BIZMANDU
www.bizmandu.com

हिमालयन रिका संस्थापक पक्राउपछि आत्तिए लगानीकर्ता, समस्याग्रस्त घोषणा गर्न लागिएको हो?

२०८२ चैत्र २२

हिमालयन रिका संस्थापक पक्राउपछि आत्तिए लगानीकर्ता, समस्याग्रस्त घोषणा गर्न लागिएको हो?
हिमालयन रिका संस्थापक पक्राउपछि आत्तिए लगानीकर्ता, समस्याग्रस्त घोषणा गर्न लागिएको हो?

काठमाडौं। हिमालयन रि इन्स्योरेन्सका संस्थापकहरु एकपछि अर्को गरी अनुसन्धानका लागि पक्राउ पर्न थालेपछि लगानीकर्ता आत्तिएका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीको पैसा दुरुपयोग गरेको प्रकरणमा बिचौलिया दीपक भट्ट र उनका व्यवसायिक साझेदारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र बनाइएपछि त्यसको प्रभाव कम्पनीको सेयर मूल्यमा परेको छ।

सेयर बजारमा नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई समस्याग्रस्त घोषणा गर्न लागेको हल्ला चलाइएको छ। जसले गर्दा हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्यमै प्रभाव परेको छ। सेयर बजार आइतबार १०५.५० अंक घट्दा हिमालयन रि इन्स्योरेन्सको मूल्य १० प्रतिशत ओरालो लाग्यो।

सेलिङ प्रेसरले नेगेटिभ सर्किट लाग्नुका साथै कम्पनीको सेयर सबैभन्दा धेरै ५८ करोड २८ लाख रुपैयाँको किनबेच भयो।

हिमालयन रि इन्स्योरेन्सको संस्थापक लगानीकर्ता इन्फिनिटी होल्डिङ्सका भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

इन्फिनिटी होल्डिङ्स हिमालयन रिको ४५ लाख कित्ता संस्थापक सेयर धारक हो। त्यसबाहेक भट्ट र उनको साझेदार शंकर ग्रुपसँगको मिलेमतोमा कम्पनीको रकम व्यक्तिगत नाममा सेयर खरिदका लागि दुरुपयोग गरिएको थियो।

इन्स्योरेन्समा शंकर समूहका विभिन्न कम्पनीको लगानी छ। यसका अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले बयान लिएर बोलाएको बेला हाजिर हुने सर्तमा आइतबार छोडेको छ।

उनका छोरा सुलभमाथि पनि अनुसन्धान भइरहेको छ। शनिबार पक्राउ परेका सुलभलाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

हिमालयन रिकै निर्देशक रहेका शंकरका अर्का छोरा साहिलको कम्पनीमा ३२ लाख कित्ता संस्थापक सेयर छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले साहिलसहित कम्पनीका केही सञ्चालकको बयान यसअघि लिइसकेको छ। साहिल अहिले विभागको खोजीको सूचीमा छन्।

दुई साताअघि शेखर गोल्छाले राजीनामा दिएपछि कम्पनी अध्यक्षबिहीन छ।

यिनै कारण हिमालयन रि इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले समस्याग्रस्त घोषणा गर्न लागेको हल्ला चलाइँदा लगानीकर्तामा अन्योल देखिएको छ।

तर प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई समसम्याग्रस्त घोषणा गर्ने विषयमा केही सोचेकै छैन। प्राधिकरणकी निर्देशक पुजन ढुंगेलले कम्पनीका केही सञ्चालकले बद्‍मासी गरेकै आधारमा इन्स्योरेन्सलाई समस्याग्रस्त घोषणा गर्ने वा व्यस्थापन टेकओभर गर्ने विषयमा कुनै तयारी नरहेको बताइन्।

‘इस्यु आइसकेपछि कम्पनीको टप म्यानेजमेन्टसँग हामी निरन्तर संवादमा छौं। समस्याग्रस्त घोषणा गर्ने भन्ने कुनै कुरा आएको छैन,’ ढुंगेलले भनिन्।

हुन पनि हिमालयन रि इन्स्योरेन्सका संस्थापक लगानीकर्ता शंकर ग्रुप र भट्टको इन्फिनिटी होल्डिङ्स मात्र होइनन्। सरकारकै स्वामित्वका दुई वटा वाणिज्य बैंक हिमालय रिका मुख्य लगानीकर्ता हुन। कम्पनीमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ५०/५० लाख कित्ता सेयर स्वामित्व छ।

प्राधिकरणले कम्पनीसँग जोडिएको विषयमा छानबिन गरी प्रतिवेदन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा गत फागुन मसान्तमै बुझाइसकेको छ।

प्राधिकरणका अधिकारीहरुले कम्पनीको वित्तीय स्थिति सामान्य रहेकाले बजारमा चलेको हल्ला गलत भएको बताएका छन्। त्यही भएर समस्याग्रस्त वा सञ्चालकको लागि टेकओभर गर्नुपर्ने अवस्था नरहेको बताउँछन्।

‘सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि कम्पनीको वित्तीय स्थितिलाई हामीले नजिकबाट हेरिरहेका छौं। सूचकहरु सबै ठिकठाक छन्। समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन टेकओभर गर्नुपर्ने अवस्था छैन,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘हामीले अहिले त्यतातिर सोचेकै छैनौं। कम्पनीको सेयर भाउ घटाएर किन्न खोज्नेहरुले जथाभावी हल्ला चलाएका हुन सक्छन्।’

बीमा ऐनमा विभिन्न १३ वटा अवस्थामा बीमा कम्पनीलाई समस्याग्रस्त घोषणा गर्ने व्यवस्था छ। बीमकले न्यूनतम चुक्ता पूँजी तथा पूँजीकोष कायम गर्न नसकेमा, बीमकको कूल सम्पत्ति र दायित्वको अनुपात कायम नभएमा, बीमकको संस्थापक सेयरधनीले ठगी, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी, मानव बेचबिखन गरी बीमा कम्पनी स्थापना गरेको प्रमाणित भएमा, जालसाजी, किर्ते, वा झुट्टा विवरण दिई वा गलत लिखत तयार गरी वा पेस गरी बीमा कम्पनी स्थापना गरेको वा इजाजतपत्र प्राप्त गरेको प्रमाणित भएमा लगायत आधारमा बीमितको हक हित संरक्षणका लागि प्राधिकरणले बीमकलाई समस्याग्रस्त घोषणा गर्न सक्ने व्यवस्था छ।