BIZMANDU
www.bizmandu.com

नयाँ सरकार आएपछि खुल्यो बुक बिल्डिङ प्रक्रिया, आवेदन दिएका ५ कम्पनीसँग सम्झौता

२०८३ बैशाख ३

नयाँ सरकार आएपछि खुल्यो बुक बिल्डिङ प्रक्रिया, आवेदन दिएका ५ कम्पनीसँग सम्झौता
नयाँ सरकार आएपछि खुल्यो बुक बिल्डिङ प्रक्रिया, आवेदन दिएका ५ कम्पनीसँग सम्झौता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सरकार आएपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बुक बिल्डिङ प्रक्रियामार्फत आइपीओ निष्कासन अघि बढाएको छ।

Tata
GBIME
Nepal Life

नेपाली कांग्रेस र नेकपा एमालेको सरकार हुँदा अनिर्णित बसेको नेप्सेले नयाँ सरकार आएसँगै आवेदन दिएका पाँच वटा कम्पनीको बुक बिल्डिङ प्रक्रिया अगाडि बढाएको हो।

नेप्सेले बुक बिल्डिङमार्फत आइपीओ निष्कासनका लागि संस्थागत लगानीकर्तालाई सेयर संख्या निर्धारण गरेर शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता गरेको छ।

नेप्सेले नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टील र पूर्वाञ्चल ल्युब आयल लिमिटेडसँग सम्झौता गरेको हो।

बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने विषयमा नेपाल धितोपत्र बोर्ड(सेबोन) र नेप्सेको नेतृत्व उदासीन रहेकामा निवेदन रोकेर राख्दा प्रश्न उठ्ने भएपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले प्रक्रिया अगाडि बढाएका हुन्।

‘आवेदन रोकेर राखेको विषयलाई लिएर प्रश्न उठेपछि संस्थागत लगानीकर्ताका लागि सेयर कित्ता तोकेर शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता गरिएको हो,’ स्रोतले भन्यो, ‘नयाँ सरकारले अहिले कुनै पनि फाइल ७ दिनभन्दा बढी अड्काएर नराख्ने भनेकाले प्रक्रिया अगाडि बढेको हो।’

संस्थागत लगानीकर्ताका लागि नर्भिक हस्पिटलको ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ मिल्स र लक्ष्मी स्टीलको १८/१८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सको ४ लाख ३४ हजार ६०० कित्ता तथा पूर्वाञ्चल ल्युब आयल लिमिटेडको ६ लाख कित्ता सेयर छुट्याइएको छ।

बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्न चाहने कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरेर स्वचालित विद्युतीय प्रणालीमार्फत् बुक विल्डिङ सम्बन्धी कार्य सञ्चालन गर्न नेप्सेसँग सम्झौता गर्नुपर्छ। त्यसपछि स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिनुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन निर्देशिकामा छ।

नेप्सेसँग सम्झौता गरेका ५ कम्पनीले अब सेबोनमा निवेदन दिनेछन्। सेबोनबाट अनुमति पाएपछि ती ५ कम्पनीले बोलकबोलमार्फत संस्थागत लगानीकर्तालाई सेयर बिक्री गर्नेछन्।

कम्पनीले कुल निष्कासनको ४० प्रतिशत संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सर्वसाधारणलाई सेयर बिक्री गर्नुपर्ने व्यवस्था छ।

बोलकबोलमार्फत तय मूल्यको १० प्रतिशत घटाएर सर्वसाधारणलाई सेयर बिक्री पर्नुपर्छ।

सेबोनले उत्पादनमूलक क्षेत्रका कम्पनीलाई सेयर बजारमा भित्र्याउन २०७६ मा बुक बिल्डिङको व्यवस्था गरेको थियो। कानुनी व्यवस्था गरेको ६ वर्ष नाघे पनि अहिलेसम्म सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिसनिङ मिल्सले मात्र बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेका छन्। दुवै कम्पनीको आइपीओ निष्कासन विवादित भएको थियो।

आइपीओ निष्कासनमा बुक बिल्डिङलाई सबैभन्दा वैज्ञानिक मानिन्छ। बुक बिल्डिङबाट सेयर बिक्री गर्न चाहने कम्पनी तीन आर्थिक वर्षदेखि लगातार खुद मुनाफामा सञ्चालन भएको हुनपर्छ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार प्रति सेयर नेटवर्थ प्रति सेयर चुक्ता पुँजीको कम्तिमा १५० प्रतिशत र औसतमाथि क्रेडिट रेटिङ पाएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासन गर्न पाउने व्यवस्था छ।

बुक बिल्डिङमार्फत निष्कासन गरिने आइपीओको मूल्य यथार्थपरक बनाउनका लागि संस्थागत लगानीकर्ता र सर्वसाधारणलाई छुट्याइने हिस्सा उल्टाउनुपर्ने आवाज उठे पनि सेबोनले निर्णय गरेको छैन।

संस्थागत लगानीकर्तालाई ६० र सर्वसाधारणलाई ४० प्रतिशत सेयर छुट्याउने प्रस्तावसहित नियमावली संशोधनको मस्यौदा सेबोनको सञ्चालक समितिले अड्काएर राखेको छ।

सरकारले नै बनाएका अध्ययन समितिले पनि बुक बिल्डिङको आइपीओमा अहिलेको व्यवस्था हेरफेर गर्न सुझाव दिएका छन्।

अर्थमन्त्री रामेश्वर खनालले गत असोजमा पुँजी बजार सुधारका लागि बनाएको कार्यदलले बुक बिल्डिङको आइपीओ निष्कासन विधिलाई परिमार्जन गर्न सुझाव दिएको छ।

‘यथार्थपरक मूल्य निर्धारण प्रक्रियाका लागि बुक बिल्डिङ विधिलाई प्रभावकारी बनाउने र यस सम्बन्धी नीतिगत व्यवस्था परिमार्जन गरी समसामयिक बनाइनेछ,’ कार्यदलले भनेको छ।

यसअघि अर्थमन्त्री खनालकै नेतृत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि गत चैतमा बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ निष्कासनका लागि पारदर्शी विधि अपनाउनुपर्ने बताएको थियो।