BIZMANDU
www.bizmandu.com

चौधरी ग्रुप हस्पिटालिटीमा धमाधम लगानी बढाउँदै, गोरखामा दुई वर्षभित्र लक्जरी हेरिटेज होटल तयार गर्ने

२०८२ चैत्र २७

चौधरी ग्रुप हस्पिटालिटीमा धमाधम लगानी बढाउँदै, गोरखामा दुई वर्षभित्र लक्जरी हेरिटेज होटल तयार गर्ने
चौधरी ग्रुप हस्पिटालिटीमा धमाधम लगानी बढाउँदै, गोरखामा दुई वर्षभित्र लक्जरी हेरिटेज होटल तयार गर्ने


काठमाडौं। चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले होटल उद्योगमा धमाधम लगानी बढाउन थालेको छ। सीजी हस्पिटालिटीले नयाँ सरकार गठन भएयताको दुई सातामा दोस्रो होटलमा हात हालेको छ।

GBIME
Tata

सीजी हस्पिटालिटीले गोरखालाई अन्तर्राष्ट्रियस्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित लक्जरी हेरिटेज ‘समिट होटल’ बनाउन थालेको छ। होटलको बिहीबार शिलान्यास गरिएको छ।

काठमाडौंको चर्चित ‘समिट होटल’बाट प्रेरित यस परियोजनालाई आधुनिक सुविधा र नेपाली मौलिकता समेटिएको स्तरीय लक्जरी रिसोर्टका रूपमा विकास गरिने सीजी हस्पिटालिटीले जनाएको छ।

सीजी हस्पिटालिटीका अनुसार सन् १९७८ मा स्थापित काठमाडौंको ऐतिहासिक समिट होटलको विरासतलाई नयाँ स्वरूप दिंदै गोरखामा निर्माण हुन लागेको यो परियोजनाले आधुनिक सुविधाका साथै नेपाली मौलिकता प्रदान गर्नेछ।

करिब ३० रोपनी क्षेत्रफलमा फैलिने यो परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। करिब ३० वटा लक्जरी कोठा रहने यस होटलको रुमरेट करिब ५०० अमेरिकी डलर आसपास रहने कम्पनीले जनाएको छ।

देशभित्रका तथा विदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै कम्पनीले गोरखामा होटल बनाउन थालेको हो।

सीजी हस्पिटालिटीका अनुसार यस परियोजनाको मुख्य उद्देश्य गोरखालाई नेपालका प्रमुख लक्जरी पर्यटन गन्तव्यको सर्किटमा जोड्नु हो।

ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण गोरखा दरबार नजिकै निर्माण हुने होटलले देशको इतिहास, मौलिकता र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीले यो परियोजना नेपालको पर्यटन क्षेत्रमा चौधरी ग्रुपको निरन्तर विश्वास र प्रतिबद्धताको अर्को एउटा महत्वपूर्ण कदम भएको बताए।

‘गोरखा नेपालको इतिहास बोकेको निकै महत्वपूर्ण क्षेत्र हो। नेपालको इतिहास, संस्कृति र मौलिकता तथा समिट होटलको विरासतलाई नेपालभर र विश्वसामु प्रस्तुत गर्ने हाम्रो प्रयास हो। पर्यटनमार्फत नेपालको अर्थतन्त्र सुदृढ बनाउने सरकारको लक्ष्यमा चौधरी ग्रुप सधैं सहयोगी भूमिकामा रहनेछ,’ उनले भने।

समिट होटलले गोरखामा रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा नयाँ लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ। यसले पर्यटनमार्फत क्षेत्रीय विकासलाई गति दिने विश्वास गरिएको छ।

चौधरी ग्रुपले केही दिनअघि मात्रै विश्वप्रसिद्ध होटल म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा काठमाडौंको ठमेलमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन’होटलको शिलान्यास गरेको थियो। यो होटलमा करिब १० करोड अमेरिकी डलर लगानी गर्ने भनिएको छ।

सीजी हस्पिटालिटी ग्लोबलले हाल प्रमुख अन्तर्राष्ट्रिय होटल ब्रान्डसँग साझेदारी गर्दै आफ्नो विश्वव्यापी उपस्थितिलाई विस्तार गरिरहेको छ।

हाल यसको पोर्टफोलियोमा १२ देशका १३० गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा छन्, जसमा १५ हजारभन्दा बढी रुम क्यापासिटी छ।

चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो व्यापारिक घराना, प्रमुख करदाता तथा रोजगार सिर्जनामा अग्रणी संस्था हो। सरकारले वार्षिकरुपमा उठाउने राजस्वमा चौधरी ग्रुपको करिब २ प्रतिशत योगदान छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै चौधरी ग्रुपले २५ अर्ब ५९ करोड रुपैयाँ राजस्व बुझाएको थियो।