BIZMANDU
www.bizmandu.com

तरबुजाको बिउपछि ओखरको आयात अस्वाभाविक, तीन अर्बभन्दा बढीको आउँदा जान्छ कहाँ?

२०८३ असार १४

तरबुजाको बिउपछि ओखरको आयात अस्वाभाविक, तीन अर्बभन्दा बढीको आउँदा जान्छ कहाँ?
walnut okhar health harvard istock

विराटनगर। पछिल्लो समय व्यापारीले वाटर मेलन सिड्स अर्थात् तरबुजाको बिउ (मगज)सँगै ओखरलाई आफ्नो कमाई धन्दा बनाएका छन्।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्ष ११ महिनामा ३ अर्ब ६ करोडभन्दा बढीको मगज भित्र्याएका व्यापारीले ओखर अस्वाभाविक रुपमा आयात गरेका छन्।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा दोब्बरभन्दा बढी ओखर आयात भइसकेको छ। विभागका अनुसार चालु आवको जेठसम्म ३ अर्ब २५ करोड ३१ लाख मूल्यको ८ हजार ६८५ टन ओखर आयात भएको छ। जबकि गत आर्थिक वर्ष २०८१/८२ को १२ महिनामा १ अर्ब ५२ करोड ३२ लाख मूल्यको ४ हजार ३३१ टन ओखर आयात भएको तथ्यांक छ।

आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब १३ करोडको ३ हजार २७७ टन, २०७९/८० मा ९० करोड १६ लाखको २ हजार ७७६ टन र २०७८/७९ मा ७१ करोड ७६ लाखको २ हजार ५५३ टन ओखर आयात भएको थियो।

ओखर आयातको तथ्यांक झस्काउने खालको भएको भन्सारका अधिकारी बताउँछन्। ‘बर्सेनि ओखर आयात बढेको देखिन्छ। तर यो वर्ष ११ महिनामै झस्काउने खालकै तथ्यांक छ,’ ती अधिकारीले भने।

व्यापारीले भन्सारका अधिकारीलाई नै झस्काउने गरी अस्वाभाविक रुपमा ओखरको आयात किन बढाए त?

भारतमा ओखर आयात गर्दा आधारभूत भन्सार महसुल ३० प्रतिशत छ। यो सँगै ३० प्रतिशत नै सोसियल वेलफेयर सरचार्ज (एसडब्लूसी) र वस्तु तथा सेवा कर (जीएसटी) ५ प्रतिशत पनि तिर्नुपर्छ। तीनवटै राजस्व दर ३०, ३० र ५ को संयुक्त असर ७७.४५ प्रतिशत हुन आउँछ।

यता नेपालमा ओखर आयात गर्दा भन्सार महसुल १० प्रतिशत र भ्याट मात्र बुझाउनु पर्छ। यसको संयुक्त असर २४.३ प्रतिशत मात्रै हुन्छ। दुई देशमा महसुलको यही अन्तरका कारण ओखर अस्वाभाविक रुपमा आयात गरी भारततर्फ तस्करी गर्ने गरिएको छ।

आयातमा पछि पर्‍यो विराटनगर

चालु आर्थिक वर्ष सबैभन्दा बढी ओखर चीनबाट २ अर्ब ६४ करोड ६३ लाखको ७ हजार ४३ टन, चिलीबाट ४५ करोड मूल्यको १ हजार २२३ टन र अमेरिकाबाट १५ करोड ६२ लाखको ४१८ टन आयात गरिएको छ।

कुनै बेला तेस्रो मुलुकबाट वस्तु आयात गरेर भारततर्फ अनधिकृत निर्यात गर्ने नाकामा वीरगंजको समानान्तर रहेको विराटनगर केही वर्षयता पछि पर्दै गएको छ।

विराटनगरका एक व्यवसायीले मात्र वीरगंजको सुक्खा बन्दरगाह हुँदै मगज आयात गरेका थिए। तर भारत पठाउने उद्देश्यले विराटनगरका व्यवसायीले ओखर खासै आयात गरेका छैनन्।

कुनै बेला तस्करीमा दुर्नाम कमाएको सुपारीको हब विराटनगर नै थियो। सरकारले सात वर्षअघि परिमाणात्मक बन्देज लगाएका केराउ, मरिच र छोकडाको आयात पनि विराटनगरमा उल्लेखनीय थियो। अब तस्करीका सबैजसो वस्तुको हब वीरगंज भएको छ।

समुद्री मार्गबाट विराटनगरमा वस्तु आयात गर्दा कोलकाता बन्दरगाह हुँदै ल्याउनुपर्छ। यस क्रममा कोलकाता बन्दरगाह र त्यहाँको भन्सारमा प्रक्रियागत झन्झट धेरै छ र अतिरिक्त खर्च पनि लाग्छ।

अर्कातिर वीरगंज सुक्खा बन्दरगाहसम्म रेलमार्गमार्फत् वस्तु आयात गर्दा विशाखापट्टनम हुँदै आउँछ। त्यहाँ कोलकाताको जस्तो झन्झट र खर्च हुँदैन। ढुवानी खर्चका दृष्टिले विराटनगरभन्दा वीरगंज सुक्खा बन्दरगाह नाका ३० प्रतिशतले सस्तो मानिन्छ।

‘कोलकाता बन्दरगाहमा कन्टेनर आइपुगेपछि हामीले बैंकबाट डकुमेन्ट निकालेर त्यहाँ पठाउनु पर्छ। यस क्रममा बैंकले डकुमेन्ट छुटाएकै दिनदेखिको ब्याज गणना गर्छ। अर्कातर वीरगंजको ड्राइपोर्टमा कन्टेनर आएपछि मात्र बैंकबाट डकुमेन्ट निकाल्नु पर्छ। त्यसैले ड्राइपोर्टबाट भन्दा विराटनगर नाकाबाट आयात गर्दा खर्च र प्रक्रियागत झन्झट बढी छ,’ विराटनगरका एक आयातकर्ताले भने।

त्यस्तै आयातित वस्तु सीमा कटाएर अनधिकृत रूपमा भारत पुर्‍याउन पनि मधेस प्रदेशका छोटी नाकाहरू सजिला मानिन्छन्। ‘मधेसका तुलनामा कोशी प्रदेशमा सीमा सुरक्षा कडा छ। यसका कारण विराटनगरको आयात व्यापार खस्कँदै गएको हो,’ अर्का आयातकर्ताले भने।

मगज र ओखर आयातमा पछि परेको देखिए पनि भारत तस्करी गर्ने स्याउ आयातमा भने विराटनगर सबैभन्दा अगाडि छ। विराटनगरले स्याउ तस्करीको अखडाको पहिचान बनाएको छ।