा प्रस्तुत गरिरहेको स्रोतले बतायो। २०७८ भदौ तेस्रो साता सचिवमा बढुवा भएका श्रेष्ठ सुधनको गृहजिल्ला गोरखाका हुन्।

प्रशासनिक मामिलामा राम्रो दख्खल राख्ने भएका कारण हाल राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव रविलाल पन्थलाई पनि मुख्यसचिवको दाबेदारका रुपमा हेरिएको छ। सचिवका रुपमा उनको कार्यकाल असोज तेस्रो सातासम्म छ।

अर्थसचिव घनश्याम उपाध्याय पनि मुख्यसचिवका दाबेदार हुन्। सचिवमा बढुवा हुनुअघि काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका उपाध्यायले डेढ वर्षदेखि अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हालिरहेका छन्। त्यसअघि उनी अख्तियारमा थिए।