काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन अन्योलमा परेको छ।
उच्च अदालत पाटनले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि जेठ ८ गतेका लागि तय बैठक यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। अदालतले मनोनीत सदस्यले वरिष्ठ उपाध्यक्षमा भोट हाल्न पाउने निर्णयलाई पनि यथास्थितिमा राख्न भनेको छ।
एफएनसीसीआईका अध्यक्ष अन्जन श्रेष्ठले वैशाख २४ गते कार्यसमितिको बैठक राखेर जिल्ला उपाध्यक्ष कृष्णप्रसाद शर्माको नेतृत्वमा जुना माथेमा र अरनिको राजभण्डारी सदस्य रहेको समिति बनाइ मनोनीत सदस्यले वरिष्ठ उपाध्यक्षमा भोट हाल्न पाउने गरी कार्यविधि परिवर्तन गरेका थिए।
‘वरिष्ठ उपाध्यक्षमा आफ्नो पक्षका उम्मेदवार सुरकृष्ण वैद्यलाई सहज रुपमा जिताउने चाहना अनुसार अध्यक्षज्यूले कार्यविधि फेर्नुभएको हो,’ महासंघका एक सदस्यले भने, ‘अदालतको आदेशले अब अप्ठेरो परेको छ।’
अन्जनको निर्णयविरुद्ध पूर्वउपाध्यक्ष किशोर प्रधान उच्च अदालत पाटन पुगेका थिए। उनले नयाँ कार्यविधिको कार्यान्वयन रोक्नका लागि अन्तरिम आदेश माग गरेका थिए।
न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले अन्जनको निर्णय र वरिष्ट उपाध्यक्ष चयनका लागि जेठ ८ गतेका लागि तय बैठक यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिइ अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई बिहीबार बोलाएको छ।

यसअघि मनोनीत सदस्यले महिला उपाध्यक्ष र कोषाध्यक्षलाई मात्र भोट हाल्न पाउने व्यवस्था रहेकामा अन्जनले वरिष्ठ उपाध्यक्षलाई पनि मत दिन पाउने गरी कार्यविधि फेरेकाले यो विषय अदालत पुगेको हो। अन्जनले ७ जना सदस्य मनोनीत गर्न भने बाँकी छ।
वरिष्ठ उपाध्यक्षमा अन्जनले यसअघि आफूलाई साथ दिएका एसोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डेको समूहको कुरै नसुनी सुरकृष्णलाई अगाडि सार्दा अर्को प्यानलबाट हेमराज ढकाल उम्मेदवार बन्दैछन्।