BIZMANDU
www.bizmandu.com

पहिलो पटक नेपालकै खानीबाट फलाम र सिसा बनाउने उद्योग निर्माण हुँदै, ४५ विघा जग्गामा काम धमाधम

२०८३ बैशाख २८

पहिलो पटक नेपालकै खानीबाट फलाम र सिसा बनाउने उद्योग निर्माण हुँदै, ४५ विघा जग्गामा काम धमाधम
पहिलो पटक नेपालकै खानीबाट फलाम र सिसा बनाउने उद्योग निर्माण हुँदै, ४५ विघा जग्गामा काम धमाधम


विराटनगर। मधेस प्रदेशको सप्तरी जिल्लामा नेपालकै खानीबाट कच्चापदार्थ उत्खनन् गरेर तयारी फलाम र सिसा बनाउने उद्योग धमाधम निर्माण भइरहेको छ।

Tata
GBIME
Nepal Life

नेपालमा हाइड्रोका ठुला लगानीकर्तामध्ये एक रहेको बिग ग्रुपले सप्तरीको सुरुंगा नगरपालिका वडा नम्बर ३ पदमनगरमा ४५ विघाको निजी औद्योगिक ग्रामको निर्माण गरेर फलाम र सिसासहित फरकफरक वस्तुका ७ वटा उद्योग ल्याउन लागेको हो।

ग्रुपका अध्यक्ष वीरेन्द्र न्यौपानेको मुख्य लगानीमा पदमनगरमा निर्मित बिग इन्डस नामको औद्योगिक ग्राममा फलाम र सिसाका अतिरिक्त बिटुमिन, ड्रम, पेन्ट्स, टायर आयल र लुब्रिकेन्ट्को उत्पादन गरिने लक्ष्य छ।

निर्देशक न्यौपानेका अनुसार पहिलो चरणमा फलाम र सिसाको उत्पादन हुँदैछ। दुवै उद्योगमा ६ सय करोडको लगानी हुनेछ। आगामी २ वर्षभित्र फलाम र सिसा दुबैको उत्पादन गरिसक्ने लक्ष्यका साथ काम भइरहेको छ।

उद्योगी न्यौपानेले हाल कारखानाको भवन निर्माण भइरहेको जानकारी दिए। एक वर्षभित्र कारखाना भवन निर्माण गरिसक्ने र अर्को एक वर्ष मेसिन जडान गरेर उत्पादन गरिसक्ने उनको लक्ष्य छ।

न्यौपानेले भने, ‘नेपालका लागि यी दुबै वस्तु एउटा युगको थालनी गर्ने इनोभेसन हुनेछन्। किनकि नेपालमा आफ्नै खानीबाट कच्चा पदार्थको उत्खनन् र प्रशोधन गरेर अहिलेसम्म फलाम र सिसाको तयारी वस्तु उत्पादन गर्ने कार्य भएको छैन।’

बिग इन्डसले उदयपुरको रौता गाउँपालिकास्थित लाफामा फलाम खानी लिएको छ। साथै सोही पालिकामा सिसाको पनि खानी भेटिएको छ। यहाँका दुबै खानी उच्च गुणस्तरको भएको र गुणस्तरीय फलाम तथा सिसाको उत्पादन गर्न सकिने न्यौपानेको जिकिर छ।

‘यो खानी नै लगभग एक पटक प्रशोधन भइसकेको खानीजस्तो छ। खानीमा भएको फलामको कच्चापदार्थ नै चुम्बकले तान्छ। त्यसैले यो दुर्लभ खानीमध्ये एक हो। यसबाट गुणस्तरीय फलाम उत्पादन गर्न भारत वा अन्य मुलुकबाट कुनै कच्चापदार्थ आयात गर्नुपर्दैन। इन्धनका लागि कोइला भने भारतबाट ल्याउनै पर्ने बाध्यता छ’, उनले सुनाए।

बिग इन्डसले दैनिक ३ सय टन इनगट उत्पादन गर्ने लक्ष्य राखेको छ। उक्त इनगटबाट फलामे डन्डी, एंगल, च्यानल, स्क्वायर पाइप लगायतका विभिन्न स्टिलजन्य वस्तुको उत्पादन गर्न सकिन्छ।

त्यस्तै उद्योगले दैनिक ९० टन तयारी सिसा उत्पादन गर्ने छ। जसमा सिसाका बोतल, ग्लास र प्लेन सिट लगायतका वस्तु हुनेछन्। उद्योगका लागि २० मेगावाट विद्युत् आवश्यक पर्ने छ र बिग इन्डसले प्राधिकरणबाट विद्युत् लाइनको स्वीकृति पाइसकेको छ। यसबाहेक उद्योगले ५ मेगावाटको सौर्य ऊर्जाको निर्माण पनि गर्ने छ।

उनले खानीबाट कच्चापदार्थ उत्खनन् गरेर प्रशोधन गर्न हालसम्मका ऐनकानुन र सरकारी नीति वाधक नभएको बताए। न्यौपानेले सिसा र फलामको उत्पादनमा सफलता हात लागेपछि बिटुमिन, लुब्रिकेन्ट्स, पेन्ट्स, टायर आयल र ड्रमका उद्योग ल्याइने स्पष्ट पारे।

वीरेन्द्र सप्तरीको लक्ष्मीपुरमा जन्मिएका व्यवसायी हुन्। सुरुमा निर्माण व्यवसायमा जमेका उनी पछि जलविद्युतमा सक्रिय भए। उनको झण्डै ४ सय मेगावाटका जलविद्युत आयोजना निर्माणाधिन छन्। विराटनगरमा उनको चारतारे क्यासिनो सहितको बिग होटल पनि छ।

‘लक्ष्मीपुर मेरो पुख्यौली थलो हो। हामीले ४५ बिघा जमिन खरिद गरेर बिग इन्डस औद्योगिक ग्रामको स्थापना गरेका हौँ। हजुरबा स्वर्गीय पदमबहादुरका नाममा औद्योगिक ग्राम भएको स्थानलाई पदमनगर नामकरण गरिएको छ’, उनले सुनाए।

नेपालमा फलामका ठुला प्लेयर अरू थुप्रै छन्, तपाईं एकाएक यस क्षेत्रमा कसरी आउनुभयो? बिजमाण्डूको प्रश्नमा उनले भने, ‘म नयाँ काम केही गरौँ भन्ने सोचिरहेको थिएँ। यसका लागि उदयपुरको पहाडी क्षेत्र सम्पूर्ण घुमेँ । धेरै मेहनतपछि फलाम र सिसाको खानी फेला पारेँ। सिसा खानीबाट थोरबहुत चाँदी पनि निस्कने देखिएको छ। सबै परीक्षण भइसकेको छैन। सबै अहिले भन्न पनि मिल्दैन।’