BIZMANDU
www.bizmandu.com

निजी क्षेत्रलाई आश्वस्त तुल्याउने रास्वपाको प्रयास, रविले भने- सरकारले धरपकड गर्दैन, ढुक्क हुनुस्

२०८३ बैशाख २०

निजी क्षेत्रलाई आश्वस्त तुल्याउने रास्वपाको प्रयास, रविले भने- सरकारले धरपकड गर्दैन, ढुक्क हुनुस्
निजी क्षेत्रलाई आश्वस्त तुल्याउने रास्वपाको प्रयास, रविले भने- सरकारले धरपकड गर्दैन, ढुक्क हुनुस्


काठमाडौं। दुई तिहाई नजिकको जनमतसहित सरकार चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निजी क्षेत्रलाई आश्वस्त तुल्याउने प्रयास गरेको छ।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउपछि ‘टेरर’ अनुभव गरिरहेका उद्योगी एमआरपी कार्यान्वयनमा कडाइले थप त्रसित भएपछि रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रलाई आश्वस्त तुल्याउने प्रयास गरेका हुन्।

उनले आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत व्यावसायिक संस्थामा आवद्ध उद्योगी व्यवसायीलाई कुपण्डोलस्थित होटल हिमालयमा बोलाएर सरकारसँग त्रसित नहुन आग्रह गरेका छन्।

उनले नीतिगत सुधारका लागि निजी क्षेत्रले विगतमा जस्तो नेताहरुको दैलो चहार्नुनपर्ने र निर्धक्कले लगानी गर्ने वातावरण सरकारले बनाउनेमा ढुक्क हुने आग्रह गरे।

आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक निजी क्षेत्रलाई छलफलमा बोलाएका रविले लगानीको वातावरण सुधारका लागि सरकारले काम थालिसकेको बताए।

पूर्वतयारीका लागि उद्योगी व्यवसायीसँग दुई वटा प्रमुख नीतिगत वा व्यवहारिक एजेण्डा मागेका रविले निजी क्षेत्रमाथि सरकारले कुनै धरपकड नगर्नेमा निर्धक्क हुन भनेका छन्। उनले रास्वपाले चुनावअगाडि जनतासामु गरेको वाचा निजी क्षेत्रको साथबिना पूरा नहुनेमा आफूहरु जानकार रहेको बताए।

‘रास्वपाले जे वाचा गरेको छ त्यो पूरा गर्न निजी क्षेत्रको साथ चाहिन्छ। तपाइँहरुको साथबिना सम्भव छैन। विभिन्न समयमा निजी क्षेत्रमाथि भएको आक्रमणलाई हामीले गम्भीर रुपमा लिएका छौं। तपाइँहरू ढुक्क हुनुस्, व्यवसायीलाई धरपकड गर्ने, व्यवसाय बिगार्ने हाम्रो कुनै मनसाय छैन‌। तर बेथितिको अन्त्य चाहिँ हुनैपर्छ,’ उनले भने।

रविले निजी क्षेत्र विगतमा गल्ती गर्न बाध्य भएको विषयमा आफूहरु जानकार रहेको भन्दै अब उद्योगी व्यवसायीले कसैलाई पनि गुहार्न नपर्ने गरी कानुनी सुधार गर्ने बताए। उनले कानुनी सुधारमा साथ दिन निजी क्षेत्रसँग आग्रह पनि गरे।

‘हिजोको जुन राजनीति थियो त्यसमा तपाइँहरु बाध्यतामा हुनुहुन्थ्यो। तपाइँहरूले गलत गर्नुभएको छैन होला। तर विगतको अवस्थाले जानी नजानी गल्ती भयो होला। हिजो नेताका केही स्वार्थ पूरा गर्न तपाइँले केही तलमाथि गर्नु बाध्यता थियो। हामी त्यो छुट्ट्याउने विन्दुमा छौँ। अब कानुनले सबैथोक चल्छ‌। यसमा तपाईंहरूको‌ साथ चाहिन्छ,’ उनले भने।

रविले निजी क्षेत्रसँग हातेमालो नगरी आर्थिक छलाङ मार्न सकिंदैन भन्नेमा सरकार स्पष्ट रहेको बताए। देशको आर्थिक विकासका लागि स्वदेशीका साथै विदेशी लगानीकर्तालाई पनि आकर्षित सरकारले सबै प्रयास गर्ने उनको भनाइ छ।

उनले उद्योगी व्यवसायीका धेरै माग बजेटमा समावेश गर्ने आश्वासन पनि दिए।

‘आर्थिक छलाङ मार्न सरकार र निजी क्षेत्रले हातेमालो गर्नुको विकल्प छैन। पूर्वाधार निर्माण, आइटीमा विशेष ध्यान दिनुपर्नेछ। व्यवसायीका‌ धेरै कुरा आगामी बजेटमा समेटिने छन्। पर्यटन, उद्योग, आइटीलगायत क्षेत्रलाई बजेटले‌ विशेष सम्बोधन गर्नेछ। स्वदेशी मात्रै होइन, विदेशी लगानीका लागि पनि वातावरण स्वच्छ बनाउनु छ,’ उनले भने।

रविले लगानी गरेपछि नाफा आर्जन गर्नु स्वाभाविक भएको भन्दै त्यसमा सरकारले हस्तक्षेप नगर्ने पनि प्रष्ट पारे। उनले लगानी प्रवर्धनका लागि सहज हुने गरी करका दर हेरफेर गर्ने भन्दै पूर्वाधार विकासमा सरकारलाई निजी क्षेत्रको ठूलो साथ चाहिने बताए।

‘व्यवसायको‌ सुरक्षामा‌ सरकार प्रतिबद्ध छ। नियममा रहेर नाफा कमाउन कसैलाई रोकतोक छैन। निर्यात अनुदानको पुनरावलोकनमा‌ हामी सकारात्मक छौं। व्यक्तिगत आयकरको सीमा हेरफेर गर्नुपर्ने छ। तराईका‌ नागरिक, जनजीवन, त्यहाँका व्यवसाय कसैलाई असर नगरी भन्सार जाँचपासका नीतिबन्नेछन्,’ रविले व्यवसायीहरुसामु भने, ‘सरकारले तत्काल काम गर्न खोजेको छ। पूर्वाधारमा संकटकाल लगाएर भए पनि काम गर्नुपर्छ भन्ने छलफलमा छौं। असान्दर्भिक र अप्ठ्यारा कानुन हटाउन केही कदम चालिएको छ। प्रक्रियागत झन्झटमा‌‌ सरकार अल्झिंदैन।’

निजी क्षेत्रसँगको छलफलमा रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुली र अर्थ समितिकी सदस्य विदुषी राणा पनि सहभागी थिए। राणा आफैं उद्योगी हुन्।

छलफलमा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले नेपालको डिजिटल पूर्वाधार निकै कमजोर भएको र यसमा लगानी गर्न एनसेल तयार रहेको बताए।

उनले नेपालको डिजिटल पूर्वाधार‌ अत्यन्त कमजोर रहेको र यसले प्रत्यक्ष वैदेशिक लगानीमा समेत नकारात्मक असर पारिरहेको भन्दै सरकारले सहजीकरण गरेको अवस्थामा लगानी विस्तारका लागि आफूहरु तयार रहेको बताएका हुन्।

‘फाइभजी, फाइबर पूर्वाधार, डेटा सेन्टर, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र भू-उपग्रह कनेक्टिभिटीमा‌ पछाडि छौं,’ उनले भने ‘जुनसुकै कारणले भए पनि यो आज हामीले सामना गरिरहेको यथार्थ हो। हामी पछाडि परिरहेका छौं।’

फोले सेन्ट्रल बैंक डिजिटल करेन्सी, क्रिप्टो, आर्टिफिसियल इन्टेलिजेन्स, कम्प्युटर सेवा, जीपीओ आधारित सेवा र ब्लकचेन लगायतको लक्ष्य राख्न सुझाव दिए। यसका लागि आवश्यक कम्प्युटिङ क्षमता निर्माण गर्न करोडौं डलर लगानी आवश्यक पर्ने सीइओ फोलेको भनाइ छ।

‘लगानीलाई दोब्बर बनाउन र खर्च गर्न सुरु गर्नुपर्ने आवश्यकता छ। म के मात्र भन्न चाहन्छु भने, मेरो आफ्नै कम्पनीको ब्यालेन्स सिट निकै बलियो छ‌‌। हामी वर्तमान पूर्वाधारका समस्या समाधान गर्न, नयाँ क्षमता निर्माण गर्न र सरकारसँग मिलेर डेटा सेन्टरका लागि आवश्यक काम गर्न ठूलो लगानीका लागि पूर्ण रूपमा तयार छौं,’ उनले भने।