BIZMANDU
www.bizmandu.com

दीपक भट्टको स्वार्थमा भृकुटीले लगानीकर्तालाई पारिदियो जोखिममा, ५.११ अर्ब भुक्तानी गर्न बाँकी

२०८२ चैत्र २५

दीपक भट्टको स्वार्थमा भृकुटीले लगानीकर्तालाई पारिदियो जोखिममा, ५.११ अर्ब भुक्तानी गर्न बाँकी
दीपक भट्टको स्वार्थमा भृकुटीले लगानीकर्तालाई पारिदियो जोखिममा, ५.११ अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौं। पब्लिक कम्पनीको पैसा आफ्नो नाममा सेयर किन्न दुरुपयोग गरेका बिचौलिया दीपक भट्टलाई साथ दिएको भृकुटी स्टक ब्रोकिङ कम्पनीको कैफियत नै कैफियत देखिएको छ।

Tata
GBIME
Nepal Life

भट्टको इशारामा काम गर्दा भृकुटीबाट सेयर कारोबार गर्दै आएका लगानीकर्ताको ५ अर्ब रुपैयाँभन्दा बढी रकम जोखिममा परेको पाइएको छ।

भृकुटीले ग्राहकहरुको सेयर खरिद बिक्री तथा कोल्याट्रल (धितो)बापतको रकम नियम विपरीत अन्य ग्राहकको कारोबार राफसाफ गर्न प्रयोग गरेको, राफसाफको नियमविपरीत खरिदकर्ता ग्राहकबाट रकम लिइ विक्रीकर्ता ग्राहकलाई दिएको र कम्तीमा २५ प्रतिशत रकम नलिइ सेयर किन्न सुविधा दिएको पाइएको छ।

नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट विनियमावली र धितोपत्र कारोबार सञ्चालन विनियमावली विपरीत काम गरेको पाइएपछि भृकुटीलाई कारबाहीस्वरुप अनुमतिपत्र निलम्बन गरेको छ।

‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३१ विपरीत ग्राहकहरुको सेयर खरिद बिक्री तथा कोल्याट्रल (धितो)बापतको रकम अन्य ग्राहकको कारोबार राफसाफ गर्न प्रयोग गरेको,’ सेबोनले भृकुटीको कैफियत औंल्याउँदै भनेको छ, ‘नियमावलीको नियम ३१ को उपनियम (२), धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट विनियमावली, २०६९ को विनियम १३, १६ र १७ को व्यवस्था पालना नगरी खरिदकर्ता ग्राहकबाट रकम लिने र विक्रीकर्ता ग्राहकलाई रकम दिने कार्य गरेको।’

यस्तै ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम अग्रिम रकम (कम्तीमा २५ प्रतिशत नलिई धितोपत्र खरिद गर्न सुविधा दिएको’ पनि सेबोनले बताएको छ।

भट्टले पब्लिक कम्पनी हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड, हिमालयन इन्भेष्टमेन्ट बैंकरबाट २२ करोड, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड, एचएलआइ लार्ज क्याप फण्डबाट २५ करोड रुपैयाँ र हिमालयन क्यापसर्बबाट ३७ करोड रुपैयाँ  निकालेर नेपाल रि इन्स्योरेन्सको १९ लाख ७९ हजार कित्ता, गार्जियन माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता र नेपाल माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता सेयर किनेका थिए।

भट्टका नाममा सेयर खरिद गर्ने काम भृकुटी ब्रोकरले गरिदिएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल बीमा प्राधिकरणको अनुसन्धानबाट यो कर्तुत पत्ता लागेपछि भट्ट चैत १९ गते पक्राउ परिसकेका छन्। पब्लिक कम्पनीको पैसाले उनको नाममा किनिएको सेयर कारोबार यसअघि नै रोक्का गरिएको छ।

सेबोनका अनुसार भृकुटीले लगानीकर्तालाई दिनुपर्ने दायित्व ५ अर्बभन्दा धेरै देखिएको छ। चैत १२ गतेको विवरण अनुसार भृकुटीले लगानीकर्तालाई ५ अर्ब ११ करोड ३ लाख ७४ हजार २३७ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको देखिएको हो।

भृकुटीले भट्टका नाममा उधारोमा समेत सेयर किनिदिएर अरु लगानीकर्तालाई जोखिममा पारिदिएको छ। साथै भट्टका नाममा पैसाविनै सेयर ट्रान्सफर गरिदिएर मूल्यमा चलखेल गर्नसमेत सघाएको सेबोनको निष्कर्ष छ।

‘उधारोमा सेयर खरिद गर्न दिई लगानीकर्ताले रकम नै नतिरी हितग्राही खातामा सेयर जम्मा गरिदिने कार्यबाट धितोपत्रको मूल्यमा प्रभाव पर्न सक्ने र पुँजी बजारमा प्रतिकूल असर पर्न सक्ने तथा तत्काल निलम्बन नगरी काम गरिरहन दिंदा लगानीकर्तालाई नोक्सानी हुने सम्भावना देखिएकोले भृकुटी स्टक ब्रोकिङको अनुमतिपत्र तत्काल निलम्बन गरिएको छ,’ सेबोनले चैत २३ गतेको निर्णय सार्वजनिक गर्दै बुधबार सूचना निकालेर भनेको छ।

सेबोनले भृकुटीलाई लगानीकर्ताको रकम फर्छ्योट गर्न भनेको छ। साथै भृकुटीबाट सेयर कारोबार गरिरहेका लगानीकर्ताले निलम्बन अवधिभर अन्य धितोपत्र दलाल व्यवसायीबाट कारोबार गर्न चाहेमा प्राविधिक लगायत अन्य कार्यमा अविलम्ब आवश्यक व्यवस्था गर्ने बताएको छ।