काठमाडौं। कोहलपुर-सुर्खेत १३२ केभी प्रसारणलाइन संचालनमा आएको तीन महिना नै आयोजनाको दुई वटा पोल ढलेको छ। यसले गर्दा १३२ केभी प्रसारणलाइनमार्फत वितरण हुँदै आएको विद्युत सेवा अहिले बन्द भएको छ।
कर्णालीमा पहिलो पटक पुगेको १३२ केभी प्रसारण लाइन संचालनमा आएको तीन महिना मै प्रसारण लाइनको पोल ढलेपछि गुणस्तरको विषयमा पनि गम्भिर प्रश्न उठेको छ।
‘अब प्रसारण लाइन निर्माण गर्दा रुख कटान देखि सबै कुराको मापदण्ड पुरा गरेर बनाउनु पर्ने हुन्छ। प्रारम्भिक रुपमा सुकेको रुख ढलेर टावरमा परेको भन्ने कुरा आएको छ। तर, सुकेको रुख हुँदाहुँदै पनि किन हेरिएन? भन्ने गम्भिर प्रश्न उठेको छ,’ प्राधिकरणका एक इन्जिनियरले भने, ‘१३२ केभीको प्रसारणलाइन बनाउँदा १८ मिटरको करिडोर हुन्छ। राइट अफ वे (आरओडब्लु) अधिकार हुन्छ। यसले गर्दा टावर डिजाइन मै कमीकमजोरी थियो कि भन्ने प्रश्न समेत उठेको छ।’
टावर ढलेको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गर्न लागिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए।
‘रुख ढलेर तारमा परेको कारण पोलमा समस्या ढलेको हो। के कति कारणले गर्दा यो अवस्था आयो भनेर हाम्रो टेक्निकल कमिटी हुन्छ। उसले के कति कारणले यस्तो भएको भन्ने रिपोर्ट आउँछ,’उनले भने।
ठूलो हावाहुरी आएर सुकेको रुख ढलेर तारमा पर्दा पोल ढलेको आयोजनाका प्रमुख रविकुमार चौधरीले बताए। ‘त्यसदिन ठूलो हावाहुरी आएर रुख ढलेर तारमा परेछ। त्यसको भार थाम्न नसकेर पोलमा ढलेको हो,’ आयोजना प्रमुख चौधरीले भने,’प्रकृतिक प्रकोपको कारणले पोल ढलेको हो। यसलाई रोक्न सकिँदैन।’
राष्ट्रिय निकुञ्ज भित्र हुँदा रुख काट्न नपाइएको र त्यसैले समस्या भएको चौधरीले बताए। राइट अफ वेमा पर्ने रुखहरुको खतराबारे फेरि बुझाउँदै निकुञ्जलाई पत्र लेख्ने तयारी भइरहेको उनले बताए।
उनका अनुसार आयोजनाले मर्मतको काम सुरु गरिसकेको छ। ‘हामीले आयोजना मर्मतको काम अगाडि बढाइसकेका छौं,’ उनले भने, ‘नयाँ फाउन्डेसन बनाउने काम भइरहेको छ। कम्तिमा डेढ महिनाभित्र नै टावर निर्माण गरेर संचालन गर्ने लक्ष्य छ।’
प्रसारणलाइन पूर्णमा अवरुद्ध भएपछि पुरानो ३३ केभीको प्रसारण लाइनबाट कर्णालीमा विद्युत आपूर्तिको काम भइरहेको छ।
यो प्रसारण लाइन गत वर्षको माघ १८ को मध्यरातदेखि संचालनमा आएको थियो।