BIZMANDU
www.bizmandu.com

तमोर-ढुंगेसाँघुपछि पश्चिम सेती-दोधारामा निजी क्षेत्र प्रवेश गर्दै, ८ कम्पनीसँग मागियो लगानी प्रस्ताव

२०८२ फागुन ५

तमोर-ढुंगेसाँघुपछि पश्चिम सेती-दोधारामा निजी क्षेत्र प्रवेश गर्दै, ८ कम्पनीसँग मागियो लगानी प्रस्ताव
तमोर-ढुंगेसाँघुपछि पश्चिम सेती-दोधारामा निजी क्षेत्र प्रवेश गर्दै, ८ कम्पनीसँग मागियो लगानी प्रस्ताव

काठमाडौं। २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको पश्चिम सेती-दोधारा ४०० केभी प्रसारण लाइन बनाउन ८ वटा कम्पनी इच्छुक देखिएका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी (आरपीजीसीएल)ले सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत लगानी रहने गरी सार्वजनिक-निजी साझेदारीमा प्रसारण लाइन निर्माणका लागि आवेदन मागेकामा ८ कम्पनी इच्छुक देखिएका हुन्।

आरपीजीसीएलका अनुसार चिलिमे जलविद्युत, चैनपुर सेती जलविद्युत कम्पनी, समृद्धि इनर्जी, मातामालिका इनर्जी मल्टिपल प्रालि, सुर्मा सरोवर हाइड्रोपावर, ङादी ग्रुप पावर, सगरमाथा जलविद्युत कम्पनी र सिउरी न्यादी पावर लिमिटेडले आवेदन दिएका छन्।

चिलिमे जलविद्युत र चैनपुर सेती सरकारी लगानीका कम्पनी हुन्। यस्तै समृद्धि इनर्जी, मातामालिका इनर्जी र सुर्मा सरोवर हाइड्रोपावर सेती करिडोर अन्तर्गतका आयोजना हुन्।

निजी क्षेत्रसँग मिलेर प्रसारण लाइन बनाउनका लागि आरपीजीसीएलले गत पुस १३ गते आशयपत्र मागेको थियो।

आरपीजीसीएलले इच्छुक कम्पनीहरुसँग लगानी प्रस्ताव मागेको छ। पश्चिम सेती-दोधारा प्रसारण लाइन आयोजनाका प्रमुख राजकिरण बासुकलाले आवेदन दिएका कम्पनीसँग लगानीको प्रस्ताव मागेको बताए।

‘आयोजना निर्माणका लागि हामीले आशयपत्र मागेकामा ८ कम्पनीको आवेदन परेको छ। हामीले आवेदन दिएका कम्पनीसँग लगानी प्रस्ताव मागेका छौं,’ आयोजना प्रमुख बासुकलाले भने, ‘लगानी प्रस्ताव पेस भए पछि हामी समिति बनाएर प्राविधिक र आर्थिक पाटोबारे अध्ययन गर्छौं। त्यसपछि आर्थिक र प्रविधिकरुपमा भायबल कम्पनी छनोट हुन्छ। कुन कम्पनीले कति लगानी गर्ने भन्ने टुंगो लागेपछि सम्झौता गरी आयोजना निर्माण प्रक्रिया अगाडि बढ्छ।’

प्रस्तावित बनलेक सवस्टेसन

आरपीपीजीसीएलले आयोजना बनाउन इच्छुक कम्पनीलाई लगानी प्रस्ताव पेस गर्न एक साताको समय दिएर माघ २९ गते पत्र काटेको हो। प्रसारण लाइन निर्माणमा खर्च हुने अनुमान गरिएको २० अर्ब रुपैयाँ लागतमा ऋण र पुँजीको अनुपात ७०:३० रहने छ।

कम्पनी छनोटपछि बझाङको जयपृथ्वी नगरपालिका-१ हम्मरसेनको चैनपुर सबस्टेसन र डोटीको शिखर नगरपालिका-१० मा रहेको बनलेक सबस्टेसन हुँदै कैलालीको बर्दगोरिया गाउँपालिका-२ दोधारा सबस्टेसनसम्म करिब १४५ किलोमिटर प्रसारण लाइन निर्माणको काम अगाडि बढाइनेछ।

यो आयोजना अन्तर्गत १६० एमभीएको चैनपुर सबस्टेसन र ३१५ एमभीएको बनलेक सबस्टेसन निर्माण गरिने छ। यसका लागि जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको छ। आयोजनाको सर्वेको काम पनि सम्पन्न भइसकेको छ।

यो प्रसारण लाइनमार्फत ७५० मेगावाटको पश्चिम सेती हाइड्रोपावर, ४५० मेगावाटको सेती नदी-६ हाइड्रोपावर र १७० मेगावाटको अपर सेती हाइड्रोपावरबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारणमा जोडिने छ।

यस्तै सेती नदी र यसको सहायक नदी बुढीगंगा तथा दार्चुला र बैतडीमा उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारणमा जोडिने छ।

आरपीजीसीएलले यसअघि तमोर-ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निजी क्षेत्रसँग मिलेर बनाउने सम्झौता गरेको थियो। तर सम्झौताको १४ महिना बितिसक्दा पनि लाइसेन्स हस्तान्तरण नभएका कारण काम अगाडि बढ्न सकेको छैन।