BIZMANDU
www.bizmandu.com

पाँच दशकको लिगेसी बोकेको नाडाको नेतृत्वबाट हेभिवेट बाहिरिए, कर्पोरेट वारले अस्तित्व नै संकटमा

२०८२ पुष १७

पाँच दशकको लिगेसी बोकेको नाडाको नेतृत्वबाट हेभिवेट बाहिरिए, कर्पोरेट वारले अस्तित्व नै संकटमा
पाँच दशकको लिगेसी बोकेको नाडाको नेतृत्वबाट हेभिवेट बाहिरिए, कर्पोरेट वारले अस्तित्व नै संकटमा

काठमाडौं। पाँच दशक लामो इतिहास बोकेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नेतृत्व लिनबाट हेभिवेट व्यापारिक घराना पन्छिएको छ।

Tata
GBIME
Nepal Life

पछिल्लो समय धेरै विवादमा परेकै कारण नेतृत्व लिन आकांक्षीले अन्तिम समयमा मनोनयन नै दर्ता गरेनन्। हेभिवेट पन्छिएपछि गाडी बिक्रेताबाट नाडाको नेतृत्व स्पेयर पार्ट्स र बाइकवालाकहाँ पुगेको छ।

नाडाको अध्यक्षका दाबेदार सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत(सीइओ) राजनबाबु श्रेष्ठले उम्मेदवारी दिएनन्।

स्रोतका अनुसार सहमति अनुसार अगाडि नाडालाई बढाउन कठिन हुने देखेपछि श्रेष्ठले उम्मेदवारी नदिएका हुन्। ‘संस्थालाई मिलाएर लैजान नसकिए नेतृत्वमा जानुको अर्थ हुँदैन। त्यही भएर उम्मेदवारी नदिएको जस्तो लाग्छ,’ श्रेष्ठ निकट एक व्यवसायीले बिजमाण्डूसँग भने।

सिप्रदी टाटा मोटर्सको अधिकृत बिक्रेता हो, जो कमर्सियल भेहिकल बिक्रीमा अग्रणी र प्यासेन्जर भेहिकलमा पनि बलियो उपस्थिति देखाउन सफल भएको छ। सिप्रदीबाटै केही वर्षअघि तत्कालीन सीइओ शम्भु दाहाल अध्यक्ष भएका थिए। त्यसअघि सिप्रदीबाटै सौर्य राणा अध्यक्ष थिए।

श्रेष्ठसँगै नाडाको नेतृत्वका लागि आकाश गोल्छा समेत ईच्छुक थिए। तर, अन्तिममा गोल्छाले साधारण सभा नै बहिष्कार गरे। गोल्छा पक्षधर सबैले साधारण सभा बहिष्कार गरेपछि नाडा ठूलो संकटमा पुगेको छ। यसअघिको साधारण सभामा अध्यक्षका प्रत्यासी रहेका गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाएर स्वत: अध्यक्ष बनाउने सहमति भएको थियो।

दुई वरर्षअघिको सहमति अनुसार विधान संशोधनमा वर्तमान अध्यक्ष करण चौधरीले प्रक्रिया अघि नबढाएको भन्दै विवाद सुरु भएको थियो। विवादपछि चौधरी पक्षले नाडालाई महासंघमा रुपान्तरण गर्ने लगायत योजना अघि बढाएको छ। एक साताअघि भएको साधारण सभा नाडा विभाजनको बिजारोपणका कारण सबैभन्दा कमजोर बनेको थियो।

असन्तुष्ट बनेका व्यवसायीहरुले यसअघि नै नयाँ संस्था नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर एसोसिएसन(नाइमा) खडा गरिसकेका छन्। जसमा नेपालको अटो बजारमा गाडी आयात र बिक्री गर्ने ठूला घरानाहरुको जमात छ। नाइमाले नाडालाई टक्कर दिंदै अटो शो गरिसकेको छ। नाइमाले अन्य गतिविधिमा पनि नाडालाई चुनौती दिंदै आएको छ।

नाडाको अध्यक्षबाहेकका पदाधिकारीमा समेत हेभिवेट व्यापारी जान ईच्छुक देखिएनन्। १७ जना पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि जम्मा १८ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन्। जसका कारण सबैजसो निर्विरोध हुने भएका छन्।

केन्द्रीय कार्यसमितिका सदस्यको निर्वाचन यही पुस २५ मा हुने तय भएको छ।

नाडामा ३ हजार २०० सदस्य रहेकामा त्यसको एक तिहाई अर्थात जम्मा ११६० सदस्यले मात्रै नवीकरण गराएका छन्। करिब दुई तिहाई सदस्यले सदस्यता नवीकरण नगराउनुलाई नाडाको अस्तित्व नै संकटमा परेको रुपमा लिएको एक व्यवसायी बताउँछन्।

नयाँ कार्यसमितिमा विक्रम सिंघानिया उपाध्यक्ष र मिलनबाबु मल्ल महासचिव हुने स्रोतले बतायो। यस्तै अभिक ज्योति र मेघराज पौडेल पनि पदाधिकारी हुनेछन्।