काठमाडौं। विदेशी नम्बर प्लेटमा नेपाल भित्र्याइएको ज्यागुअर गाडी सेकेन्ड ह्याडीको मूल्यमा ल्याइएको पुष्टि भएको छ।
नयाँ गाडीभन्दा लगभग आधा मूल्य राखेर गाडी नेपाल ल्याइएको देखिएको हो। चोभार भन्सार कार्यालयका बिजकले सो पुष्टि गरेको छ।
चोभारमा रहेको पाँच वटै गाडीमा इंग्ल्यान्डको नम्बर प्लेट राखिएको छ। ६ वटामध्ये एउटा गाडी एक महिनाअघि नै भन्सार पास गरेर यातायातमा समेत दर्ता भइसकेको छ।
यसरी छुटाइएको एउटा ज्यागुअर आई-पेक्स ब्ल्याक कलरको इन्भोइसमा ३४ हजार ८०० पाउन्डमा ल्याइएको छ। जुन बेलामा पाउन्डको रेट १९४.७१ थियो। त्यति बेलाको १९४ को रेटले नेपाली ६७ लाख ९६ हजार ८९७ रुपैयाँ परेको देखिन्छ।
सोही स्तरको बीएमडब्लुका इलेक्ट्रिक गाडी आई एक्स करिब ५० हजार युरोमा आइरहेको छ। ज्यागुअर त्योभन्दा धेरै लक्जरी र हाइ इन्ड गाडी हो। यसरी आधा मूल्य नै फरक पर्ने गरी ज्यागुअर त्यति सस्तोमा कसरी आइरहेको छ? यसले सेकेन्ड ह्यान्ड गाडी पनि नेपाल भित्रिन थालेको पुष्टि गर्छ।
नेपाल ल्याइएका गाडीहरू इंग्ल्यान्डमा विभिन्न स्थान र मितिमा दर्ता समेत भइसकेका पाइन्छन्। जसलाई त्यहाँका कार सेल्स कम्पनीहरूले बिक्रीमा समेत राखेका थिए।
भन्सार यार्डमा राखिएको एलजी ७४ युटीभी नम्बरको ज्यागुअर पहिलो पटक २०२४ को अक्टोबरमा युकेमा रजिस्टर भएको थियो। जुन गाडी २०२५ को सेप्टेम्बरमा युकेबाट निर्यात गरिएको छ। यसरी भन्सारमा रहेका केएन २५ एनजेडजी, केपी २५ एकेवाइ, केपी २५ एजेएक्स, केएन २५ एनवाइआर नम्बर प्लेटका रहेका छन्।
यी गाडीहरूमा २९४ किलोवाट क्षमताका मोटर भएकाले यसको करको दरहरू पनि भन्सार ६० प्रतिशत अन्तःशुल्क ३५ प्रतिशत सडक कर ५ प्रतिशत र भ्याट १३ प्रतिशत लागेको देखिन्छ। यसरी सबै कर लाग्दा पनि गाडीको मूल्य १ करोड ६२ लाख रुपैयाँ मात्रै छ। तर बाहिरको मूल्य हेर्दा यी गाडीहरूको नयाँ खरिदको मूल्य ६० हजार पाउन्ड पर्ने देखिन्छ।
अभिलेख अनुसार व्यवसायी किशोर बादे श्रेष्ठले विदेशी नम्बर प्लेटसहित गैरकानुनीरुपमा ६ वटा सेकेन्ड ह्यान्ड ज्यागुअर गाडी भित्र्याएको देखिन्छ। इंग्ल्यान्डमा दर्ता नम्बर प्लेटसहित भित्र्याइएका गाडीमध्ये ५ वटा चोभारस्थित भन्सार परिसरमा राखिएका छन्।
श्रेष्ठले ल्याएका ६ गाडीमध्ये एउटा भन्सारबाट छुटाइसकेका छन्। नेपालमा यो गाडीको आधिकारिक बिक्रेता छैन। तर उनले बेल्जियमको क्वाड्रिगा कार रिटेल कम्पनीका नाममा गाडी ल्याएका छन्।
उत्पादक कम्पनी वा त्यसको आधिकारिक बिक्रेताले मात्रै गाडी नेपाल ल्याउन पाउने आर्थिक ऐनको विपरीत गाडी ल्याइएका हुन्।