काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोलार प्यानलको भाउ ३० प्रतिशतले बढेपछि झण्डै खर्ब लगानीको सोलार परियोजनामा गम्भीर धक्का लागेको छ।
नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरेका ९६० मेगावाट क्षमताका सौर्य ऊर्जाको लगानी तत्कालका लागि अनिश्चित देखिएको हो।
‘अन्तर्राष्ट्रिय बजारमा सोलार प्यानलको भाउ ३० प्रतिशतले बढेको छ। यही मूल्यका आधारमा तत्कालै प्रोजेक्ट ल्याउन सकिने अवस्था छैन,’ स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल(इप्पान)का उपाध्यक्ष उत्तम भ्लोनले बिजमाण्डूसँग भने, ‘कम्तीमा पनि मूल्य नघट्दासम्म कुनै पनि लगानीकर्ताले प्रोजेक्ट अगाडि बढाउन सम्भव छैन।’
ऊर्जा उत्पादकका अनुसार सोलार परियोजनाको कुल लागतको ४५ देखि ५५ प्रतिशत हिस्सा प्यानलमा खर्चिनुपर्छ।
९६० मेगावाट सौर्य ऊर्जाको प्रोजेक्टमध्ये गोल्यान पावरको एक वर्षअघि पीपीए भएको थियो भने भ्लोनको पनि केही समयअघि मात्रै प्राधिकरणले पीपीए गरेको थियो। शंकर समूह, गोल्छा, गोल्यान, रमेश कर्प, बुटवल पावर, सीई, डोल्मा, सीइडीबीलगायतका व्यापारिक घरानाले सोलार परियोजनामा लगानी गर्दैछन्।
उनका अनुसार सोलार प्यानलको मूल्य बढेसँगै प्रति मेगावाट दुई करोडसम्म मूल्य बढेको छ। यो आधारमा प्रति मेगावाट सौर्य ऊर्जा ९ करोड रुपैयाँ लागत पुग्छ। यसअघि सात करोड रुपैयाँ प्रति मेगावाटमा तयार हुने अनुमानसहित सौर्य ऊर्जामा उद्यमीको आकर्षण थियो।
सोलार प्यानलका लागि आवश्यक पर्ने इन्भर्टर, कच्चा पदार्थ आल्मुनियम, सिलिकनदेखि तामासम्मको मूल्य बढेको छ। सोलार प्यानलसँगै डलरको भाउ पनि एप्रिसिएसन भएको छ। प्राधिकरणसँग पीपीए गर्दा डलरको भाउ १३५ रुपैयाँ थियो। अहिले यो बढेर एक डलर बराबर १४५ रुपैयाँ भन्दा माथि पुगिसकेको छ।
‘सोलार प्यानल मात्रै होइन डलरको एप्रिसिएसनले पनि मूल्यमा ठूलो प्रभाव पारेको छ,’ भ्लोनले भने, ‘त्यसैले हामी अहिले पर्ख र हेरको अवस्थामा छौं।’
गोल्यान ग्रुपका ऊर्जा क्षेत्र हेर्ने निर्देशक प्रविन अर्यालले सोलार आयोजनाका लागि आवश्यक पर्ने करिब ५५ प्रतिशतभन्दा धेरै उपकरणहरु बाहिरबाट नै आयात गर्नुपर्ने भएकाले सौर्य ऊर्जा प्रोजेक्टमा असर गरेको बताए।
‘विश्व बजारमा सोलार प्यानल लगायतका उपकरणको मूल्यले लागत बढेको छ। हामीले प्राधिकरणसँग पीपीए गर्दा दुई वर्षमा वत्ती बाल्ने सम्झौता गरेका हुन्छौ,’ उनले भने, ‘हामी केही समय हेरेर परियोजना अगाडि बढाउँछौं।’
९ प्रतिशत छुट हट्दा अर्को धक्का
चीनले फोटोफोलाइटिक (पीभी) निर्यातमा ९ प्रतिशत भ्याट छुटलाई अप्रिलदेखि ६ प्रतिशतमा झार्ने घोषणा गरेको छ। सन् २०२७ को जनवरीदेखि त्यसलाई पूर्ण रुपमा हटाउने घोषणासँगै सोलार प्यानलको मूल्य अझै बढ्ने विश्लेषण छ।

‘यसले अझै सोलार प्यानलको मूल्य बढ्ने देखिएको छ। विस्तारै सौर्य ऊर्जाको लगानीबाट प्रतिफल पाउने सम्भावना घटेको छ,’ भ्लोनले भने, ‘हामीसँग चीनबाहेक अरु विकल्प अत्यन्तै कम छ।’
चीन विश्वकै ठूलो सोलार प्यानल निर्माता देश हो। विश्वमा खपत हुने प्यानल मध्ये ८० प्रतिशत चीनमै उत्पादन हुन्छ।
भ्लोनका अनुसार समयमा पीपीए नहुँदा लागत महँगो भएर प्रोजेक्टनै नआउने अवस्था आएको हो।
‘हामीले समयमा निर्णय नगर्दा अर्बौको लगानी जोखिममा परेको छ। यसले पनि हाम्रो निर्णय प्रक्रिया छिटो हुनुपर्छ भन्ने गतिलो पाठ हो,’ उनले भने।